रामकृष्ण बोहरा
बागलुङ, चैत १२ गते । जिल्ला समन्वय समिति, प्रशासन, बागलुङ नगरपालिका सहितका सरोकारवालाले गरेको अनुगमनबाट कालीगण्डकी नदीमा चरम दोहन भएको निष्कर्षसहित त्यसमा संलग्न निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
वातावरणीय प्रभाव मुल्याङ्कन (आइइई) प्रतिवेदनले तोकेभन्दा बढी नदीजन्य पदार्थ दोहन गरेको जिल्ला स्तरीय अनुगमन समितिले ठहर गर्दै दोहन गर्नेलाई कारबाही सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले जानकारी दिनुभयो ।
समितिले अनुगमन गरेको स्थानमा थप सामाग्री निकाल्न रोक लगाउन नगरपालिकालाई पत्राचार थापाले बताउनुभयो । दुई साताअघि जिल्ला समन्वय समिति, प्रशासन, प्रहरी, नगरपालिकासहितका सरोकारवाला निकायले बागलुङ नगरपालिका–१३, काला खोला र बागलुङ नगरपालिका–१ को मालढुङ्गामा क्षेत्रमा अनुगमन गर्दा नदीमा एक्साभेटर प्रयोग गरी पाँच मिटरसम्मका खाडल बनाएर नदी कुरूप बनाएको भेटाएको थियो ।
‘‘आइइई प्रतिवेदनमा १ दशमलम २० मिटरको ढुङ्गा र बालुवा उत्खनन गर्ने उल्लेख भएपनि प्राविधिकसहितको टोलीले अध्ययन गर्दा निर्माण कम्पनीले कालीगण्डकीमा एक्साभेटर लगाएर पाँच मिटरसम्मका खाडल बनाएको पाइयो’’ समन्वय प्रमुख थापाले भन्नुभयो, ‘‘काला खोला क्षेत्रमा प्रतिक निर्माण सेवाले अत्याधिक दोहन गरेकोले तत्काल रोक्न पत्रचार गरिएको छ भने कम्पनीले थुपारेको बालुवा घाटगादी गरेर लिलाम गर्न भनिएको छ ।’’
कालीगण्डकीमा अवैध दोहन भएको उजुरी परेपछि गृहमन्त्रालयले तत्काल रोकेर अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिएको थियो । गृहको पत्र आएपछि नदी दोहनमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रशासनले अग्रसरता देखाएको छ । ‘‘प्रशासनको आँखा छलेर अवैध दोहन भइरहेका स्थानको पनि अध्ययन भइरहेको छ’’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भन्नुभयो, ‘‘नदीको स्वरूप नै परिवर्तन गर्नेलाई कानुनी दायरामा ल्याउँछौं ।’’
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी शर्माले अनुगमन समितिको पत्र प्राप्त भइसकेकाले प्रतिक निर्माण सेवा अवैध दोहन रोक्न खबर गरिएको बताउनुभयो । अनुगमन समितिको प्रतिवेदनको आधारमा घाटगादी गरेको बालुवा बिक्रीबाट राजश्वमा जम्मा गरिने शर्माले जानकारी दिनुभयो ।
मालढुङ्गामा दोहन गर्ने विधि निर्माण सेवालाई पनि कारबाहीको दायरामा ल्याइने शर्मा बताउनुभयो ।