• १८ वैशाख २०८१, मङ्गलबार

आडम्बर

blog

ड्राइभरले गाडी रोक्यो । अघिल्लो सिटमा बसेको म ढोका खोलेर सानसँग ओर्लेँ । ओर्लनेबित्तिकै तुरुन्तै हिँडिहालिनँ । कालो रेबन अनुहार र आँखामा टम्म मिलेर सजिलो गरी नै बसेको भए पनि फ्रेम समातेर मिलाएँँ ।

अगाडिको घुम्ती पसलको बाहिर तीन चार जना गाउँले मान्छेहरू एउटा बेञ्चमा बसेर बिशेष मुद्रा बनाई मलाई हेर्दै गरेको मैले थाहा पाएँ । पसलमा बसेकी एउटी अधबैँसे महिला पनि आफूले गर्दै गरेको कुनै काम बिचैमा रोकेर मलाई नै नियालिरहेको पनि मैले थाहा पाएँ । तर मैले उनीहरूलाई देखेकै छैन जस्तो गरेर गर्धनलाई हल्का पछाडि खुम्चाएर यसरी आफ्नो अगाडि वरदेखि परसम्म हेरेँ । मानौँ बाटोको अर्को साइडमा लहरै गगनचुम्बी भवन छन् र म व्रmमैसँग ती सबै भवनको पाँचौँ तलाको मुआयना गर्दै छु । मैले हेरिरहेको उचाइबाट दृष्टि ओरालेर आफू हिँड्ने बाटोसम्म ल्याउँदा मैले अगाडिको घुम्तीमा अवाक् भएर मलाई हेरिरहेका मानिससँग अनिवार्य रूपमा आँखा जुधाउनु पथ्र्यो, त्यसैले त्यसो नगरीकन मैले पाँचौँ तलाबाट एकैचोटि आँखालाई आफू अगाडिको भुइँमा ओछ्याएँ ।

हिँड्ने बाटोमा यति धेरै धुलो र फोहोर भएकोमा रुष्ट र असन्तुष्ट हुँदै मैले नाक खुम्च्याएँ र आफ्नो चम्किलो जुत्तालाई धुलोबाट बचाउन अत्यन्त होसियारीका साथ दोस्रो पाइला कहाँ टेक्ने भनेर गम्दै बिस्तारै घुम्ती पसलतर्फ लागेँ । कुनै पनि देखाइने कुरा हेर्नेहरूका लागि हुन्छ । त्यहाँ अगाडि कोही नहुने हो भने म ठमठम हिँड्दो हुँ र नाक पनि नखुम्च्याउँदो हुँ । तर मलाई थाहा छ मेरो रोचक प्रदर्शनीको त्यहाँ भव्य रमिता छ । तब मैले केही विशेष नदेखाउनु नसुनाउनु सम्भव छ ?

“मार्लवोरो पाऊँ न एक प्याकेट,” मैले पसल अगाडि उभिएर पसलवाल्नीसँग वरपरकाले सुन्ने गरी माग गरेँ ।

“छैन त हजुर मार्लवोरो ।” पसलवाल्नीको सरल जबाफ थियो । 

“ठिकै छ, त्यसो भए ट्रिपल फाइभ दिनुस न त,” मैले फेरि उसैगरी भने ।

“त्यो पनि छैन हजुर, यहाँ त्यस्तो चुरोट गए पो, त्यही भएर राख्‍ने नै गर्‍या छैन, सूर्यले हजुरलाई नहुने होला,” मेरो तुलनामा त्यो पसल, त्यहाँका सम्पूर्ण मानिस र त्यो परिवेश अत्यन्त निम्न स्तरको छ, म्याच नै हुन नसक्ने भन्ने आशय झल्काउँदै पसल्नीले जवाफ दिइन् ।

