• १४ पुस २०८१, आइतबार

गुल्मीमा 'दियो' सिनेमा हल सञ्चालनको तयारी

blog

फाइल तस्विर ।

रमेश विश्वकर्मा

गुल्मी, भदौ २६ गते । गुल्मीमा पहिलो पटक ‘डिजिटल डल्बी साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित सिनेमा हल सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालनमा रहेको सिनेमा बन्द भएको आठ वर्षपछि ‘दियो’ सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक बद्रीप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

सञ्चालक श्रेष्ठका अनुसार यस जिल्लामा सिनेमा क्षेत्रमा अत्याधुनिक प्रविधि र सुविधालाई एकै ठाउँमा ल्याउन करिब एक करोड लगानी गरिएको छ । लक्जरी सिट सहितका एक सय ४  जना क्षमताको हल निर्माण गरिएको छ । सम्भवतः भदौको तेस्रो साता बिहीबारदेखि हल सञ्चालनमा ल्याइने तयारी थालिएको हो ।

सदरमुकाम तम्घासमा यसअघि सञ्चालनमा रहेको शिवशक्ति चलचित्र मन्दिर बन्द भएको ८ वर्षपछि पुनः निजी लगानीमा अत्याधुनिक सुविधा सहित सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । पहिले बन्द रहेको सिनेमा हलमा करिब एक करोड लगानी थप गरी अहिले अत्याधुनिक सिनेमा हल निर्माणको तयारी अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

सिनेमा हलभित्र उच्चस्तरको डिजिटल साउण्ड, अत्याधुनिक फोरके लेजर प्रोक्जेसन, सिलभर स्क्रिन, लक्जी एस सलाइडिङ चियर जडान गरिएको छ । सिनेमा हलभित्र आफ्नै चमेनागृहको समेत व्यवस्था मिलाइएको छ । दिनमा पहिलो चरणमा दुई सो देखाइनेछ भने दर्शकहरूको माग अनुसार सो बढाइनेछ । सिनेमा हलमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिनेछ ।

गुल्मी जिल्लामा वि.सं. २०४७ मा प्रथम पटक तम्घासको बाख्रेछेडामा पशुपति चलचित्र मन्दिर सञ्चालनमा ल्याइएको थियो । त्यो चलचित्र मन्दिरपछि वि.सं.२०६२ तिर बन्द भएको थियो । तम्घासको पुतली बजारमा २०५३ सालमा शिवशक्ति चलचित्र मन्दिर सञ्चालनमा ल्याइएको थियो । पछि आधुनिक प्रविधि युट्युबको प्रयोगसँगै, तत्कालीन समयमा गरिएका नेपाल बन्द, हाम हड्ताल जस्ता गतिविधिहरूका कारण त्यो चलचित्र मन्दिर २०७२ सालमा आएर बन्द भएको थियो ।

त्यसपश्चात् तम्घासमा कुनैपनि सिनेमा हल सञ्चालनमा थिएनन् । अहिले पुरानो सिनेमा हल शिवशक्ति चलचित्र मन्दिर भएको स्थानमा नयाँ प्रविधिको प्रयोगसँगै नयाँ व्यवस्थापनका साथ सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । यो सिनेमा हल सञ्चालनमा आए पाँच जनाभन्दा बढीले प्रत्यक्ष रोजगार समेत प्राप्त गर्नेछन् ।

सिनेमा हललाई दिगो रूपमा सञ्चालनका लागि आफूहरू लागिपरेको उहाँको भनाइ छ । पाँच करोडभन्दा बढी मूल्य रहेको पुरानो सिनेमा हललाई थप व्यवस्थापन गरी अत्याधुनिक बनाउन पछिल्लो पटक झण्डै एक करोड लगानी गरिएको सञ्चालक बद्रीप्रकाश श्रेष्ठले बताउनुभयो ।