• ११ मंसिर २०८१, मङ्गलबार

जातक कथाको मर्म

blog

पालि त्रिपिटक बौद्ध वाङ्मयको मूल पुस्तक हो । त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दनिकायको दसौँ पाठमा जातक कथा पनि आउँछ । जातक कथा पढेर पनि धेरैले आफ्नो जीवनशैली र विचारलाई नयाँ मोेडमा ढालेर उन्नति र विकास मार्गमा लागेको देख्न सकिन्छ । 

जातक भगवान् बुद्धका पूर्वजन्मसम्बन्धी कथा हुन् । यो बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि बोधिसत्त्व वा महासत्त्वको अवस्थामा दस पारमिता गुण धर्मको अभ्यास गर्दा घटनाक्रमको कथासङ्ग्रह हो । जातक शब्दको शाब्दिक अर्थ जात र क बाट बनेको छ । वास्तविक बोधिसत्त्वको आदर्श चरित्र र पारमिताको इतिवृत्त नै जातक हो । जातक कथा पालिमा गाथाका रूपमा अथवा श्लोकका रूपमा छ । 

पालि त्रिपिटकको खुद्दकनिकाय अन्तर्गत जातक एक प्रसिद्ध ग्रन्थ हो । पालि बौद्ध साहित्यमा जातक कथा कुल पाँच सय ५० भए पनि प्रचलित उपलब्ध सङ्ख्या पाँच सय ४७ छन् । जातक कथा चरियापिटक खुद्दकनिकाय १५ औँ ग्रन्थको अन्तिम ग्रन्थ हो । यसमा ३५ वटा चरिया छन् । 

यी जातक कथाको लेखन इपू ३०० देखि ४०० तिर भएको अनुमान छ । पहिले पालिमा लेखिएको देखिन्छ । पछि संस्कृत, तिब्बती, अङ्ग्रेजी र चिनियाँ भाषामा अनुवाद गरी लेखियो । जातक कथा विशेषतः तीन कुरामा आधारित छ । कर्म, पुनर्जन्म र बोधिसत्त्व । 

जातक केवल बोधिसत्त्वको जीवनी कथा अनुसार मात्र महत्त्वपूर्ण होइन यसलाई मनोरञ्जन, उपदेश, नीति, व्यङ्ग्य, बुद्धि विकासको मार्ग, भौगोलिक, आर्थिक, धार्मिक, राजनीतिक, सामाजिक आदि विषयको परिचय दिने अतुलनीय ग्रन्थका रूपमा मानिन्छ । महायानी बौद्धमा पनि अवदान र जातक कथा हजारौँ सङ्ख्यामा छन् । यस्तै जैन धर्ममा पनि धेरै जातक कथा छन् । हिन्दुको पञ्चतन्त्र कथा, अङ्ग्रेजको फेरि टेल्स र ग्रिसको एसपका कथाझैँ बौद्ध जातक कथा प्रचलनमा रहेको छ । 

प्रत्येक जातकमा दस पारमिताको गुण हुन्छन् । दान, शील, नैष्व्रmम, प्रज्ञा, वीर्य, शान्ति, सत्य, अधिष्ठान, मैत्री र उपेक्षा वर्णन गरिएको हुन्छ । यसै अनुरूप जातकमा मानव जगत्मा आदर्श नमुना चरित्रको शिक्षा दिन खोजिएको छ । जातकले व्यावहारिक, पारिवारिक, सामाजिक र राजनीतिक व्यवस्थालाई सुव्यवस्थित पार्ने प्रयास गरेको छ । 

जातक कथा पौराणिक दन्त्यकथा जस्तो नभई भगवान् बुद्धको पूर्वजन्मसम्बन्धी जीवनीमा आधारित कथा भएकाले निकै ज्ञानवर्धक र घतलाग्दो छ । भनिन्छ यो अनन्तकालदेखि ज्ञानको खोजमा लागेका बोधिसत्त्वका जीवन्तको दस्तावेज पनि हो । जातक साहित्यले मानवको प्रत्येक समस्याको उत्तर दिन्छ । यसमा समाज सुहाउँदो अनेक उदारहण छन् । यसले अधीर मनुष्यलाई उत्साह दिन्छ, निराश हुनेलार्ई अगाडि बढ्न पे्ररणा दिन्छ । 

जातक कथामा आधारित कथाका बारेमा भारतको  अजन्ताको गुफाभित्र भित्तामा चित्र कोरिएका छन् । यस्तै आन्ध्र प्रदेशमा महासाङ्घिकचेतक भनी जातक कथा कुँदिएको छ । चीनमा पनि यस्तै जातक कथामा आधारित झुवाङझ्याङ्मा लेखिएको छ । 

नेपाल भाषामा नेसं ८७० मा लेखिएको जातक सङ्ग्रह सबैभन्दा पुरानो जातक कथाको पुस्तक हो । पछि नेपालमा थेरवाद भिक्षुहरूको आगमनपछि जातक कथा विभिन्न भाषामा प्रकाशित हुँदै गयो । भिक्षु अमृतानन्द महास्थविरले ‘जातक कथा’ नेपाली भाषामा लेखेका छन् । उनले वेस्सन्तर जातक कथा पनि लेखे । 


यस्तै भिक्षु ज्ञानपूर्णिक महास्थविरले ‘जातकपालि’ भनेर नेपालभाषामा दुई भाग अनुवाद गरी जातक कथा प्रकाशित गरेका छन् । ‘महास्वप्न’ जातक नेपाली भाषामा विमलानन्द स्थविरले लेखे । भिक्षु सुबोधानन्दले नेपालभाषामा लेखेको जातकका कथाका पुस्तकमा ‘सरभङ्ग’ जातक पनि पर्दछ । 

उनले नेपालभाषामा ‘सुधा भोजन’ जातक कथा पनि लेखेका छन् । यस्तै अनिरुद्र महास्थविरले ‘महोसध महाजातक’ नेपाल भाषामा अनुवाद गरे । यो प्रज्ञा पारमिता जातक हो । भिक्षु धर्मगुप्त महास्थविरद्वारा अनुवाद गरिएको नेपाली भाषामा प्रकाशित ‘उमङ्ग जातक’ मा समाजमा विद्यमान रहेका परम्परा, संस्कार, जीवनशैली, दृष्टिकोण, मान्यता, विचारधारा, धारणा आदिलाई मानवपात्रका साथै पशुपन्छीमार्फत सुधारका लागि उत्प्रेरणा प्रदान गर्ने शिक्षाप्रद कथा छन् । 

‘विधुर जातक’ नेपालभाषामा नानीमैयाँ मानन्धरले लेखिन् । यस कारण नेपालमा जातक कथाका पुस्तक धेरै छन् । बौद्ध साहित्यको भण्डारका रूपमा जातक कथालाई पनि लिइन्छ ।    

Author

मुनीन्द्ररत्न वज्राचार्य