आफ्नो प्रभावशाली उपस्थिति प्रति म मनमनै प्रफुल्ल भएँ । त्यहाँ त्यस्तो चुरोट पाइँदैन भन्ने मलाई थाहा नभएको हैन र मैले नियमित रूपमा सेवन गर्ने चुरोट पनि सूर्य नै हो । तैपनि यो अनकन्टार स्थानमा आएर बडो दुःख पाइयो भने झैँ गरी हैरानीका साथ मैले भने, “ठिक छ, ठिक छ, त्यही भए पनि दिनुहोस् ।” 

पसल्नीले अदवका साथ दुई वटा हातले समातेर मलाई चुरोट थमाइन् ।

“ठुलो प्याकेट छैन ?” मैले फेरि हैरानी व्यक्त गरेँ ।

आफू विवश र लज्जित भएको दर्साउँदै पसल्नीले भनिन्, “छैन त हजुर ।” 

“उफ, ल ठिक छ” । मैले चुरोट लिएर आफूसँग खुद्रा भए पनि पाँच सयको नोट दिएँ ।

“खुद्रा छैन त हजुर, कसो गर्ने होला ?” पसली हतास भइन् । मैले हैरानी व्यक्त गर्ने अर्काे अवसर पाएँ । आफ्नो वालेटमा के कस्ता नोटहरू छन् भन्ने आफूलाई पूर्ण जानकारी भएको भए पनि धेरै नोटहरूको अन्तरकुन्तरबाट एउटा खुद्रा नोट फेला पारे जस्तो गरी “ल यो एउटा रहेछ, लिनुस्” भन्दै सयको नोट तेस्र्याएँ । पसल्नीले ठुलो राहतको महसुस गरिन् र मलाई चेन्ज फिर्ता दिइन् ।

चुरोटको प्याकेट हातमा लिएर त्यहाँ भएका मानिसको उपस्थितिलाई पूर्ण बेवास्ता गर्दै सबैले सुन्ने गरी म एक्लै बर्बराएँ, “उफ्, कस्तो गर्मी ठाउँ यो ।” 

मानिसहरू हेरेका हे¥यै भए । मसँग कुनै पनि बहाना झिकेर केही कुरा बोल्ने उत्कट अभिलाषा हुँदाहुँदै पनि कसैले मसँग बोल्ने आँट गरेन । भव्य र विशिष्ट पहिरनमा सजिएको, मगमग अत्तरको बासना आउने, चिल्लो, खाइलाग्दो शरीर र मुखाकृति भएको, एकदम कोमल र सुकुमार देखिने मेरो व्यक्तित्व यति ओजपूर्ण थियो । त्यो वातावरणका लागि कि आगोको रापले भेटेको हरियो मुना जस्तै लल्याकलुलुक्क ओइलाए मेरो सामीप्यले त्यहाँका मानिस ।

गर्वको अनुभूतिले ढकमक्क फुलेको छाती लिएर म उसै गरी धुलोबाट जुत्ता बचाउन बडो यत्न र प्रयत्न गरेको प्रदर्शन गर्दै गाडीतर्फ लागेँ ।

म बडो सतर्कसाथ बाटो काटिरहेको थिएँ । तर उत्तरपट्टिबाट एउटी आइमाई यसरी बतासिएर आई कि मैले ऊ व्रmस नभएसम्मको समय उभिनु पर्ने भयो । हिँड्दा हिँड्दै त्यो महिलाले मतिर हेरी, मैले पनि हेरेँ (अरे, बाफ रे, ऊ त शान्ति पो रहिछ ! वर्षाैँसम्म तन र मन एकअर्कामा बेरेर, एकाकार भएर बसेका हामी दुईबिचको १० वर्षपछिको यो भेट । तर कस्तो अप्रत्याशित, कति अचानक ।

एक पलका लागि हामी दुवैले ठुलो उत्साहका साथ ठुलो स्वरमा केही बोल्न खोजे जस्तो, निर्वाध हाँस्न खोजे जस्तो र एकअर्कालाई अँगालै हाल्न खोजे जस्तो ग¥यो । उसको त पुक्क फुलेको अनुहारमा ठुला चम्किला दाँतहरू खिलखिलाउन तयारै भइसकेको मैले महसुस गरेँ । मैले कसो गरेँ– उसले थाहा पाई होली, मलाई चाहिँ हेक्का भएन ।

