बुटवल समाचारदाता
बुटवल, असोज २ गते । बुटवलमा निर्माण गरिएको आधुनिक पशु वधशाला यही असोजभित्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ। करिब २२ करोड रुपियाँ लगानीमा वधशाला निर्माण भएको हो। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडबिच पशु वधशाला सञ्चालन गर्ने सम्झौता भएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडका सञ्चालक रामशरण तिमिल्सिनाले वधशाला सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।
उक्त वधशालामा दैनिक एक हजार खसीबोका वध गर्न सक्ने क्षमता रहेको छ। सम्झौता अनुसार मुक्तिनाथ लाइभस्टकले यही महिनाभित्र वधशाला सञ्चालनमा ल्याउने छ। बुटवल १० रामनगरमा दुई बिघा तीन कट्टा क्षेत्रफलमा वधशाला बनेको छ।
सम्झौता अनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७१० रुपियाँ उपमहानगरपालिकालाई बुझाउनुपर्ने छ। पाँच वर्षका लागि गरिएको सम्झौता अनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो। पशु वधशाला सञ्चालन गर्दा पशु वधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको पन्थीले बताउनुभयो।
सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु वधशालाबाहेकका स्थलमा व्यावसायिक रूपमा खसी र बोकाको वध गर्न रोक लगाउने तथा वध गरेको पाइएमा कारबाही गर्ने सम्झौतामा उल्लेख छ। बुटवल उपमहानगरपालिकाको पशु वधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसार यहाँका मासु पसलले खसीबोकाको मासु बिक्री गर्दा पशु वधशालामा वध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन्।
वधशाला सञ्चालनसँगै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्वास्थ्य परीक्षण गरी उत्पादन भएको स्वस्थकर मासु उपभोक्ताले उपभोग गर्न पाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। उहाँले बुटवललाई व्यवस्थित र आधुनिक सहरका रूपमा स्थापित गर्नका लागि वधशालाले थप मद्दत पु-याउने दाबी गर्नुभयो। वधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुग्ने देखिन्छ।
वधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने सहरका रूपमा स्थापित हुने र यसले बुटवल बाहिरका सहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले बताउनुभयो। उहाँका अनुसार वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट २२ करोड लगानी छुट्याएको थियो।
वधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण गरिएको छ। यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने जनाइएको छ।