• २७ मंसिर २०८१, बिहिबार

व्यापार असन्तुलनको आयाम

blog

गत वर्ष घट्दो क्रममा रहेको आयात व्यापार चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्ममा बढ्न थालेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएकोमा भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो क्रममा थियो । त्यस्तो प्रतिबन्ध हटाइएपछि पनि साउनको तुलनामा भदौमा धेरै मूल्यको अन्तर नभए पनि खस्किँदो आयात व्यापार सुधारको सङ्केत देखिन थालेको हो । 

आयात र निर्यात गरेर भदौसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार दुई खर्ब ८६ अर्ब १९ करोड रुपियाँ नाघेको छ, जुन गत वर्षको भदौको तुलनामा ५.३२ प्रतिशत बढी हुन आउँछ । यसबिचमा नेपालको व्यापार घाटा दुई खर्ब ३३ अर्ब ३० करोड रुपियाँ पुगेको छ । गत वर्षको भदौको तुलनामा व्यापार घाटा ४.७४ प्रतिशत कम हुनु त राम्रो हो तर समग्रमा उच्च व्यापार घाटाको अवस्थामा सुधार गर्न आवश्यक छ । निर्यात घट्नुले अर्थतन्त्रको सङ्कट दूर हुन नसकेको स्पष्ट देखिन्छ । निर्यात कम भएसँगै आन्तरिक लगानी, रोजगारी, आय र उत्पादनमा समेत प्रतिकूल असर परिरहेको हुन्छ । अहिलेका सुस्त अर्थतन्त्रको अन्तरवस्तु यसैमा निहित छ ।

भन्सार विभागका अनुसार यताका दिनमा सबैभन्दा धेरै आयात पेट्रोलियम अनि फलामजन्य वस्तुको भएको छ । नेपालमा उत्पादन नहुने यी वस्तुको आयात अनिवार्य छ । इन्धन भान्सादेखि उद्योग एवं विकास गतिविधि चलाउन अत्यावश्यक नै हो । फलाम पनि उद्योगको कच्चा पदार्थ नै हो । यी वस्तुको आयात बढ्दा उत्पादन क्षेत्रमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने छ तर विगतमा मुलुकको वैदेशिक मुद्रा सञ्चितिमा सन्तुलन ल्याउनका लागि विलासिताका मानिने वस्तुको आयातमा प्रतिबन्ध फुकेपछि पनि विगतमा जस्तो उच्च आयात नहुनुले नेपाली उपभोक्ताको कमजोर आर्थिक अवस्था र बजारको निराशा सङ्केत गरेको छ । आयातमा आधारित राजस्वमा समेत त्यसको प्रभाव पर्ने नै भयो ।

भदौ बजारमा बहुसङ्ख्यक नेपालीका दसैँ, तिहार, छठ जस्ता ठुला चाडबाडका लागि आवश्यक वस्तुको जोहो गर्ने समय हो तर चाडबाडलक्षित बजारले आयात व्यापार बढाउन सकेन । महँगीका कारण दैनिक उपभोग्य वस्तुदेखि ओरापरी अनि विलासिताका वस्तु बेचबिखन हुने पसल हेरेर घुटुक्क थुक निल्दै उपभोक्ता फर्कनुपर्ने अवस्थाले व्यवसायी पनि उत्साही छैनन् । यही अवस्था बुझेर हुनु पर्छ, अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको विद्यमान चित्रण गर्दा बजारको निराशा हटाएर आशावादी बनाउन आवश्यक रहेको अभिव्यक्ति दिने गर्नुभएको छ । 

आयात बढ्दा स्वाभाविक रूपमा राजस्व पनि बढ्छ । अनि कच्चा पदार्थको आयात बढाएर वस्तुका रूपमा निर्यात गर्न सक्दा समग्र व्यापार घाटा न्यून गर्न सकिन्छ । आयात घट्नु वा बढ्नु आफैँमा नकारात्मक होइन तर आयातको तुलनामा निर्यात अवस्था कस्तो छ भन्ने मूल पक्ष हो । भदौसम्म मुलुकको निर्यात पनि गत वर्षको भदौसम्मको तुलनामा ७.७९ प्रतिशतले कम भएको छ । यसबिचमा नेपालले मुख्यतः गलैँचा, अलैँची, फलाम तथा स्टिल र फेल्ट निर्यात गर्न सकेको छ । कृषिजन्य वस्तुको उत्पादन वृद्धि र निर्यातमा खोइ सम्भावनाको सदुपयोग ?

निर्यातभन्दा आयात उच्च भएका कारण मुलुकको व्यापार घाटा वृद्धि हुने नै भयो साथै सञ्चित वैदेशिक मुद्रा खर्च पनि बढ्छ । यसो हुनु मुलुकको स्रोत तथा पुँजी बाहिरिनु पनि हो । कम परिमाण तथा कम दरको आयात र बढी परिमाण तथा बढी दरको निर्यात अर्थतन्त्रको अग्रगामी विकासका लागि आवश्यक हुन्छ । यसो हुँदा नै उच्च गतिको आर्थिक वृद्धि हुन सक्छ तर प्रायः हरेक वर्ष निर्यातको तुलनामा आयात धेरै भएकै कारण मुलुकको अन्तर्राष्ट्रिय व्यापार सधैँ असन्तुलित रहँदै आएको छ । आफ्नै स्रोत अनि आयातित कच्चा पदार्थबाट जुन वस्तु उत्पादन गर्न सकिन्छ, त्यस्तो उत्पादन बढाउन राज्य अनि निजी क्षेत्रले प्राथमिकता दिनु अत्यावश्यक छ । कम तौल तथा आयतन र बढी मूल्य पाइने तथा विश्व मूल्य शृङ्खलामा स्थान ओगट्ने वस्तु उत्पादनमा जोड दिई निर्यात प्रवर्धन गर्दा नै समग्र अन्तर्राष्ट्रिय व्यापार सन्तुलित बनाउन सकिने छ ।