म उत्साहपूर्वक ऊसँग बोल्न खोज्दै मात्र थिएँ, मलाई उसको रूप, रङ र स्वरूपले हच्कायो । उसको सुन्दर र भरिलो जिउडाल अब रहेनछ, मोटाइछ ऊ । अनुहारमा पहिलेको सौन्दर्यका केही अवशेषहरू बाँकी नै भए पनि अलि कालो र स्याहार नपुगेर फुस्रो जस्तो देखिने उसका गाला असुहाउँदिलो तरिकाले पुक्क फुलेछन् । आँखाका छेउकुनामा हल्का चाउरी पर्न थाले । चिउँडोमुनि मोटाएर डम्म फुलेछ र कम्मर नछुट्टिने गरी तलदेखि माथिसम्म सोलो डोलो एउटै साइजकी भइछ ऊ । फिक्का रङको पुरानो कुर्ता सुरुवाल र एउटा सल भिरेकी ऊ– एकदम सामान्य लाग्दी रकमै मात्र आकर्षक देखिन्थी ।

मैले अचानक महसुस गरेँ कि उसको र मेरो बिचमा धेरै फरक छ । म सान, मान, प्रतिष्ठासहितको, उच्‍च सामाजिक हैसियत भएको, सफा, सुकिलो र विशिष्ट स्तरको व्यक्ति । ऊ अत्यन्त सामान्य र मभन्दा धेरै तलकी– कमसेकम उसको व्यक्तित्वले यही झल्काइरहेको थियो । यो फरक हुँदा हुँदै पनि यदि एक्लै हुँदो हुँ त सायद म खुलेरै प्रस्तुत पनि हुन्थे होला ऊसँग । तर मेरो ठिक अगाडि गाडीमा बसेकी उच्च घरानाकी मेरी श्रीमती कालो चस्मा पछाडिबाट जिज्ञासु आँखाले मतिरै हेरिरहेकी छ । शान्तिसँग खुलेर बोल्नु, हाँस्नु वा नजिकपना प्रस्तुत गर्नु भनेको श्रीमतीको नजरमा म अलिकति गिर्नु हो । अहिले म सावधान भइनँ र हल्का रूपमा प्रस्तुत भएँ भने निश्चित रूपमा पछि श्रीमतीले भन्नेछिन् “कस्ता कस्ता मान्छेसँग सम्पर्क बनाउनु परेको, आफ्नो स्तरको त ख्याल गर्नु पर्छ नि ।” 

 मेरो दिमागले तीव्र रूपमा सोच्यो कि शान्ति भनेको क्षणिक दायित्व मात्रै हो, ऊसँग उत्साहपूर्ण तवरले प्रस्तुत हुने नाममा आफ्नो नियमित जीवनशैलीमा असहजता ल्याउनु हुन्न ।

यसरी शान्तिसँग भेट भएको एक मिनेट पनि नहुँदै मेरो मनभरी लागेको झलमल्ल घामलाई बादलले छेकिसकेको थियो । म हच्किएँ र बोल्नै सकिनँ । तर शान्तिको उत्साहमा कुनै कमी आएन तुरुन्तै । मलाई लाग्छ मैले अहिले भर्खरसम्म नसोचे जस्तै उसले पनि हामी बिचको विभेदको बारेमा सोचिन । त्यसैले उसको आँखा र अनुहारको दिप्ती र ओठको हाँसो कायमै थियो, उसका आँखाहरू चम्किरहेकै थिए त्यतिबेलासम्म । तर ठिक यसै क्षण उसले मेरो अनुहारमा आएको परिवर्तन पढ्नभ्याइसकी छ, त्यसैले ऊ पनि अचानक झ्याप्पै बत्ती निभे झैँ गरी अँध्यारिई ।

