अमरराज नहर्की
तनहुँ, भदौ ३१ गते । पछिल्लो समय तनहुँमा डेंगुको प्रकोप बढेको छ । डेंगुको प्रकोप बढ्न थालेपछि सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको हो । साढे दुई महिनाकै अवधिमा जिल्लामा झण्डै एक हजार जनामा यसको सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित बढेपछि जिल्ला उच्च जोखिममा परेको छ । डेंगु रोग लागेमा एक्कासि ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य काममा रुचि नलाग्ने लगायतका लक्षण देखिनसक्छ । यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीले सुझाएका छन् ।
सङ्क्रमण बढेसँगै दमौली अस्पतालमा बिरामीको भीड लागेको छ । क्षमताभन्दा चार गुणा बढी बिरामी उपचारको लागि भर्ना हुन आएकोले स्थान अभावले गर्दा फिर्ता पठाउनु पर्ने अवस्था आएको दमौली अस्पतालले जनाएको छ । १५ शय्या क्षमताको अस्पताललाई ५० शय्या क्षमतामा सञ्चालन गरिरहँदा पनि भर्ना हुने धेरै आएकोले बाध्य भएर फिर्ता गर्नुपर्ने अवस्था आएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “स्वास्थ्य चौकी बराबराबरको दरबन्दी शय्या भएकोले बिरामी थेग्न सकिएको छैन, स्तरोन्नति को लागि पटकपटक माग राखिएको भएपनि सुनुवाइ नहुँदा समस्या परेको छ ।” सङ्क्रमितको सङ्ख्या धेरै देखिएकोले अवस्था जोखिमपूर्ण बनेको स्वास्थ्य कार्यालय तनहुँमा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
साढे दुई महिनाको अवधि गरी हालसम्ममा नौ सय ९३ जनामा डेङ्गु सङ्क्रमण भएको अधिकारीले जानकारी दिनुभयो । सरसफाइमा ध्यान दिने, लामखुट्टेको वासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेङगुबाट जोगिने प्रमुख उपाय भएको स्वास्थ्य प्रमुख अधिकारी बताउनुहुन्छ ।
यस्तै, जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र बान्ता आउनु डेंगुका लक्षण हुन् । सङ्क्रमित लामखुट्टेले टोकेको तीनदेखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिनसक्छ ।
एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगु रोग सार्ने गर्दछ । यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भिडभाडमा नजाने, बिहान, दिउँसो राती जुनसुकै बेला झुल टाँगेर सुत्ने, पुरा बाहुला भएका र पुरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टेको वासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउनु पर्ने स्वास्थ्य प्रमुख अधिकारीले बताउनुभयो ।
डेंगुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएको थियो । व्यास नगरपालिका–१० निवासी शर्माको असार १६ गते निधन भएको थियो ।
डेङ्गु सङ्क्रमण भएपछि दमौलीमा उपचाररत ३५ वर्षीया शर्मालाई थप उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा निधन भएको हो ।