• १२ असार २०८१, बुधबार

झोलुङ्गे पुल मर्मत नहुँदा पैदलयात्रीलाई सास्ती

blog

झोलुङ्गे पुलको स्लेप खसेको अवस्थामा । तस्बिर : प्रनिश गिरी

प्रनिश गिरी

कुश्मा (पर्वत), असोज १३ गते । पर्वतलाई पर्यटकीय गन्तव्य भनेर चिनाउने अग्ला झोलुङ्गे पुलको मर्मत हुन नसक्दा पैदलयात्रीलाई मर्का परेको छ । आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षणको केन्द्र बन्दैगरेका यहाँका झोलुङ्गे पुलहरूको समयमा मर्मत गर्न भने ध्यान गएको देखिँदैन । 

कुश्मा–ज्ञादी जोड्ने मोदीखोला माथि निर्मित झोलुङ्गे पुलको समयमा मर्मत सम्भार हुन नसक्दा केही स्लेप खसेका छन् । स्लेप खसेपछि पुल तर्ने यात्रीलाई वारपार गरी हिँड्न असुविधा भएको छ । पुलमा लामो प्वालका कारण दुर्घटना हुने जोखिम बढेको स्थानीयको भनाइ छ । 

पुलले कुश्मा नगरपालिकाका केही वडा र पर्वतकै दक्षिणी भेगलाई जोड्दछ । दैनिक सयौँको सङ्ख्यामा सर्वसाधारण आवत–जावत गर्ने पुलको मर्मत सम्भारमा कुश्मा नगरपालिकाले चासो देखाएको छैन । स्थानीय रमेश श्रेष्ठकाअनुसार कुश्मातर्फको पुलको स्लेट खसेकोबारे केही दिन पहिले नै कुश्मा नगरपालिकाका वडा अध्यक्षलगायत जनप्रतिनिधिलाई जानकारी गराइएको थियो । 

पुल निर्माणमा प्रयोग गरिएका नटहरू समेत खुकुलो भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव शर्मा पौडेलले भन्नुभयो, “वि.स २०६८ मा निर्माण गरिएको पुललाई एक पटक मात्र जाली र डेगको मर्मत गरिएको छ । कुश्मा नगरपालिकाले सार्वजनिक सम्पत्तिको रूपमा रहेको पुलको मर्मत सम्भारमा चासो दिनुपर्नेमा दिएको छैन ।” 

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले १२ वर्ष पहिले १ करोड ४५ लाखमा निर्माण गरेका पुलको लम्बाइ ३ सय ४४ मिटर छ । पुलबाट पैदलयात्री मात्र वारपार गर्ने नभई दुई पाङ्ग्रे सवारीसाधन समेत चलाउने गरिएको छ ।

पर्वत सदरमुकाम कुश्मा झोलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । सदरमुकाम कुश्मालाई जोडेर अहिलेसम्म चारवटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण भैसकेको छ । सबै पुलहरूको समयमा मर्मत सम्भार हुन सकेमात्र लामो समय टिकाउ भई राज्यको सम्पत्तिको संरक्षण हुने स्थानीयको भनाइ छ ।