मेरो हाउभाउ, आँखा र अनुहार वर्षाैँसम्म पढेर लाइन लाइन कण्ठ गरेकी उसलाई बुझ्न धेरैबेर लागेन म किन सेलाएँ भनेर । उसले एक साइडबाट सर्र एक नजर मेरो गाडी र त्यसभित्र बसेकी मेरी श्रीमतीलाई हेरी र पुनः मतिर फर्किई । मैले ठानेको थिएँ– मेरो हैसियत र मेरो परिवेशलाई बुझेर, हामीबिचको विभेद बुझेर, उसले लज्जा महसुस गर्नेछे, झुक्नेछे र मेरो वैशिष्टयताका बारेमा वा उसको लघुताका बारेमा केही बोल्नेछे । तर मेरी बास्सै, उसको नजर त ठाडो पो छ– एक प्रकारको चिसो उदासीनताले भरिएको । उसको दृष्टि र मुहारमा, हाउभाउ र मुद्रामा मेरो व्यक्तित्वको उच्च मूल्याङ्कन गरेर प्रभावित भएको वा गलेको लेस मात्र पनि सङ्केत छैन । बरु ती सबैमा एउटा हाँक छ, चुनौती छ मानौँ कि मैले प्रक्षेपण गरेको उच्च स्तरको व्यक्तित्वलाई पूर्ण रूपले उपेक्षा गर्दै तिनीहरू प्रश्न गरिरहेछन– “सो ह्वाट ?” 

उसको चुनौतीप्रति मलाई हल्का रिस उठ्यो । एउटी झ्याउरे आइमाईको यत्रो फुर्ती । मैले आफ्नो नजर र हाउभाउबाटै उसलाई प्रतिकार गर्न खोजेँ । तर किन किन उसको प्रस्तुती मेरोभन्दा धेरै सशक्त लाग्यो मलाई । उसका तीक्ष्ण आँखाबाट प्रवाहित एक्सरेले मलाई खोतलखातल पारेर नाङ्गो रूपमा हेरे जस्तो र हेरेर गिज्याए जस्तो लाग्यो मलाई । वास्तवमा मेरो व्यक्तित्वको अगाडि ऊ एउटा बाटोमा घस्रिरहेको चिप्लेकिराभन्दा बढी केही थिइन । जसलाई पाइतालाले किचेर हिँडे पनि हुन्छ, नाघेर गए पनि हुन्छ वा घिन मान्दै तर्किएर अघि बढे पनि हुन्छ– तर मसँग साहस भए पो । आफ्नो मनोबल घटेपछि ऊ त चिप्लेकिरा हैन । हैमानकी बघिनी जस्ती पो भइदिई मेरो लागि । म त काँतर बनेर लुलो भएँ । मेरो सम्पूर्ण धाक, रवाफ, शान र घमण्ड एकैछिनमा बिलुप्त भयो । ऊ उसै गरी न्युट्रल आँखाले मलाई हेरिरहेकी छ । तर मलाई लाग्यो उसको आँखामा अग्निको लपलपाउँदो ज्वाला छ । जसले मेरो सम्पूर्ण आडम्बरको आवरणलाई जलाइरहेको छ र म उसको सामु आफ्नो वास्तविक हैसियतमा नाङ्गो उभिएको छु ।

आआफ्नो सुरमा हिँड्दै गरेका हामी दुई जना बिच बाटोमा ठिङ्ग उभिएका छौँ । तर एकदम नमिल्दो र असुविधाजनक संवादहीनताको अवस्था छ । पसलका मानिस र गाडीमा भएको मेरो परिवारका आँखाले हामीलाई दुवैतर्फबाट थिचिरहेका छन् । यसरी बिनासंवाद, बिना कुनै व्रिmया हामी धेरैबेर उभिन मिल्दैन । तर ऊ भने न बोल्छे, न नजर झुकाउँछे । म त निरीह जस्तो भएँ । त्यसैले आफैँले ङिच्च परेर मलिनो स्वरमा सोधेँ, “तिम्रो घर यतै हो ?”

