• १९ मङ्सिर २०८२, शुक्रबार

दललाई चिह्न प्रदान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १९ गते ।  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन दर्ताको निवेदन दिएका दलहरूको दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गरेको छ । राष्ट्रिय सभामा रिक्त हुने १८ पदका लागि आगामी माघ ११ गते आइतबार निर्वाचन हुँदै छ । अर्को एक सदस्य राष्ट्रपतिबाट  मनोनीत हुने छ । 

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्वाचन प्रयोजनका लागि १३ वटा दलले दर्ताको निवेदन दिएकोमा सबै दलको दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गरिएको छ । आयोगले निर्वाचनमा भाग लिने दलको क्रमसमेत निर्धारण गरेको छ । 

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरिएको छ । नयाँ दर्ता भएका दललाई भने दल दर्ताका लागि दिएको निवेदनको दर्ता क्रम अनुसार मतपत्रमा रहने निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको आयोगले जनाएको छ । 

जस अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्रमा क्रमशः नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालको निर्वाचन चिह्न मतपत्रको पाँचौँ क्रममा रहने छन् । त्यसपछि जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण गरिएको छ । 

नयाँ दर्ता भएका दुई दल नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको पुछारमा रहने छन् । यी दुईसहित नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको माथिल्लो सदनमा प्रतिनिधित्व छैन । दर्ता स्वीकृत भएको र क्रम निर्धारण गरिएको सबै दलको निर्वाचन चिह्न सात वटै प्रदेशमा एकैनासको हुने आयोगले जनाएको छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिमबाट दुई/दुई र लुम्बिनीबाट तीन जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन् । अर्को एक जना मनोनीत हुने छन् । 

राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गतेबाट सकिँदै छ । सभा सदस्य निर्वाचन ऐनले पदावधि सकिनुभन्दा ३५ दिनअगावै रिक्त हुने सदस्यको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ ।