• ५ कात्तिक २०८२, बुधबार

तम्घासमा मनाइयो नेपाल सम्वत्

blog

रमेश विश्वकर्मा 

गुल्मी, कात्तिक ५ गते। गुल्मीको सदरमुकाम तम्घासमा नयाँ वर्ष न्हू दँया भिन्तुना नेपाल सम्वत् ११४६ मनाइएको छ। नेवा खलस् गुल्मीको आयोजनामा तम्घासमा नेपाल संवतका प्रवर्तक शङ्खधर सास्ख्वाको तस्बिरमा माल्यार्पण तथा शुभकामना आदानप्रदान सहित नेवार समुदायले नेपाल सम्वत ११४६ मनाएका हुन्। 

नेपाल सम्वत् लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साःख्वाले विसं. ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गराउनुभएको थियो। नेपाल सम्वतलाई सबै नेपालीको साझा सम्वत बनाउन सबैले अभियान चलाउन जरुरी रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन्। 

यहाँका नेवार समुदायले हरेक वर्ष विशेष रूपमा नेपाल सम्वत मनाउने गर्छन्। सबै नेपालीले नेपाल सम्वतलाई मनाउन आवश्यक छ। नेवार समुदायको भाषा, कला र संस्कृति राष्ट्रको साझा सम्पत्ति भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो। सबैको एकताले मात्र नेवार समुदायको विकास र कला संस्कृतिको संरक्षण हुने उहाँले बताउनुभयो। 

गुल्मीमा २०६५ सालदेखि यहाँका नेवार समुदायले निरन्तर रूपमा नेपाल सम्वत् मनाउँदै आएका छन्। यस अवसरमा नेपाल सम्वतको स्वागत र भिन्तुना बहुउद्देश्य सहकारी संस्था लिमिटेडको आठौं स्थापना दिवस समेत मनाइएको सचिव गणेश श्रेष्ठले बताउनुभयो। कार्यक्रममा समाजसेवी अयोध्या श्रेष्ठ, मृगेन्द्रप्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभयो।