• १६ वैशाख २०८२, मङ्गलबार

ढोरपाटन उपत्यकामा सरसफाइ

blog

ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ मा पर्ने ढोरपाटन उपत्यकामा सरसफाइ गर्दै स्थानीय। तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख १६ गते। कुनै समय गुमनाम जस्तै रहेको ढोरपाटन सिकार आरक्ष सडक सञ्जालले जोडिएपछि पर्यटकको रोजाइमा पर्न थालेको छ।प्राकृतिक सुन्दरता भरिपूर्णले ढोरपाटनमा पुग्ने पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ।ढोरपाटन उपत्यकामा रमाउने पर्यटकको नयाँ गन्तव्य बनेको छ– बुकी पाटन।

ढोरपाटनमा जति धेरै पर्यटक भित्रिएका छन् त्यति नै फोहोर पुग्दा सुन्दर र सफा ढोरपाटन उपत्यका क्षेत्र प्रदूषित र कुरूप बन्दै गएको छ।दैनिक सयौंको सङ्ख्यामा पुग्ने पर्यटकले प्रयोग गरेका सामग्री जथाभाबी फाल्ने र त्यस्ता फाेहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा ढोरपाटन क्षेत्रमा फोहोर बढ्दै गएको छ।प्लास्टिकजन्य, क्यान, सिसाको बोतलजस्ता नकुहिने फोहोरले ढोरपाटन कुरूप बन्न थालेको हो।फोहोरको उचित उत्सर्जन गर्ने स्थान अभावले पर्यटकले फोहोर जथाभाबी फाल्ने गरेका हुन्।

ढोरपाटनमा बढिरहेको फोहोरलाई व्यवस्थापन गर्नसके प्राकृतिक अवस्था कायम रहने र आन्तरिक तथा बाह्य पर्यटकलाई पनि आकर्षण गर्न सकिने भएकाले स्थानीयलाई सचेत गराउन थालिएको छ।बिवाइसी बागलुङद्वारा सञ्चालित दीगो पर्यटन प्रवर्धन परियोजनामार्फत् ढोरपाटन उपत्यका सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थापनबारे स्थानीयलाई सचेत गराइएको सामाजिक परिचालक रमिता पुन मगरले जानकारी दिनुभयो। आन्तरिक पर्यटकको रोजाइमा समेत पर्न थालेको ढोरपाटनको सुन्दरता र वातावरणलाई जोगाउन फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने मगरले बताउनुभयो  

स्थानीयको सहभागीतमा ढोरपाटन उपत्यकामा पर्ने नवी, भुजी गाउँ, विमानस्थल परिसर, तिब्बतीयन क्याम्प, छेन्तुङ गुम्बा, उत्तरगङ्गा नदी किनार र पाखाथर क्षेत्रमा सरसफाइ गरिएको हो।सरसफाइ कार्यक्रमले ढोरपाटन उपत्यका क्षेत्र सफा भएको सन्देश जाने परियोजनाको विश्वास छ।

पर्यटकले लगेका फोहोरलाई जभाभावी नफाली सम्बन्धित ठाउँमा व्यवस्थापन गर्न सके पनि प्रदूषण कम हुँदै जाने उहाँको भनाइ छ। फोहोर व्यवस्थापनबारे सचेतना जगाउने उद्देश्यले उपत्यका क्षेत्रमा रहेका २२ टोलका बासिन्दा सम्मिलित ‘ढोरपाटन उपत्यका सरसफाइ समिति’ गठन गरिएको मगरले जानकारी दिनुभयो।समितिले आगामी दिनमा सरसफाइदेखि फोहोर सम्बन्धी सचेतना कार्यक्रम गर्ने छन् ।

ढोरपाटन पुग्ने पर्यटक चाहेजस्तो सेवासुविधा नपाउँदा बुर्तिवाङ बजार फर्किएर बास बस्नुपर्ने अवस्था छ। निसी र ढोरपाटन पुग्ने पर्यटकलाई सेवा दिनेगरी सो क्षेत्रमा घरवास सञ्चालनको तयारी परियोजनाले गरिरहेको छ। 

आरक्ष र पश्चिम बागलुङका पर्यटकीय क्षेत्र पुग्ने पर्यटकका लागि व्यवस्थित होटल तथा रेष्टुराँ नरहेको र सञ्चालनमा रहेका घरबासले आवश्यकता पूर्ति गर्न नसकेपछि पर्यटन प्रवर्धन परियोजनामार्फत निसी र ढोरपाटनमा ३० वटा घरबास सञ्चालनको तयारी थालिएको परियोजनाका निर्देशक अमर थापाले बताउनुभयो ।

चालु आर्थिक वर्षको ९ महिनामा ढोरपाटन शिकार आरक्षमा झण्डै १० हजार बढी पर्यटक पुगेका छन्। चालु वर्षको फागुन मसान्तसम्ममा १० हजार ७ सय पर्यटकले ढोरपाटन भ्रमण गरिसकेका छन्।तीमध्ये एक सय २० जना विदेशी पर्यटक रहेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा १५ हजार ७ सय ७० जना आन्तरिक र एक सय ६ जना विदेशी पर्यटकले ढोरपाटन घुमेका थिए।