• १९ मङ्सिर २०८२, शुक्रबार

सुनकोशी–मरिण आयोजना

ठेक्का तोडिएपछि निर्माणस्थल सुनसान

blog

ठेक्का सम्झौता तोडिएपछि सुनसान बनेको सुनकोशी–मरिण डाइभर्सनको बाँध निर्माणस्थल । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, मङ्सिर १९ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणलगायतको संरचनाको निर्माण ठेक्का सम्झौता तोडिएपछि सुनकोशी नदीमा बाँध निर्माणस्थल सुनसान बनेको छ ।

सुनकोशी नदीमा बाँध र विद्युत् गृह निर्माणका लागि ठेक्का सम्झौता गरेको निर्माण व्यवसायी पटेल–रमण जेभीले अपेक्षा गरे अनुसारको प्रगति दिन नसकेपछि सरकारले कात्तिकको अन्तिम साता उक्त कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने प्रव्रिmया अघि बढाएको थियो । ठेक्का सम्झौता तोडिएसँगै सिन्धुली र रामेछाप जिल्लाको सिमानामा रहेको सुनकोशी नदीमा बाँध निर्माणस्थल सुनसान बनेको स्थानीयले बताएका छन् ।

ठेक्का सम्झौता तोडिएसँगै बाँध निर्माण गर्न ल्याएका निर्माण सामग्री उठाएर लैजाने काम भइरहेको सुनकोशी नदीस्थित पटेल–रमण जेभिको फिल्ड अफिसका लेखापाल चिरन्जीवी महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँध निर्माणमा दैनिक करिब तीन सय मजदुर र कम्पनीका स्टाफ दुई सय गरी पाँच सय जना हुन्थे । ठेक्का सम्झौता तोडिएसँगै अहिले सबै बेरोजगार भएका छन्, कोही पनि छैनन् ।”

उठाएका निर्माण सामग्री अहिले कम्पनीको अफिस जनकपुरतर्फ लैजाने काम भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माण व्यवसायी उक्त कम्पनीले सम्झौता अनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले कात्तिक २४ गते एक सूचना जारी गरी उक्त सम्झौता तोड्ने प्रव्रिmया अघि बढाएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर तथा सूचना अधिकारी अशोक गौतमले सम्झौता भएको करिब ६१ प्रतिशत समय भुक्तान हुँदा भौतिक प्रगति करिब ११ प्रतिशत मात्रै भएपछि उक्त जेभीसँगको ठेक्का सम्झौता विभागले तोडेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले उक्त कम्पनीले हालसम्म गरेको कामको मूल्याङ्कन गर्ने कार्य भइरहेको छ । ठेक्का तोडिएपछि अर्को ठेक्काको तयारी भइरहेको छ । नयाँ दररेट अध्यावधिक गर्ने र नयाँ लागत अनुमान बनाउने काम भइरहेको छ । त्यसका लागि केही समय लाग्छ ।” आयोजनाका अनुसार पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएसँगै कार्यसम्पादनका लागि राखेको बैङ्क ग्यारेन्टी दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड रुपियाँ जफतको प्रव्रिmयासमेत अघि बढेको छ । उक्त आयोजनाको यसअघि विभागीय मन्त्रीबाट पटक पटक स्थलगत निरीक्षण गरी बाँध निर्माणको कार्यलाई तीव्र बनाउन निर्देशन हुँदै आए पनि निर्माण व्यवसायीले कामको गति बढाउन सकिरहेको थिएन । 

आर्थिक वर्ष २०७७÷७८ बाट सुरु भएको उक्त आयोजनाको पूरै काम आव २०८४÷८५ सम्ममा सक्ने लक्ष्य रहेको छ । आयोजनाका अनुसार निर्माण व्यवसायी पटेल–रमण जेभीले २०७९ साल पुस महिनामा (सन् २०२३, जनवरी १) सम्झौता गरेर चार वर्ष सात महिनामा सक्ने गरी उक्त आयोजना अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण र कमलामाई नगरपालिका–२, कुसुमटारमा विद्युत् गृह निर्माणलगायतका संरचना निर्माणको काम सुरु गरेको थियो । बाँध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको उक्त कम्पनीले भुक्तानी भने हालसम्म करिब १५ प्रतिशत अर्थात् दुई अर्ब १४ करोड रुपियाँ भुक्तानी लगिसकेको छ ।

उक्त जेभीले सुनकोशी नदीमा निर्माण गर्नुपर्ने ३० मिटर अग्लो र १५८ मिटर लम्बाइको बाँध निर्माण कार्य निकै सुस्त गरेको आयोजनाका सूचना अधिकारी गौतमले बताउनुभयो । आयोजना अन्तर्गत कुसुमटारबाट १३.३ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माण भइसकेको छ । सुनकोेशी नदीमा बाँध निर्माण भएपछि उक्त सुरुङबाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । ३१.०७ मेगावाट विद्युत्समेत उत्पादन गरिने आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो पटक बढेर ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजनाले जनाएको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको आयोजनाले जनाएको छ ।