नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर १९ गते । सर्वाधिक पुरस्कार राशिको तेस्रो मेयरकपको उपाधी आयोजक बागलुङ नगरपालिका निलोले चुम्न सफल भएको छ ।
गत आइतबारदेखि बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा बागलुङ नगरपालिकाको आयोजनामा सुरु भएको मेयरकपको बिहीबार भएको फाइनल खेलमा आयोजक बागलुङ नगरपालिका निलोले पर्वतको पैयुँ गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको बागलुङ नगरपालिकाले जनाएको छ ।
बागलुङ नगरपालिकाको तर्फबाट जर्सी नम्बर १४ का खेलाडी मनिष ठकुरीले तीन गोल गर्न सफल भएका थिए । ह्याट्रिक गरेका मनिषले पहिलो हाफको ३८ औं मिनेटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४२ औं मिनेट र इन्जुरी टाइममा गोल थपेर मनिष उत्कृष्ट खेलाडी समेत घोषित भए । मनिषले उत्कृष्ट खेलाडीबापत १० हजार रुपियाँ समेत प्राप्त गरेका थिए ।
इन्जुरी समयमै बागलुङ नगरपालिकाका खेलाडी जर्सी नम्बर १० का राजिव श्रीषले एक गोल थपेर खेललाई ४–० मा पुर्याएपछि पैयुँगाउँपालिका स्तब्ध भएको थियो ।
उपाधि चुमेको बागलुङ नगरपालिकाले तीन लाख ३३ हजार ट्रफी र मेडल हात पार्यो भने पर्वतको पैयुँ गाउँपालिकाले दुई लाख २२ हजारमा ट्रफी र मेडलमा चित्त बुझाएको थियो । पाँच दिनसम्म चलेको प्रतियोगितामा विभिन्न पालिका र नेपाली सेना र नेपाल प्रहरीसहित १० समूहको सहभागिता रहेको थियो ।
खेलाडी उत्पादनका लागि खेल क्षेत्रलाई प्रोत्साहन गर्न मेयरकप आयोजना गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठले बागलुङको नाम चिनाउने खेल क्षेत्र प्रमुख माध्यम बनाउनेगरी नगरपालिकाले खेल क्षेत्रलाई प्रोत्साहन गरेको बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी लगायका विधागत पुरस्कार समेत प्रदान गरिएको थियो । प्रतियोगितामा २० लाख खर्च भएको छ ।