काठमाडौँ, वैशाख ९ गते । अखिल नेपाल महिला सङ्घअन्तर्गतको केन्द्रीय युवा कमिटीले बुधबार राष्ट्रिय युवा महिला भेलाको आयोजना गर्दै छ । अमेनसङ्घले मङ्गलबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा सो राष्ट्रिय युवा भेलाको जानकारी दिएको छ ।
केन्द्रीय युवा कमिटीका अध्यक्ष बिन्दु अधिकारीले युवालाई बढीभन्दा बढी सङ्गठित गरेर महिला आन्दोलनमा युवाको सशक्त भूमिका निर्वाह गर्न अनेमसङ्घले युवा कमिटी गठन गरेको जानकारी दिनुभयो ।
अध्यक्ष अधिकारीले भन्नुभयो, “एउटा महिलामा युवा उमेर समूहका विभिन्न खालका चुनौतीहरू समय व्यवस्थापनदेखि, आफ्नो करियर विकासदेखि सामाजिक, राजनीतिक कुराहरू र आफूलाई त्यसमा नेतृत्वदायी भूमिकामा ल्याउनका लागि उहाँहरूको समय व्यवस्थापन गर्न कठिन र चुनौतीपूर्ण भएता पनि उहाँहरूलाई उत्साहित गर्न सङ्गठनमा लाग्नका लागि प्रेरित गरिरहेको छ ।”
“समान सहभागीताका लागि सुदृढ सङ्गठन” अमेनसङ्घको मूल नारा रहेको भन्नुहुँदै उहाँले राष्ट्रिय युवा महिला भेलाका लागि मुख्य सात वटा एजेन्डा तय भएको जानकारी दिनुभयो ।
‘उत्पादन, उद्यमशीलता र रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना’, ‘युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति’, ‘प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला’, ‘राजनीतिक दल तथा जनसङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताको सवाल’, ‘राज्यका युवा महिला केन्द्रित वर्तमान नीति कार्यक्रम र प्रभावकारिता’, ‘जलवायु परिवर्तन, आप्रवासन र सेवा अर्थतन्त्रले युवा महिलामा पारेको प्रभाव र अनुकूलनको अभ्यास’, ‘प्रविधिको विकासले युवा महिलामा पारेको प्रभाव, सम्भावना र चुनौती’ विषयमा राष्ट्रिय भेलामा छलफल गरिने उहाँको भनाइ छ ।
उहाँले छलफलबाट प्राप्त सुझाव एवम् निष्कर्ष सङ्कलन गरेर प्रक्रियागतरूपमा राज्यका नीति निर्माण तहसम्म पुर्याउन पहल गरिने बताउनुभयो । यससँगै नेकपा (एमाले) को केन्द्रीय कमिटीमा ३० प्रतिशत युवा सहभागीता सुरक्षित गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
उहाँले भेलामा सात प्रदेश तथा ७७ वटै जिल्लामध्ये प्रत्येक जिल्लाबाट तीन जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो ।