• ९ कात्तिक २०८२, आइतबार

राष्ट्रसङ्घको गरिमा

blog

प्रथम र दोस्रो विश्वयुद्धबाट तहसनहस भएको विश्वलाई पुनः गति दिन, युद्ध अन्त्य गर्दै शान्ति स्थापना गर्न विश्व संस्थाका रूपमा संयुक्त राष्ट्रसङ्घको जन्म भएको हो । प्रथम विश्वयुद्धमा दुई करोडभन्दा बढी मारिएका थिए । दोस्रो विश्वयुद्ध अझ बढी विनाशकारी बन्यो । यो युद्धमा पाँच करोडभन्दा बढी मानिस मारिए भने युरोपको नक्सा नै परिवर्तन भयो । लाखौँलाख मानिस घाइते, टुहुरा र घरबारविहीन बने । यस्तो अवस्थामा अभिभावकका रूपमा विश्वसंस्थाको आवश्यकता महसुस गरियो । विश्व नेताहरूको प्रयासमा सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भयो । अमेरिकाको न्युयोर्क सहरमा यसको प्रधान कार्यालय रहेको छ । राष्ट्रसङ्घले युद्धलाई विधिवत् रूपमा अवैध घोषणा गर्दै शान्ति र मेलमिलापको सन्देश विश्वभर फैलाएको छ । राष्ट्रसङ्घको स्थापना भएको यो आठ दशकको अवधिमा विश्वयुद्ध भएको छैन । द्विपक्षीय युद्ध तथा बहुपक्षीय युद्धले विश्वशान्ति र सुरक्षामाथि चुनौती थपिएको छ । हरेक खाले युद्ध रोक्न र शान्ति कायम गर्न राष्ट्रसङ्घलाई राजनीतिक प्रभाव र हस्तक्षेपबाट मुक्त गरी थप बलियो र प्रभावशाली बनाउनुपर्ने खाँचो सर्वत्र औँल्याइएको छ । 


प्रत्येक वर्ष अक्टोबर २४ मा नेपालसहित सबै सदस्य राष्ट्रहरूले शान्ति, एकता र विश्वव्यापी साझेदारीको प्रवर्धन गर्दै राष्ट्रसङ्घ दिवस मनाउँदै आएका छन् । दोस्रो विश्वयुद्धको समाप्तिपछि सन् १९४५ अक्टोबर २४ मा राष्ट्रसङ्घ स्थापना भयो । यही दिनलाई सन् १९४८ देखि राष्ट्रसङ्घ दिवसका रूपमा मनाउन थालियो । विश्वमा शान्ति स्थापना, मानव अधिकारको रक्षा र अन्तर्राष्ट्रिय कानुन कार्यान्वयनका लागि राष्ट्रसङ्घको स्थापना गरिएको हो । राष्ट्रसङ्घमा हाल विश्वका १९३ राष्ट्र सदस्य छन् । नेपालसहित १४ वटा देशले सन् १९५५ डिसेम्बर १४ मा राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेका थिए । दिवसका अवसरमा नेपालमा रहेका राष्ट्रसङ्घका विभिन्न निकायले विविध कार्यक्रम आयोजना गरे । युद्धको विभीषिकाबाट विश्व र भावी पुस्तालाई बचाउन स्थापना गरिएको यो विश्व संस्थाको भूमिका निर्णायक र थप प्रभावकारी हुनुपर्नेमा सर्वत्र जोड दिइएको छ । सुरक्षा परिषद्का पाँच स्थायी राष्ट्र चीन, फ्रान्स, बेलायत, अमेरिका र तत्कालीन सोभियत सङ्घसहितका राष्ट्रले संयुक्त राष्ट्रसङ्घ स्थापनासम्बन्धी दस्ताबेजमा हस्ताक्षर गरेसँगै यो विश्व संस्था अस्तित्वमा आयो । विश्वमा स्थायी शान्ति, विकास र सहकार्यको आधार तयार पार्न राष्ट्रसङ्घको स्थापनाले अभिभावकीय भूमिका निर्वाह गर्दै सबैलाई गोलबन्द गर्ने काम गरेको छ । यो संस्थाको स्थापना सुरुमा ५१ सदस्य राष्ट्रहरूको सहभागिताबाट गरिएकामा आज विस्तार हुँदै यसको सदस्य सङ्ख्या १९३ पुगेको हो । 


विश्व शान्ति र सुरक्षा कायम राख्नु, राष्ट्रहरूबिच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्नु, आर्थिक र मानव अधिकारका क्षेत्रमा सहकार्य प्रोत्साहित गर्नु र अन्तर्राष्ट्रिय कानुनको सम्मान र मानव मर्यादाको रक्षा गर्नु राष्ट्रसङ्घका प्रमुख उद्देश्य हुन् । आठ दशकको अवधिमा यो संस्थाले विश्व शान्ति कायम गर्न विभिन्न शान्ति मिसन सञ्चालन गर्दै युद्धपीडित देशहरूमा स्थायित्व ल्याउने प्रयास गरेको छ । तत्कालीन दुई ध्रुवीय विश्वबिच संवाद र सन्तुलन कायम गर्न सहयोग राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । मानव अधिकार घोषणापत्र १९४८ जारी गरी विश्व मानव अधिकारको आधारशिला तयारी गर्नुका साथै दिगो विकास लक्ष्य २०१५ र २०३० मार्फत दिगो विकासको स्पष्ट कार्ययोजना प्रस्तुत गरेको छ । स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण, बाल अधिकार, वातावरण र जलवायु परिवर्तनसम्बन्धी विविध कार्यक्रममार्फत सहयोग र सचेतना जगाउने काम गरेको छ । यस संस्थाको सदस्य बनेयता नेपालले शान्ति स्थापना, न्याय, जलवायु, गरिबी निवारण र मानव अधिकारका सवालमा सक्रिय भूमिका निर्वाह गर्दै यस संस्थाको काँधमा काँध मिलाउँदै आएको छ । नेपाल राष्ट्रसङ्घका शान्ति मिसनहरूमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने शीर्ष १० राष्ट्रमध्ये एक हो । दिगो विकासका क्षण कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको छ । राष्ट्रसङ्घले अथक प्रयास गर्दागर्दै पनि युद्ध र हिंसाको पुनरावृत्ति अहिले विश्वभर नै चिन्ताको विषय बनेको छ । जलवायु सङ्कट र प्राकृतिक विपत्तिको तीव्रताले चिन्ता बढाएको छ । विश्व असमानता, आर्थिक असन्तुलन र प्रविधिगत अन्याय, सदस्य राष्ट्रहरूबिचको राजनीतिक ध्रुवीकरण र असहयोग जस्ता विषयले लक्ष्य प्राप्तिमा अवरोध सिर्जना भएको छ । पुँजीवादी र समाजवादी दुवै राष्ट्रका लागि यी चुनौती छन् । यी चुनौतीका बिच पनि राष्ट्रसङ्घको आवश्यकता अहिले र भावी दिनमा झन् बढ्दो छ किनभने विश्व अझै पनि शान्ति, न्याय र सहअस्तित्वको खोजीमा छ ।