• ७ जेठ २०८१, सोमबार

१४ वर्षका नौ हजार किशोरीलाई एचपिभी खोप

blog

काठमाडौं, भदौ २१ गते। सरकारले १४ वर्ष पुगेर १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गरेर “ह्युमन प्यापिलोमा भाइरस विरुद्धको (एचपीभी) खोप सञ्चालन गर्ने भएको छ। 

राष्ट्रिय खोप कार्यक्रम एचपिभी खोप डेमोस्ट्रेसन कार्यक्रम सम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतलले यस्तो जानकारी दिनुभयो। 

डा. गौतमका अनुसार १४ वर्ष पुगेर १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरेर एचपीभी खोप पाइलट प्लटिङका रूपमा सञ्चालन गर्न लागेको हो। खोप उपलब्धका आधारमा सरकारले सातै प्रदेश बाट खोप सुरु गर्न लागेको हो। 

कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेत, डडेलधुरा अस्पतालमा खोप दिन लागेको हो। 

यो कार्यक्रमको लागि सरकारले चीनबाट दुई महिना अघि २० हजार भाइल एचपिभी खोप खरिद गरेर ल्याएको थियो।हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्छ। दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाट लगाउन गौतमको आग्रह छ। 

एचपिभी भनेको के हो ?

संसारका विभिन्न देशमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। 

उहाँले भन्नुभयो, “ह्युमन प्यापिलोमा भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्छ।” 

एचपीची मुख्यत सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट  सर्छ तर यो सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला झिल्ली वा तरल पदार्थसँगको  सम्पर्क मार्फत पनि सर्ने चिकित्सक बताउँछन्।  यसको सङ्क्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गर्दछ। एचपीभीको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ। 

डा. शाहीका अनुसार नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ। 

एचपीभी खोप दुईमात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने सङ्क्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्दछ। खोप लगाउन उमेर खुलाउने आधिकारिक प्रमाण पत्र वा वा जन्म मिति खुलाउने अन्य कागजात र दोस्रो मात्राको हकमा खोप कार्ड पहिलो मात्रा लगाउँदा प्राप्त हुने कार्ड लैजान आग्रह छ। 

सरकारले यो भन्दा पहिले कास्की र चितवन जिल्लाबाट पाइलटिङका रूपमा  एचपिभी खोप सञ्चालन गरेको थियो। तर विश्वव्यापी रूपमा खोपको अभावको कारणले यो अभियान रोकिएको थियो। 

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एचपीभीखोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराउने सरकारको लक्ष्य छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।