• २० वैशाख २०८१, बिहिबार

व्यावसायिक आलु खेतीतर्फ किसान आकर्षित

blog

कावासोतीमा व्यावसायिक रुपमा गरिएको आलुखेती । तस्विर : मीना कँडेल

मीना कँडेल

कावासोती, असोज ७ गते । पूर्वी नवलपरासीका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् । आलुखेती प्रवर्धनका लागि नवलपुरमा चार करोड बजेट विनियोजन गरिएको छ । 

नवलपुरको विभिन्न क्षेत्रमा आलुखेती गर्ने किसान उलेख्य भएकाले थप प्रोत्साहन गरी उत्पादन बढाउने उद्देश्यले ठूलो मात्रामा बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा कार्यालयले ७५ देखि ८५ प्रतिशतसम्म आलुखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने गरी जिल्लास्थित कृषि ज्ञान केन्द्र नवलपुरले आलुखेती प्रवर्धनका लागि तीन करोड ९२ लाख विनियोजन गरी कार्यक्रम सुरु गर्न लागेको प्रमुख तिवारीले बताउनुभयो ।

वर्षेनी आलु उत्पादन हुने क्षेत्र र उत्पादन बढ्दै गएपछि कावासोती नगरपालिकाले पनि व्यावसायिक आलुखेती गर्ने कृषक समूहलाई वर्षेनी पाँच लाख रुपियाँ उपलव्ध गराउँदै आएको कृषि विकास शाखा कावासोतीका प्रमुख शिवनारायण कुमालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आलुको माग धेरै हुने र स्थानीय उत्पादन कम हुने हुँदा धेरै मात्रामा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले यसको उत्पादन वृद्धि गरी आयातमा कमी ल्याउन वडा ६ का कृषक समूहलाई अनुदान दिनेगरेका छौँ ।”

कम लगानीमा पनि आम्दानी हुने र समूहमा व्यावसायिक आलुखेती गर्दा बचत हुने भएकाले पनि यसतर्फ लागेको परिवर्तन कृषक समूह कावासोती ६ विष्ण्ुानगरका अध्यक्ष मणी न्यौपानेले बताउनुभयो । गत वर्ष साढे दुई बिघामा व्यावसायिक आलु ती गरेकोमा अहिले क्षेत्र विस्तार गर्ने विचार रहेको उहाँले बताउनुभयो । कावासोती ६ का ३५ घरपरिवार व्यावसायिक आलुखेतीमा आबद्ध छन् ।

जिल्लाको कावासोती, देवचुली र गैँडाकोट नगरपालिका, विनयीत्रिवेणी, हुप्सेकोट, बौदिकाली गाउँपालिकामा, व्यावसायिक आलुखेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ । कृषि ज्ञान केन्द्रले कषि समूहमा आलु खेती प्रवर्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताउनुभयो ।

जिल्लामा गत वर्ष तीन हजार ११५ हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । “गत वर्ष तीन हजार ११५ हेक्टरमा आलुखेती भएकोमा यो वर्ष ३० हेक्टर जमिनमा थप विस्तार भएको छ” प्रमुख तिवारीले भन्नुभयो, “गत वर्ष जिल्लामा ५० हजार १५१ मेट्रिक टन आलु उत्पादन भएको थियो ।” जिल्लामा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा देखिएको छ ।