• ७ असार २०८२, शनिबार

बहानन्दे–दोभान सडक कालोपत्रे गर्न सुरु

blog

कालोपत्रे गर्न सुरु गरिएको बहानन्दे–दोभान सडक । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असार ७ गते ।
ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्न सुरु गरिएको छ । फुङ्लिङ नगरपालिकास्थित मेची राजमार्गको दोखु, बहानन्देदेखि मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान जोड्ने सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।

सडकको ट्रयाक निर्माण भएको करिव अढाइ दशकपछि स्तरवृद्धि अर्थात कालोपत्रे गर्न सुरु गरिएको हो । बहानन्देदेखि दोभानको तमोर नदी पुलसम्मको ९.८ किलोमिटर दूरीभित्र सडक कालोपत्रेको काम अहिले धमाधम गरिँदै आएको छ । निर्माणको जिम्मा पाएको एपेक्स कन्स्ट्रक्सन प्रालिले कालोपत्रेको काम गरिरहेको हो ।

निर्माण कम्पनीका सम्पर्क निर्देशक अनिलकुमार चौधरीका अनुसार चालु आर्थिक वर्षभित्र बहानन्देदेखि सिकारी डाँडासम्म ४.५ किलोमिटर सडक कालोपत्रे हुने छ । चालु आवभित्रै अर्थात असार मसान्तभित्र साढे चार किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न हुने चौधरीले बताउनुभयो । उहाँका अनुसार काम गर्नलाई बजेट प्रयाप्त भएकाले तोकिएको समयभित्रै सडक कालोपत्रे भइसक्ने छ ।

हाल सडक कालोपत्रेको काममा निर्माण कम्पनीमा आबद्ध कर्मचारी तथा अन्य जनशक्ति ४० जना र कालोपत्रेको काम मात्र गर्ने २० जना मजदुर संलग्न रहेको चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कालोपत्रेका लागि आवश्यक सामग्री तथा उपकरण पर्याप्त उपलब्ध रहेका छन् । अहिले सडक कालोपत्रे गर्ने काम पनि तीव्र रूपमा भइरहेको छ ।  

यता चालु आवको काम सम्पन्न गरेर आगामी नयाँ आर्थिक वर्षमा गर्नुपर्ने कामलाई निरन्तर अघि बढाउने निर्माण कम्पनीको तयारी रहेको चौधरीले बताउनुभयो । बर्खायाम भएकाले मौसमलाई दृष्टिगत गरी बाँकी कामलाई अगाडि बढाइने उहाँको भनाइ छ । उहाँका अनुसार कामलाई निरन्तरता दिने र आगामी कात्तिक मसान्तभित्र दोभानसम्म नै सडक कालोपत्रे गरी सक्ने कम्पनीको योजना रहेको छ ।

यसअघि गत माघ महिनामै उक्त सडक कालोपत्रे गर्नेगरी कामलाई तीब्रता दिइएको थियो । सो समयमा बजेट अभाव भएपछि निर्माण कम्पनीले कामलाई निरन्तरता दिन सकेको थिएन । कामको प्रगति अनुसार रकम भुक्तानी नपाएपछि निर्माण कम्पनीले काममा संलग्न मजदुरसहितका जनशक्तिलाई पारिश्रमिक दिनमा समस्या आएकोभन्दै करिब फागुनयता काम रोकेको थियो ।

चालू आर्थिक वर्षको अन्त्यतिर बजेट सुनिश्चित भएपछि निर्माण कम्पनीले पुनः कालोपत्रेको काम सुरु गरेको हो । जिल्लाकै आधा भू–भाग अर्थात प्रदेश निर्वाचन क्षेत्र ‘ख’ लाई जोड्ने मुख्य सडकका रूपमा रहेको बहानन्दे–दोभान सडक कालोपत्रे गर्नलाई एपेक्स कन्स्ट्रक्सन प्रालि मैतीदेवी काठमाडौँले कुल ३३ करोड ९९ लाख ४६ हजार ६२६ रुपियाँ बजेटमा काम गरिरहेको हो ।

तमोर कोरिडोर (सुभाङखोला–दोभान–ओलाङ्चुङगोला) सडक योजना र निर्माण कम्पनीबिच २०८१ फागुन मसान्त सम्ममा कालोपत्रेको काम सक्नेगरी २०७९ असार २३ गते सम्झौता भएको थियो । उक्त सम्झौताको अवधि सकिएपछि पुनः म्याद थप गरी सडक कालोपत्रेको गरिरहेको निर्माण कम्पनीले जनाएको छ । कम्पनीका सम्पर्क निर्देशक चौधरीका अनुसार हालसम्म समग्र सडक निर्माणको भौतिक प्रगति ७५ रहेको छ । त्यस्तै सम्झौताअनुसार कुल बजेटको ७१ प्रतिशत रकम कम्पनीले भुक्तानी लिएको उहाँले जानकारी दिनुभयो ।