• १६ वैशाख २०८१, आइतबार

पूर्वी नवलपरासी दुधमा आत्मनिर्भर

blog

मुुकुुन्दपुुर, भदौ २९ गते । पूर्वी नवलपरासी दुधमा आत्मनिर्भर बनेको छ । यो जिल्लाबाट वार्षिक दुई अर्ब ८० करोडको दुध बाहिर निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा यो परिमाणको दुध निर्यात भएको जिल्ला दुग्ध सहकारी संस्थाले जनाएको छ । 

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिका तथा विनयीत्रिवेणी र हुप्सेकोट गाउँपालिकाका केही वडामा दुध उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको गैँडाकोट नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ सबैभन्दा बढी गाईभैँसीपालन गर्ने पकेट क्षेत्रका रूपमा रहेको र यहाँ सबैभन्दा बढी दुध उत्पादन हुने ज्ञान केन्द्रको भनाइ छ । 

जिल्लामा ४० हजार घरपरिवार प्रत्यक्ष रूपमा गाईभैँसीपालन व्यवसायमा आबद्ध रहेको छ भने यो जिल्ला दुधमा पूर्ण आत्मनिर्भर रहेको केन्द्रले जनाएको छ । यहाँ उत्पादन हुने दुध काठमाडौँ, बुटवल, हेटौँडा, वीरगन्ज, पोखरालगायतका ठुला सहरमा पुग्ने गरेको छ । मुकुन्दपुरमा विगत ३५ वर्षदेखि गाईपालन गरेकी निर्मला सुवेदी अहिले जिल्लामा सबैभन्दा बढी गाईपालन गरी दुध बिक्री गर्ने किसानका रूपमा रहनुभएको छ । 

  • वार्षिक दुई अर्ब ८० करोडको दुध निर्यात
  • ४० हजार घरपरिवार प्रत्यक्ष रूपमा गाईभैँसीपालन व्यवसायमा आबद्ध
  • गण्डकी सरकारले किसानलाई उकास्ने राम्रा योजना ल्याएकाले पनि आगामी दिनमा अझ यो व्यवसाय फस्टाउँदै जाने 

उहाँले अहिले पनि सुवेदी फार्ममा १५० भन्दा बढी उन्नत जातका गाई पाल्नुभएको छ र यो व्यवसायबाट मासिक १० लाखसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । मुकुन्दपुरमा मात्र नभएर जिल्लाका हरेक गाउँमा अहिले गाईभैँसीपालनतर्फ किसानको आकर्षण बढेको र जिल्लामा दुध व्यवसायले राम्रो बजारसमेत पाएको किसानको भनाइ छ । 

गैँडाकोट–१५ का रामराज थापाले गाईभैँसीपालनबाट मनग्गे आम्दानी लिने किसानका रूपमा चर्चा पाउनुभएको छ र अहिले पनि उहाँको दिनचर्या गाईबस्तुसँगै बित्ने गर्दछ । 

उमेरले ६७ लाग्नै आँटेका थापा बिहान ३ बज्न नपाउँदै उठ्नुहुन्छ, राति अबेरसम्म गोठमा खटिनुहुन्छ र उहाँको गाईपालन व्यवसायले उन्नति गरेको छ । घरसँगै बनाइएका सात गोठभरि गाई र तिनका रहरलाग्दा बाच्छाबाच्छी छन् । 

बिहानै उठ्ने बित्तिकै गाईलाई खोले खुवाउनुहुन्छ थापा । झिसमिसे उज्यालो हुन नपाउँदै दुध दुहुने मेसिन र हातमा बाल्टी बोकेर गाईको छेउमा पुग्ने थापालाई श्रीमती र छोराबुहारीले सहयोग गर्ने गरेका छन् ।

“सरकारी अनुदानमा कृषि ज्ञान केन्द्रले दुध दुहुने मेसिन उपलब्ध गराएको छ, केही हातैले दुहुन्छु त केही मेसिनले,” थापाले भन्नुभयो, “परिवारका सबै सदस्य गाईपालनमै रमाएका छन् ।” अहिले दैनिक नौ सय लिटर दुध उत्पादन हुने गरेको थापा बताउनुहुन्छ ।

गैँडाकोट–१२ का कृषक हरि पाण्डे अहिले ११० वटा त माउ गाई पालेर सात सय लिटर दुध बिक्री गरेको बताउनुहुन्छ । गत वर्ष पाण्डेला सरकारले पाँच लाख रुपियाँ अनुदान दियो । त्यसयता झनै खुसी छ उहाँको परिवार । 

भारतको आसाममा लामो समय गाईपालनमा रमाएका पाण्डे अहिले गैँडाकोटमा गाईपालनमा रमाउनुभएको मात्रै छैन, उत्कृष्ट कृषकका रूपमा सम्मानित पनि हुनुभएको छ । “आसाममा त्यस बेला निकै गाई पालिएका थिए, मैले त्यहाँ गाई कसरी पालिन्छ, कसरी आम्दानी हुन्छ भन्ने कुरा राम्ररी नियालेँ, त्यसपछि मलाई लाग्यो नेपालमा गएर केही गर्न सकिन्छ,” पाण्डे भन्नुहुन्छ ।

सहकारीबाट एक लाख ५० हजार रुपियाँ कर्जा लिएर गाईपालन सुरु गरेका पाण्डे जस्ता सयौँ कृषक अहिले गाईभैँसीपालनमा उदाहरणीय बनेका छन् । 

गण्डकी सरकारले त दुध उत्पादन गर्ने कृषकलाई डेरीबाटै प्रतिलिटर रु. पाँच अनुदान दिने नीति नै सार्वजनिक गरेको गण्डकी सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले बताउनुभयो । सरकारले दुध उत्पादन गर्ने किसानलाई अनुदान दिने र अरू सहयोग पनि दिने गरी किसानका हकमा राम्रा कार्यक्रम ल्याएको मन्त्री जिसीको भनाइ छ । 

नवलपरासीपूर्वमा फस्टाएको दुग्ध व्यवसायबाट यहाँका घरमा गाईभैँसीपालन गर्ने बढिरहेका अमरापुरीका कृषक डिल्लीराम सापकोटाले बताउनुभयो । दुध उत्पादनमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको नवलपरासीपूर्वमा गण्डकी सरकारले किसानलाई उकास्ने राम्रा योजना ल्याएकाले पनि आगामी दिनमा अझ यो व्यवसाय फस्टाउँदै जाने मन्त्री जिसीले बताउनुभयो ।