• १९ वैशाख २०८१, बुधबार

‘चिनियाँ साहित्यको वर्तमान अवस्था’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २० गते  । नेपाली पाठकमाझ चिनियाँ साहित्य तथा संस्कृतिसम्बन्धी विशेष जानकारी दिने पुस्तक ‘चिनियाँ साहित्यको वर्तमान अवस्था’ लोकार्पण गरिएको छ । अरनिको समाजद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत छेन सोङ र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलगायतले डा. सर्वोत्तम श्रेष्ठले अनुवाद गर्नुभएको सो पुस्तक लोकार्पण गर्नुभएको हो । रेन्मङले सम्पादन गर्नुभएको पुस्तकमा समकालीन चिनियाँ साहित्यसम्बन्धी समालोचनात्मक लेखहरूको  सङ्ग्रह रहेको छ ।  

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले डा. सर्वोत्तम श्रेष्ठले चिनियाँ भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभएको पुस्तकको माध्यमबाट चीनको साहित्य, संस्कृतिबारे बुझ्ने अवसर मिलेको बताउनुभयो । 

उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि विभिन्न विभागमध्ये अनुवाद विभागसमेत रहेको र सो विभागमार्फत कम्तीमा छिमेकी राष्ट्रको साहित्य, संस्कृतिबारे लेखिएका पुस्तकको अनुवाद गरी नेपाली लेखक-पाठकमाझ ल्याउने काम जारी रहेको बताउनुभयो । संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीको अरनिको पुस्तकलाई चिनियाँ भाषामा अनुवाद गर्ने योजना रहेको र अन्य चिनियाँ भाषाको पुस्तक नेपाली भाषामा अुनवाद गर्न डा. सर्वोत्तम श्रेष्ठलाई प्रतिष्ठानसँग सहकार्य गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

नेपालका लागि चीनका राजदूत छेन सोङले रेसम मार्गमार्फत  नेपालसँग चीनको व्यापारिक सम्बन्ध स्थापना भएको लामो इतिहास रहेकोमा अब दुई देशको साहित्य, संस्कृतिमार्फत पनि सम्बन्ध बलियो बनाउने अवसर रहेको बताउनुभयो । उहाँले विगत केही वर्षदेखि नेपाली र चिनियाँ साहित्यकारबिच साहित्यिक र सांस्कृतिक भ्रमण पनि जारी रहेको र अरनिको समाजले यसअघि पनि चिनियाँ साहित्यको अनुवादसहित प्रकाशित भइसकेकाले साहित्यिक क्षेत्रबाट नेपाल र चीनबिचको सम्बन्ध नजिक बन्दै गएको स्पष्ट पार्नुभयो । 

अरनिको समाजका कार्यवाहक अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले योसहित आधा दर्जन चिनियाँ भाषाको पुस्तकको नेपाली भाषामा अनुवाद गरिसक्नुभएको छ । साहित्यकार ÷समालोचकद्वय अगिव बनेपाली र बच्चु भट्टराईले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।