गुणबहादुर रोका
सुलीकोट, भदौ २७ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका-७ खानेवेसी नजिकैको भीरमा गएको पहिरोले अवरुद्ध भएको आरुघाट माछाखोला सडक सञ्चालनमा आएको छ । विगत १५ दिनदेखि अवरुद्ध भएको सडक पहिरो पन्छाएर सडक सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।
धार्चे गाउँपालिका र ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाको सहकार्यमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको हो । “मेसिन ल्याएर पहिरो हटाइयो, अहिले माथिबाट पहिरो खस्ने क्रम रोकिएको छ,” उपाध्यक्ष गुरुङले भन्नुभयो । उहाँका अनुसार उक्त सडकखण्डमा बुधबारबाट ठुला सवारीसाधन पनि चल्न थालेका छन् ।
सवारीसाधन चल्न थालेपछि अहिले सहज रूपमा धार्चे गाउँवासीहरू गोरखा सदरमुकाम र अन्य बाहिर काठमाडौँ र पोखरा लगायतका ठाउँमा सवारीसाधनमा आवतजावत गर्न सहज भएको जनप्रतिनिधि पन्दुर गुरुङले जानकारी दिनुभयो ।