• २६ वैशाख २०८२, शुक्रबार

विद्युत प्राधिकरणको आर्थिक विवरण सार्वजनिक गर्न रुलिङको माग

blog

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै प्रमुख सचेतक पाण्डेले यस्तो आग्रह गर्नुभएको हो । प्राधिकरणका निवर्तमान र वर्तमान प्रवन्ध निर्देशकहरूले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रवन्ध निर्देशक र वर्तमान प्रवन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनु भएका प्राधिकरणको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना गरेको छ ।’’

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपियाँ नाफामा रहेको दाबी गर्नुभएको थियो । प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आइपिओ जारी गर्ने उद्घोष समेत गर्नुभएको थियो । तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दैै प्राधिकरण घाटामा रहेको तथ्याङ्क सार्वजनिक गर्नुभयो । उहाँका अनुसार प्राधिकरण अहिले पनि पाँच अर्ब २६ करोड रुपियाँ घाटामा रहेको छ ।