• ६ कात्तिक २०८१, मङ्गलबार

बिपीको जेल डायरी लोकार्पण

blog

काठमाडौँ, भदौ ३१ गते ।  नेपाली कांग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जेल डायरी लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रा. कृष्ण खनाल, नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतम, नेपाली कांग्रेसका पार्टी प्रवक्ता मीन विश्वकर्मा, एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, माओवादी नेता राम कार्कीले पुस्तकको लोकार्पण गर्नुभएको हो । 

कार्यव्रmममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपी कोइरालाको विचारलाई पवित्र ग्रन्थ पूजा मात्र गर्दा उहाँमाथि अन्याय हुने भन्दै ती विचारलाई पार्टी र नेता कार्यकर्ताले अन्तरमनदेखि नै आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको समेत उहाँको भनाइ थियो ।  

एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली बिपी जेलको सानो घेरामा रहँदा पनि उहाँको विभिन्न पुस्तक मगाएर अध्ययन गर्ने बानीले उहाँको  चिन्तन बृहत्तर र सोच अत्यन्तै फराकिलो बनाउन सकेको धारणा व्यक्त गर्नुभयो । प्रकाशित जेल डायरी सबैका लागि मार्गदर्शकका रूपमा रहेको उहाँको भनाइ थियो । माओवादी नेता राम कार्कीले नेपाली कांग्रेसले बिपीलाई महामानव भन्दै आए पनि उहाँलाई असरल मान्छेका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । बिपीको विचारलाई लिएर अगाडि बढ्दै गरेको पार्टी रूपान्तरण हुनु जरुरी रहेको उहाँको भनाइ थियो । 

नेपाली कांग्रेसका प्रवक्ता मीन विश्वकर्माले स्वर्गीय बिपी राजनीतिक र साहित्यिक मात्र नभई उहाँको बहुआयामिक व्यक्तित्वकोे बारेमा उजागर गर्नका लागि नेपाली कांग्रेसले यस पटक बिपी साहित्य महोत्सवको आयोजना गरेको बताउनुभयो । जेल डायरीमा गरिएका टिपोटहरूले बिपीका जीवनका अन्य विविध पक्षलाई पनि उजागर गर्ने उहाँको भनाइ छ । नेतृ प्रतिमा गौतमले आदर्श व्यक्तित्व बिपीको डायरी प्रकाशनले नयाँ पुस्तालाई त्यस कालखण्डको इतिहास, नेतृत्वले गरेको सङ्घर्षलाई बुझ्न थप सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।  

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य आठ सय रुपियाँ रहेको छ । पुस्तकको सम्पादक शङ्कर तिवारी हुनुहुन्छ भने सङ्कलन पदमबहादुर थापाले गर्नुभएको हो । पुस्तकमा आवरण चित्र रसिक राजको रहेको छ भने ढाँचा सुवर्ण हुमागाईले गर्नुभएको छ ।