तर बोलिसकेपछि मलाई लाग्यो, उसलाई सन्चो बिसन्चोका बारेमा सोध्नुपर्ने, उसलाई भेटेकोमा खुसी व्यक्त गर्नुपर्ने वा एक प्रकारको उत्साह अभिव्यक्त गर्नुपर्ने कस्तो बेढङ्गको प्रश्न सोधेँछु । उसले छोटो उत्तर दिई, हो ।”

उसलाई कुनै अप्ठ्यारो भए जस्तो देखिन्न, उसै गरी न्युट्रल आँखाले हेरिरहेकी छ, म भने आफ्नो धरातलमै भासिन लागे जस्तो, आफ्नो खुट्टाको उभिने शक्ति क्षीण भए जस्तो, कस्तो कस्तो अनुभव गरिरहेको छु । संवाद अगाडि बढाउन अघिल्लो कुन प्रश्न सोध्ने भनेर मेरो दिमागले छुट्याउनै सकेन । फेरि ता ।

अब मैले यो असहज अवस्था धेरैबेर धानिरहन सक्ने अवस्था रहेन । कुन सुर कुन सुरमा मैले त भनी पो सकेँछु, “हुन्छ, म जान्छु” उसले केही बोलिन । म उसलाई त्यसै छोडेर अगाडि बढेँ । एक किसिमले मनमा राहतको महसुस भयो कि जे भए पनि आखिर मैले यो असहजता अन्त्य गरेँ, अब जेसुकै होस् । तर किन हुन्थ्यो अन्त्य असहजताको, यो त सुरुवात थियो । 

अघिको जस्तो पाइलैपिच्छे होस गरेर हिँड्ने र अरूलाई प्रभाव पार्ने मनसायले आफ्नो गतिविधि प्रदर्शन गर्ने चेत ममा कहाँ रहनु अब ? गाडीमा चढ्ने बेलामा हेरेँ– मेरो जुत्ता र प्यान्ट्सको तल्लो भाग धुलोले सेताम्य भइसकेको थियो ।

गाडी चढिसकेपछि थाहा पाएँ, ऊ हाम्रो गाडीको पछाडि पर पुगिसकिछ । मन बोझिलो र निरीह भए जस्तो भयो । एक प्रकारको ग्लानिले भित्र कतै पोले जस्तो भएर म आफ्नो सिटमा अलिकति छट्पटाएँ । 

“त्यो आइमाईलाई चिनेको हो ?” श्रीमतीले सोधिन् ।

के भनौँ के भनौँ भनेर हतारिएर शब्द खोज्दै थिएँ म तर कतिखेर आफैँले थाहा नपाई भनिसकेँछु मैले त, “छैन” ।

नचिनेको मान्छेसँग त्यसरी रोकिएर कुरा गर्छन् त कसैले ?” उनले थप प्रश्न गरिन् । मैले कुरा गरेकै कहाँ थिएँ र ? परबाट उनले कुरा गरेको जस्तो देखिछन् । 

“उनले देखे जस्तै मैलै साँच्चै कुरा गरेको भए कति जाति हुन्थ्यो”, मैले  मनमनै सोचेँ तर प्रकटमा भनेँ, “हैन चिने जस्तो लागेर ।” श्रीमतीले थप के सोध्लिन् भनेर डराई डराई चुपचाप कान ठाडो राखेँ मैले तर कसो कुरा अगाडि बढेन । 

हामी काठमाडौँको जाडो छल्न र ससुरालीको तराईको मौजा रेखदेखसमेत गर्न केही दिनको छुट्टीमा यता निस्केका थियौँ । तराईको सम्म बाटोमा गाडी एकतमाससँग दौडिरहेको थियो तर मलाई यस्तो लाग्यो त्यसका पाङ्ग्राहरू मेरै छाती भएर गुज्रिरहेका छन् ।

