डिसेम्बर ११ (२५ मङ्सिर, २०२४)
हाम्रो कारावासको समय नौ महिना थपियो । यसको सूचना आजै अपराह्न प्राप्त भयो । यस्तो आदेश लिएर सहायक कमिस्नर, उनका क्लर्क डिग दास नारायण र एक जना जर्नेल आएका थिए ।
डिसेम्बर १६ (१ पौष, २०२४)
१९६० को दशकका घटनाहरू : यो यस्तो अवधि हो जसमा भर्खरै अस्तित्वमा आएका अधिकांश देशमा तानाशाही विकसित भयो । संवैधानिक सरकारले नै गरेका शृङ्खलाबद्ध ‘कु’ हरूले विश्व चेतनालाई यसरी आहत ग¥यो कि यसले स्थायित्वको नाममा तानाशाहीलाई अनुमोदन गर्न थालेको देखियो र भोक हडताललाई पुरानो भइसकेको राजनीतिक अस्त्रको रूपमा हेर्न थाल्यो । त्यसमाथि हामी जस्ता बन्दीको रिहाइको माग राखेर आफैँलाई जोखिममा पार्नुलाई कसैले पनि अब कुनै ठुलो राजनीतिक मुद्दा मान्न छोडे । बाहिर पनि कुनै प्रकारको सङ्घर्ष चलिरहेको भए जेलभित्रको भोक हडतालले सरकारलाई दबाबमा पार्ने थियो । अथवा कुनै भावनात्मक विषय उठान गरेर बाहिर सङ्घर्ष चर्काउन सकिएको भए भित्र गरिने भोक हडताल जायज हुन्थ्यो ।
तर हाल त्यस्तो कुनै अवस्था वा सम्भावना देखिँदैन । यस्तो अवस्थामा भोक हडतालको पीडा उठाएर रिहाइको माग गर्नुमा कुनै तुक छैन । यदि कसैले कैदीहरूमाथिको अभियोगको कुरा सुनुवाइ हुनुपर्ने माग राखेर सङ्घर्ष ग¥यो भने त्यसले सरकारलाई लज्जित तुल्याउने थियो, उसले उक्त माग माने पनि र नमाने पनि तर रिहाइको मात्रै मागले सरकार लजाउने देखिँदैन । यदि सरकारले रिहाइको माग स्वीकार ग¥यो र गिरिजालाई रिहा ग¥यो भने लज्जा गिरिजालाई हुने छ । किनभने रिहाइपछि बाहिर उसले जुन प्रकारको राजनीतिक वातावरण पाउने छ, त्यसमा उसले शहादतको गरिमा गुमाएको महसुस गर्ने छ । गिरिजा जस्तो जवान राजनीतिक कार्यकर्ताका लागि स्वतन्त्रताका नाममा नपुङ्सक तुल्याउनु ज्यादै लज्जाको विषय हुने छ । एउटा राजनीतिक बन्दी बिलकुल प्रभावशून्य हुँदैन । हदै भए पनि ऊ एउटा सहिद हुन्छ ।
डिसेम्बर १७ (२ पौष, २०२४)
हाम्रो भेटमा तारिणीले भने, आजदेखि गिरिजा भोक हडतालमा गएका छन् । उनको माग– रिहाइ हो । यस बारेमा उनले कसैको पनि रायसल्लाह लिएनन् । मैले थाहा पाएँ भने उनलाई यस कदमबाट पछि हट्न भन्ने छु भन्ने अनुमान गरेर उनले हडताल नथाल्दासम्म यो कुरा मलाई नभन्दिनू भनेर वाइपीलाई भनेका रहेछन् । उनलाई यस्तो कदम चाल्नबाट रोक्नका लागि सुशीला विराटनगरबाट दौडेर आइछिन् तर उनी आइपुग्दासम्म ढिलो भइसकेको रहेछ । किनभने गिरिजाले सरकारलाई आफू त्यसै दिन बिहानदेखि भोक हडतालमा जान लागेको सूचना पठाइसकेका रहेछन् ।
बन्दीहरूले भोक हडताललाई सरकारका विरुद्ध प्रदर्शनको माध्यम बनाउने उपक्रमको निश्चित रूपमा म विरोधी हुँ । यो त्यस्ता सरकारका विरुद्ध एउटा हतियार हो जो नागरिकको धारणालाई सम्बोधन गर्छ । तानाशाहीमा यसको कुनै पनि राजनीतिक मूल्य छैन । यहाँ कुनै पनि स्वतन्त्र मिडिया छैन जसले भोक हडतालमा उठाइएका मुद्दालाई गति देओस् । कुनै पनि स्वतन्त्र दल वा संस्था छैन जसले यस मुद्दालाई आमधारणा बनाउने हेतुले जनतामा लैजाओस् । यहाँ कुनै पनि यस्तो जननिर्वाचित सरकार छैन, जसले जनदबाबलाई सम्बोधन गरोस् । नेपालको सन्दर्भमा भोक हडताल गर्नु भनेको लगभग आत्महत्या गर्नु जस्तै हो ।
कुनै कुनै सन्दर्भमा आत्महत्या पनि अन्तिम विकल्पको रूपमा अर्थपूर्ण रहला तर कुन अवस्थामा कोही आत्महत्यातिर प्रवृत्त हुन्छ ? त्यो उसैले निर्धारण गर्ने हो । त्यसैले यो राजनीतिकभन्दा पनि आत्मिक मुद्दा हुन जान्छ । आत्मिक आग्रहमाथि कसैले पनि निर्णयात्मक मत दिन सक्दैन । तर एक विशुद्ध राजनीतिक अस्त्रको रूपमा हेर्दा भोक हडताल नेपालको जस्तो तानाशाहीमा बिलकुलै प्रभावहीन हुन जान्छ ।
