• ५ चैत २०८२, बिहिबार

‘शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्र प्राथमिकतामा रहन्छ’

blog

जीवछ यादव

लहान, चैत ५ गते   । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपेश्वर यादव विजय भएपछि चर्चाको विषय बनेको छ । 

चर्चा हुनुको कारण उहाँले सिरहा–४ मा पाँच जना पूर्वमन्त्रीलाई पराजित गर्नुभएको छ । उहाँले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पूर्वन्याय तथा कानुनमन्त्री अजय शङ्कर नायक, जनमत पार्टीका उम्मेदवार एवं पूर्ववन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, नेकपा (एमाले) का उम्मेदवार पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह, जनता समाजवादी पार्टीका उम्मेदवार पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव र बहुजन जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विशेन्द्र पासवानलाई पराजित गरेर उहाँ विजय हुनुभएको हो । ३६ हजार २१० मत प्राप्त गरेर निर्वाचित भएका प्रतिनिधि सभा सदस्य तपेश्वर यादवले निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नायकलाई २८ हजार २३८ मतले पराजित गर्नुभएको छ । 

२०४६ सालयताको निर्वाचनमा कम्युनिस्ट पार्टीको गढ मानिएको यस क्षेत्रमा यतिका फराकिलो मतले अहिलेसम्म गैरकम्युनिस्ट पार्टीका उम्मेदवार विजयी भएका थिएनन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित ३३ वर्षीय यादव राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशको सभापतिको भूमिका निर्वाह गर्दै निर्वाचित भई सिराहाका चार वटै क्षेत्रमा रास्वपाका उम्मेदवारलाई निर्वाचित गराउनुभएको छ । 

निर्वाचनका क्रममा सिराहा–४ का मतदातामाझ  शिक्षा, सिँचाइ र स्वास्थ्य क्षेत्रका समस्यालाई समाधान गर्ने चुनावी मुद्दा बनाएका उहाँलाई जनताले मत हालेर प्रतिनिधि सभा सदस्यका रूपमा सहजै स्वीकार गरेका छन । प्रतिनिधि सभा सदस्य यादवले चुनाव प्रचारप्रसारका व्रmममा आफूले शिक्षा, स्वास्थ्य र सिँचाइसम्बन्धी समस्या समाधानका लागि गरेको वाचा पूरा गर्ने काममा प्रतिबद्ध रहेको बताउनुभयो । 

नरहा गाउँपालिका–५, नरहाका तपेश्वर यादव जेनजी आन्दोलनअघिसम्म जागिरमा हुनुहुन्थ्यो । उहाँ रास्वपामा आबद्ध भएर पनि पोखरा तथा धनुषामा जागिर गरिरहनुभउएको थियो । आन्दोलनपछि सिरहामा राजनीति रूपमा सव्रिmय हुनुभएको थियो । उहाँ केही समय मिर्चैया नगरपालिकामा पनि काम गर्नुभएको थियो ।  

उहाँले जनताको घरदैलोमा जाँदा नागरिकले विभिन्न खालका स्थानीय समस्या राखेको भन्दै ती समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गर्ने बताउनुभयो । सिराहा क्षेत्र नं. ४ लाई नमुना क्षेत्रका रूपमा विकास गर्न र यस क्षेत्रका समस्यालाई प्रतिनिधि सभाको बैठकमा बुलन्द रूपमा उठाउने उहाँले बताउनुभयो । उहाँले जनताले परिवर्तनका लागि रास्वपालाई मत हालेको भन्दै आउने दिनमा जनताले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने दाबी गर्नुभयो । 

उहाँले पहिलो पटक मधेशीको छोरा प्रधानमन्त्री बन्ने भन्दै प्रधानमन्त्री बन्न लागेका रास्वपाका वरिष्ठ नेता बालेन शाहले देश र जनताका लागि इमानदारितापूर्वक काम गर्ने बताउनुभयो । उहाँले सिराहा र धनुषा जोड्ने कमला पुलको पूर्ण निर्माणका लागि सक्दो पहल गर्ने बताउनुभयो । 

साथै गुणस्तरीय शिक्षाका लागि व्यवस्थित विद्यालय र किसानका खेत खेतमा सिँचाइ, स्वास्थ्य उपचारका लागि अस्पतालको सुलभ व्यवस्था गर्ने बताउँदै उहाँले मतदाताले गरेको अपार विश्वास र भरोसालाई टुट्न नदिने बताउनुभयो ।