मेरो सम्पूर्ण उत्साह सेलाएको थियो । म हतास, निरास र कमजोर हुँदै गएँ ।

एकमनले सोच्छु, आ.. ठिकै भो, जे भो । न ऊसँग मेरो कहिल्यै भेट होला, भइहाले पनि न मैले ऊप्रति गरेको व्यवहारको स्पष्टीकरण दिइरहनुपर्ने अवस्था नै पर्ला, न उसले मैले गरेको व्यवहारको कसैसँग जिव्रm गर्ने अवस्था नै छ, जे भयो सकियो ।

तर  के सकिन्थ्यो । उसको सामना अब गर्नु नपरे पनि मैले मेरो आफ्नै अन्तरमनको सामना नगरी सुक्खै छैन । मेरो अन्तरमनले मलाई धिक्कारी रहेको छ, दुत्कारिरहेको छ । आफूप्रति गुन लगाउने, आफूलाई माया, प्रेम, सद्भाव र स्नेह प्रदान गर्ने व्यक्तिसँग नतमस्तक हुनुपर्नेमा, हार्दिक रूपमा कृत कृत हुनुपर्नेमा अत्यन्त निम्न स्तरको र चुत्थो वर्गीय सङ्कीर्णताको आडम्बर प्रदर्शन गर्ने म जस्तो तुच्छ व्यक्ति अर्काे हुन सक्ला र ? न्यूनतम मानवीय संस्कार र संवेदनासमेत नभएको म जस्तो ढोँगी अमानव अर्काे कुन चाहिँ सज्जन व्यक्ति होला र ? प्रचण्ड राप र तापमय अपराध र ग्लानिबोधले भित्रभित्रै जलाइरहेको छ मलाई ।

गाडी हरियो धानबबारीको बिचैबिच पृथ्वीको अनकन्टार गर्भभित्र पुग्न खोजेझैँ हुइँकिरहेको थियो । मेरो मन उसैगरी धमिलिँदै गएको अतीत छिचोल्दै शान्तिलाई भेट्न बतासिरहेको थियो ।

शान्ति काठमाडौँको कुनै घरमा लिएको डेरामा मलाई नै कुरेर बसेकी छे । म क्याम्पसबाट हतार हतार उसैलाई भेट्न जाँदैछु । शान्ति र मेरो कोठा एउटै घरमा भए पनि अलग अलग छन् । तर त्यो दुनियालाई देखाउनलाई मात्रै हो । हामी दुवै जना कुनै पनि कोठामा खान सक्छौँ, कुनै पनि कोठाको एउटै ओछ्यानमा कुनै पनि बेला सुत्न सक्छौँ र दुवै जना एकाकार भएर गुडुल्किन सक्छौँ । हामी बिच कुनै सीमा छैन, दूरी छैन र वर्तमान वा भविष्यको कुनै चिन्ता छैन । पूर्ण छौँ हामी एकअर्काको साथ पाएर ।

हामीले अरूले फ्याँकेका सिग्रेटका ठुटा भेला पारेर मस्तसँग तान्दै कोठालाई कुहिरिमण्डल पारेका छौँ, धेरै वटा   शनिबार कन्सेसनको पहिलो सोमा दुई रुपियाँ तिरेर ‘थर्ड क्लास’ सिटबाट सिनेमा हेरेका छौँ, मैले कैयौँ पटक उसको लुगा लगाएर उसैको अगाडि छमछम नाचेको छु र हरेक जस्तो रात मेरो काखीको गन्धको मजा लिँदै ऊ मसँगै टाँसिएर सुतेकी छ ।

मभन्दा अलि हुने खानेकी छोरी ऊ । धेरै पटक उसले मेरो फी तिरेकी छे, मलाई जुत्ता, लुगा र किताब किनिदिएकी छे । खानामा अधिकांश उसकै खर्च छ । मैले भने उसका लागि केही गर्न नसकेकोमा उसको अगाडि कति पटक रोएको छु र उसले प्रेमवश मेरो टाउको काखमा राखेर मेरो केश सहलाएकी छे । म घर जाने बेलामा धेरै पटक बसको भाडासमेत उसैले तिरेकी छे । वास्तवमा भन्ने हो भने काठमाडौँमा बसाएर मलाई पढाएकै उसैले छे ।