डिसेम्बर १८ (३ पौष, २०२४)
हिजो मङ्गलाजीले गणेशमानलाई भन्नुभयो, मदरल्याण्ड पत्रिकाका सम्पादक मणिन्द्रले राजाको हालैको अमेरिका भ्रमणको बेला उनीसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गरेका छन् र उनले हामीलाई कारागारमा आएर भेट्नका लागि राजासँग अनुमति लिएका छन् । उनी राजनीतिक सन्दर्भमा राजा र हामीबिच कुनै प्रकारको समझदारी बनोस् भन्ने चाहन्छन् । उनी हामीसँगको भेटघाटमा सूर्यप्रसादजीलाई पनि आफूसँग ल्याउन चाहन्छन् । हामी कमजोर अवस्थामा रहेको मौजुद राजनीतिक परिस्थिति हेर्दा, जस्तो समझदारी गरे पनि राजाकै हित बढी र हाम्रो कम हुने निश्चित देखिन्थ्यो ।
मलाई लाग्छ, केही न्यूनतम संशोधनसहितको पञ्चायती व्यवस्था स्वीकार गर्न उनले हामीलाई अनुरोध गर्ने छन् । र त्यसरी सम्मानलाई पूर्ण रूपमा नगुमाइकन हाम्रो रिहाइ सुनिश्चित गर्न चाहन्छन् तर पनि राजाबाट अथवा आफैँबाट उनी कस्तो प्रस्ताव लिएर हामीकहाँ आउँदै छन्, त्यो मलाई थाहा भएन । म के कुरामा चाहिँ ढुक्क छु भने राजाले हामी कमसेकम पञ्चायती व्यवस्थालाई स्वीकार गरौँ भन्ने सर्त राख्ने छन् ।
मङ्गलाजीको मत छ, मणिन्द्रले हामीलाई यसै हप्ताको कुनै दिन भेट्न सक्ने छन् । म भने उनलाई भेट्ने मानसिक तयारीमा छु । हामीसँगको छलफलका लागि म उनलाई कस्ता प्रस्तावहरू दिन सक्छु भनेर म सोच्दै छु । हामीमाझ मूलभूत प्रश्न भनेको आफ्नो राजनीतिक इज्जत र सम्मानमा आँच नपु¥याइ न्यूनतम लचकताका साथ हामी कसरी आफ्नो रिहाइ सुनिश्चित गर्न सक्छौँ भन्ने हो । म आफ्नो राजनीतिक प्रभावकारिता गुमाएर यहाँबाट रिहा हुन चाहन्नँ ।
डिसेम्बर २५ (१० पौष, २०२४)
आजका अखबारहरूले गत बिहीबार पटनामा रामनारायणको निधन भएको दुःखद समाचार छापेका छन् । क्यान्सरबाट बच्न अब लगभग असम्भव भएर मृत्युशय्यामा परेको अवस्थामा उनलाई गत साल यसै कारागारबाट रिहा गरिएको थियो । रिहाइपछि जस जसले उनलाई भेटे, ती सबैले अब उनको मिति पुगिसकेको ठह¥याए । पछिल्लो पटक सुशीलाले मलाई लेखेकी थिइन्, उहाँ पटनामा मृत्यु कुरेर बस्नुभएको छ तर पनि अझै उत्साहले भरिपूर्ण हुनुहुन्छ । भर्खरै रामनारायणलाई भेटेर आउनुभएकी आमाले पनि मृत्युको मुखमा पुगिसकेर पनि उहाँमा कायम रहेको उत्साह र साहसको कुरा उल्लेख गर्नुभएको थियो ।
तैपनि आजको समाचार हाम्रा निम्ति एउटा घात बनेर आयो । सारा सुन्दरीजल कारागार शोकमा डुब्यो । साँझ हामीलाई खाना खान मनै लागेन । म शोकमा डुब्न पुगेँ । एउटा असल व्यक्तिको अवसानमा शोकाकुल भएँ । उनकी श्रीमती, आमा र बालबच्चा सम्झेर नरमाइलो लाग्यो । संसार अलि धेरै चिन्तित भएको भान भयो । आफ्नै परिवेशबाट अलिकति खुसी हराए जस्तो लाग्यो । मलाई ज्वरो आउला जस्तो भयो । सायद विक्षिप्तताको अवस्थाले हो ।
डिसेम्बर २८ (१३ पौष, २०२४)
डाक्टर भट्टराईले मेरो स्वास्थ्य परीक्षण गरे र पेटका लागि केही औषधी लेखिदिए । म ज्यादै कमजोर महसुस गरिरहेको छु । मेरो बायाँतिरको दुखाइले ज्यादै दुःख दिइरहेको छ तर डाक्टर भन्छन्, यो मांसपेसीको दुखाइ हो । अचेल म मेरो स्वास्थ्यलाई लिएर धेरै सशङ्कित हुन थालेको छु ।
डिसेम्बर ३० (१५ पौष, २०२४)
मेरो स्वास्थ्यमा सुधार आएन भनेर डाक्टर भट्टराईलाई खबर पठाएँ । म निकै बिरामी छु ।
डिसेम्बर ३१ (१६ पौष, २०२४)
जाँचका लागि मेरो रगत लगियो ।
(राजधानीमा आज सार्वजनिक हुने विश्वेश्वरप्रसाद कोइरालाको जेल डायरीको एक अंश)