काठमाडौँ, वैशाख ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेस्टिभल २०२५ को उद्घाटन गरेका छन् ।
दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न फेस्टिभलको उद्घाटन गर्दै मन्त्री पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषणा गर्नुभएको हो । ‘‘तपाईंहरूको स्वास्थ्य तपाईं मात्र होइन हाम्रो पनि चिन्ताको विषय हो,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘देश फर्कंदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौं ।’
मन्त्री पौडेलले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मूल्यमा गराउने गरी गृहकार्य भइरहेको बताउनुभयो ।
‘‘स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकतासाथ काम गरिरहेको छ । युएईको भ्रमणका क्रममा पनि मैले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको छु,’’ उहाँले भन्नुभयो ।
मन्त्री पौडेलले कार्यक्रममा नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका विदेशी नागरिकहरूलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमण गर्न अनुरोध नेपालीसँग आग्रह गर्नुभयो । उहाँले नेपाल र युएईबिच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्रहरू रहेको बताउँदै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरूमा दुई देशबिच सहकार्य गरी अघि बढ्न सकिने बताउनुभयो ।
नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली सङ्घ, युएई, नेपाली समाज युएईलगायत युएईमा रहेका सामाजिक सङ्घसंस्थाहरूको संयुक्त पहलमा पहिलो पटक कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
राजदूत क्षेत्रीले नेपाल फेस्टिभल–२०२५ मा नेपालको सांस्कृतिक विविधताको प्रदर्शनले नेपालको विविध संस्कृति, कला, भेषभुषा, खाना, रहनसहन नेपालको पहिचान भएकाले यस प्रकारका कार्यक्रमले नेपाल र युएईको सम्बन्धलाई अझ प्रगाढ र घनिष्ट बनाउदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनताबिच जोड्ने सेतुको रूपमा कार्य गरेको र यसबाट नेपालको पर्यटन, लगानी तथा व्यापार अभिवृद्धि गर्न थप योगदान पुग्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक विकास र समृद्धिका लागि युएईमा रहनुभएका सबै नेपालीलाई आह्वान गर्नुभयो । गैर आवासीय नेपाली सङ्घ, युएईका अध्यक्ष विकास शाहीले कार्यक्रममा ४० हजारको सहभागीता रहेको भन्दै भव्यताका साथ सम्पन्न भएको बताउनुभयो ।
फेस्टिभलमा युएई सरकारका उच्च पदाधिकारीहरू, विदेशी राजदूत तथा कूटनीति नियोगका प्रमुखहरू, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिकहरू, नेपालका शुभचिन्तकहरू सहभागी रहेको नेपाली राजदूतावासले जनाएको छ ।