• ९ जेठ २०८१, बुधबार

जातीय संग्रहालयले तान्न सकेनन् पर्यटक

blog

संग्रहालयमा संग्रहित बाँतर जातीको प्रतिकात्मक घर र मानिसहरु । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे 

हिले, असोज ५ गते । पर्यटक आकर्षित गर्न धनकुटाकामा बिभिन्न जातजातीको कलासंस्कृति संग्रहगरी एक संग्रहालय निर्माण गरिएको छ । बिसं. २०३९ सालमा निर्माण गरी २०५१ बाट सर्बसाधारणका लागि अवलोकन खुला गरिए पनि यसले पर्यटक तान्न भने सकेको छैन । 

तात्कालीन पुर्वाञ्चलका १६ जिल्लाका १६ वटा बिभिन्न जातजातिका कला संस्कृतिहरु संग्रहालयमा संरक्षित छ । पछिल्लो समय २०७५ मा प्रदेश सरकारको ४० लाख लागतमा जातिका भेषभुषा, गरगहना तथा बाध्यबादन थप गरिए पनि यहाँ आगन्तुक पर्यटकको बृद्धि भएको छैन । 

संरचना र सामग्री थप गरिए पनि गएको पाँच बर्षमा हरेक बर्ष संग्रहालय भ्रमण आउने पर्यटक संख्यामा बृद्धि हुनुभन्दा थप खस्किएको संग्राहलयको तथ्याङ्क छ । आर्थिक बर्ष २०७५–७६ मा एक हजार ६ सय २७ जनाले संग्रहालयको अनुगमन गरेका थिए । 

त्यसपछि कारोना महामारीका कारण आर्थिक बर्ष २०७६–७७ मा दुई सय ३४ र  २०७६–७७ मा चारसय ७८ जनाले संग्रहालय अवलोकन गरेका थिए । त्यसपछि गत आर्थिक बर्ष २०७८–७९ मा एक हजार ६१ जनाले अवलोकन गरेको संग्रहालय चालु आर्थिक बर्ष २०७९–८० मा करिब १२ सय जनाले अबलोकन गरेको कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीले जानकारी दिनुभयो ।  

समाजले संग्रहालयको महत्व नबुझेको र त्यहाँ राखिएको बिषयबस्तुको ज्ञान नहुँदा संग्रहालयमा पर्यटक आकर्षित हुन नसकेको कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीको भनाइ छ ।

‘कला संस्कृतिको अध्ययन गर्न आउने कम मान्छे यहाँ घण्टौसम्म बसेर जान्छन्’ अधिकारीले भन्नुभयो, ‘आएका धेरै मान्छेहरु एक सर्को घुमेर जान्छन ।’ संग्रहालयको महत्व र यहाँ रहेको बिषयबस्तुका बारेमा ब्यापक प्रचार–प्रसार गरेमा संग्रहालयप्रति जनसमुदाय आकर्षित हुनसक्ने अधिकारीको भनाइ छ ।