चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २ गते। ताप्लेजुङमा दसैँपछि बढ्न थालेको अलैँचीको मूल्य प्रतिमन अठासी हजार रुपियाँ पुगेको छ। दसैँ अघिसम्म प्रतिमन (४० किलोग्राम) ८० हजार रुपियाँमा कारोबार हुँदै आएको अलैँचीको मूल्य बढेर आइतबार ८८ हजार रुपियाँ पुगेको हो।
स्थानीय व्यापारीका अनुसार पछिल्लो डेढ सातायता वृद्धि हुन थालेको लैँचीको मूल्य आइतबार सम्ममा आठ हजार वृद्धि भई मनको ८८ हजार रुपियाँ पुगेको हो। निरन्तर मूल्य वृद्धि हुने क्रमसँगै आइतबार सदरमुकाम फुङ्लिङ बजारमा चलनचल्तीको अलैँची प्रतिमन ८८ हजार रुपियाँमा धमाधम कारबोबार भइरहेको स्थानीय व्यवसायी कमल बरालले जानकारी दिनुभयो।
व्यवसायी बरालका अनुसार पछिल्लो डेढ सातायता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँका दरले वृद्धि हुँदै आएको आइरहेको छ। गुणस्तरीय अर्थात ठूलो दाना भएको अलैँचीको मूल्य भने प्रतिमन ९५ हजार रुपियाँभन्दा बढीमा कारोबार भइरहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार भदौ महिनापछि बजारमा निस्किन थालेको अलैँचीको मूल्य सुरुमा पनि प्रतिमन ८८ हजार रुपियाँमै कारोबार भएको थियो।
अलैँचीको नयाँ उत्पादन बजारमा आउन थाल्दा अर्थात भदौ महिताभर प्रतिमन ८८ हजार रुपियाँ सम्ममा नै कारोबार भएको थियो। फुङ्लिङ बजारका अलैँची व्यवसायी भद्रबिर रेग्मीका अनुसार असोज लागेपछि भने अलैँचीको मूल्य घट्न थालेको थियो। दसैँ अघिसम्म सुरुको मूल्य ८८ हजारबाट घटेर प्रतिमन ८० हजार रुपियाँमा पुगेको रेग्मीको भनाइ छ।
अर्लैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका व्यवसायी रेग्मीका अनुसार एक हजार र दुई हजारका दरले मूल्य घटेर प्रतिमन ८० हजार रुपियाँ पुगेको हो। दसैँ सकिएपछि क्रमशः अलैँचीको मूल्य वृद्धि हुन थालेको र अहिले प्रतिमन ८८ हजार रुपियाँ पुगेको उहाँले बताउनुभयो। अलैँचीको मूल्य निरन्तर वृद्धि हुन थालेपछि स्थानीय किसान तथा व्यवसायी उत्साहित हुँदै आएका छन्।
व्यवसायीका अुसार नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने गरेको छ। अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपाली बजारमा अलैँचीको कारबोर हुने भएकाले मूल्य घटबढ भइरहने पनि स्थानीय व्यवसायी बताउँछन्। यता गत वर्षको तुलनामा यसवर्ष भने अलैँचीको मूल्य सुरुमै राम्रो आएको व्यवसायीको भनाइ छ।
ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची यहाँका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेकका क्षेत्रमा खेती हुने गरेको छ। ताप्लेजुङस्थित कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ। उक्त क्षेत्रफल बराबरको खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ। यसवर्ष अलैँची फलाई केही न्युन भएकाले उत्पादन पनि तुलनात्मक रुपमा घट्नसक्ने किसान बताउँछन्।