• ८ पुस २०८१, सोमबार

आफ्नै भवनमा वडा कार्यालय

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज ५ गते । लामो समयदेखि अर्कै संस्थाको भवनबाट सञ्चालनमा रहेको हरिवन नगरपालिका–८ को वडा कार्यालय बुधबारदेखि आफ्नै भवनमा सारिएको छ । 

हरिवनस्थित पुरानो बजारमा निर्माण गरिएको वडा कार्यालय भवन बुधबार संविधान दिवसका अवसरमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । पूर्वमन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिनुभयो । 

यसअघि नारायण उप्रेती स्मृति प्रतिष्ठानको भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । करिब ३२ लाख रुपियाँ लागतमा भवन तयार पारिएको वडाध्यक्ष ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार अब वडा कार्यालयमा सेवा लिन आउने प्रत्येक सेवाग्राहीले सरकारी दस्तुरको रकमबाहेक निवेदन लेख्ने, फोटोकपी गर्नेलगायत सेवा लिन पैसा बुझाउनुपर्ने छैन् । निवेदन लेख्न नसक्ने तथा फोटोकपी गर्ने पैसा अपुग हुने सेवाग्राहीलाई मध्यनजर गरी वडा कार्यालयकै कर्मचारीले ती सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

वडा कार्यालयको भवन उद्घाटनको अवसरमा सामाजिक कार्यमा थप प्रोत्साहन गर्ने उद्देश्यसहित वडाभित्रका विद्यालय व्यवस्थापन समिति, टोल सुधार समिति र सामुदायिक वन समूहका पदाधिकारीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ । सोही कार्यव्रmममा वडा कार्यालय परिसरमा झन्डोत्तोलन, कराँतेका खेलाडीद्वारा काता प्रदर्शन र संविधान सभाका अध्यक्ष दिवङ्गत सुवासचन्द्र नेम्वाङको तस्बिरमा माल्यार्पण गरिएको वडाध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।