म पूर्वी तराईको केटो, ऊ पश्‍चिमी पहाडकी केटी दुवै पढ्न भनेर काठमाडौँ आएका एक्ला एक्लै । तर संयोगवश एउटै घरमा डेरा बस्ने र एउटै क्लासमा एउटै क्याम्पसमा पढ्ने भएकाले हाम्रो हिमचीम बढ्दै  गएको थियो र बिस्तारै हामी एक किसिमले लोग्ने स्वास्नी जस्तै भएका थियौँ ।

दुर्भाग्यवश, उसको बिएमा इङ्लिसमा ब्याक लाग्यो, म पास भएँ । म एमए पढ्न थालेँ, उसले ब्याक दिई । एक वर्षपछि ऊ फेरि फेल भई । उसलाई घरबाट बोलावट आयो, बिहेको कुरा चल्यो । मलाई उसले बिहे गरौँ भनेर हत्ते गरी । मैले, ‘तिमी घरमै बस्दै गर, म एमए सिध्याएर आउँछु र बिहे गर्छुु भनेँ । 

यसरी एक दिन ऊ धुरु धुरु रुँदै मबाट बिदा भएर गई र त्यसपछि ऊसँग कहिल्यै भेट भएन । ऊ कहाँ गई, बिहे गरी कि गरिनँ– मलाई केही थाहा भएन । मैले एमए पास गरेँ, लोकसेवा परीक्षाको तयारी गरेँ र परराष्ट्र सेवा अन्तर्गत अधिकृतमा नाम निकालेँ । देश विदेश घुमेँ र काठमाडौँको एउटा सम्भ्रान्त परिवारकी एक मात्र छोरीसँग बिहे गरेँ । ऊ भने मेरो जीवनबाट हराएर गई, मेरो स्मृतिसमेतमा बिस्तारै पुरिँदै गई ।

म अतितबाट फर्किएँ । ड्राइभरले गाडी  दौडाइरहेको छ । गन्तव्यसम्म पुग्न अझै एक घण्टा जति लाग्छ । श्रीमती छोरीलाई आफूसँग टाँसेर, आँखा बन्द गरेर मग्न मुद्रामा सिटमा ढल्किएकी छिन् । मलाई भने असाध्य छट्पटी भइरहेछ । गाडीबाट ओर्लिएर दौडिऊँ जस्तो, लगातार सिग्रेट तानिरहुँ जस्तो, आफैँलाई पिटौँ, कपाल लुछौँ जस्तो अत्यन्त बेचैनी महसुस भइरहेको छ । मन एकतमासको भएको छ, भारी भएको छ– एमानको वजनले थिचिरहे जस्तो । छटपटी र असहजता शान्त पार्न सिटमा ढल्किएर निदाउने प्रयास स्वरूप आँखा बन्द गर्छु तर मेरो दृष्टिभरी शान्ति नै शान्ति सल्बलाउँछे । मेरो अगाडि उभिएर मलाई खिसी गरे जस्तो, गाली गरे जस्तो, मप्रति अनन्य गुनासो गरेर रोए जस्तो उसको मुखाकृति र आँखाको भाव मेरो मस्तिष्कभरी टाँसिए जस्तै लाग्छ ।

“कहीँ नभएको कृतघ्न, दुष्ट, पापी मान्छे ।” शान्तिले कानैमा आएर फुस्फुसाए जस्तो लाग्छ । म हत्तपत्त आँखा खोलेर चल्मलाउँछु ।

शान्तिको काखमा टाउको राखेर अहिले धुरुधुरु रुन पाए यो ग्लानिले भतभत पोलिराखेको छातीमा कति राहत मिल्दो हो ! मैले ठानेँ– म संसारकै सबैभन्दा दुर्बल मान्छे हुँ, कुनै हुती नभएको, आडम्बरको धमिराले भित्रभित्रै मक्काइसकेको, खोक्रो।