काठमाडौँ, असार ७ गते । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अच्यूतप्रसाद मैनालीले बेरुजु फर्छ्योट गरी वित्तीय अनुशासन कायम गर्ने कर्मचारी र संस्थालाई पुरस्कारको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । त्यसोगर्दा मुलुकमा सुशासन कायम हुने उहाँको बुझाइ छ ।
गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ मा बोल्नुहुँदै उहाँले भन्नुभयो, “मुलुकमा वित्तीय अनुशासन नहुँदा सुशासन कायम हुन सकेको छैन, वित्तीय अनुशासन कायम गर्ने संघ संस्थालाई, व्यक्तिलाई सरकारले पुरस्कृत गर्नुपर्छ ।’’ मुलुकमा वित्तीय अनुशासन नहुँदा मुलुक आर्थिक समृद्धिमा जान नसकेको उहाँले चर्चा गर्नुभयो ।
बेरुजु फर्छ्योट समितिका अध्यक्षसमेत रहनुभएका सांसद मैनालीले सरकारले सञ्चालन गर्दै आएको आयोजना र कार्यक्रममा वित्तीय अनुशासन कायम हुन नसकेको छैन । समयमा आयोजना सम्पन्न हुन नसक्नु, गुणस्तरीय संरचना निर्माण हुन नसक्नुका कारण वित्तीय अनुशासन नभएरै हो उहाँले भन्नुभयो ।
‘‘जनताको घरआङ्गनमा सिंहदरबार पुर्याउने बाचा गरेका छौं, त्यसका लागि सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने सबै ऐनहरू समयमा संसदबाट निर्माण भएर कार्यान्वयनमा भइसक्नुपर्छ । त्यसो भएमा सङ्घीयताको सफलता देखिनेछ ।,’’ उहाँले भन्नुभयो, “यो संविधान एकदम लचिलो संविधान हो, यसको पूर्ण कार्यान्वयन गर्न सकेमा धेरै अधिकार सुनिश्चित हुने देखिन्छ । त्यसका लागि सबै ऐनहरु निर्माण भएर कार्यान्वयनमा लैजानुपर्छ ।”
‘‘संसद जनताको सर्वोच्च निकाय हो, तर राजनीतिक आग्रह पूर्वाग्रहका कारण जनताका सरोकारका विषयमा धेरै छलफल र बहस हुन पाएको छैन, परिपक्व संसद हुन सकेको छैन । अनेक कारण देखाएर संसद बैठक अवरोध गर्ने गरिन्छ ।,’’ सांसद मैनालीले भन्नुभयो, “जनताको सरोकारका विषयमा सबै सांसदहरु जिम्मेवार हुन सक्नुपर्छ । देश र जनताको मुद्दामा खेलाँची गरिनुहुन्न ।”
‘‘अहिले संवैधानिक आयोगप्रति पनि प्रश्न उठाउने काम भइरहेको छ, यस्तो गर्नु भनेको राज्यलाई असफल बनाउने प्रपञ्च हो । हरेकको आफ्नो दृष्टिकोण हुनसक्छ तर प्रतिशोध साँध्ने नाममा संसद अवरोध गर्नु गलत हो ।,’’ सांसद मैनालीले थप्नुभयो, “शङ्काको आधारमा कसैमाथि हिलो छ्याप्ने काम गर्नुहुन्न, संवैधानिक आयोगलाई छानबिन गर्न दिनुपर्छ । दोषी कायम भएमा कानुन अनुसार कारबाही हुनैपर्छ ।”
अर्को प्रसङ्गमा सांसद मैनालीले बारा जिल्ला धार्मिक तथा ऐतिहासिक हिसाबले महत्त्वपूर्ण जिल्ला भएको बताउनुभयो । सिम्रौनगढ, गढिमाई झरोखर पोखरी लगायतको क्षेत्र महत्त्वपूर्ण रहेको भन्दै उहाँले पर्यटकीय हिसाबले पनि यी ठाउँको स्तरोन्नति गर्न आवश्यक रहेको बताउनुभयो । आफूले त्यसका लागि सक्दो प्रयास गरिरहेको उहाँले चर्चा गर्नुभयो । यस क्षेत्रको पर्यटकीय विकास गर्न सके यहाँको आर्थिक स्तरमा पनि सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
निजगढ अन्तर्राष्ट्रिय विमानको भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न सके बारा जिल्लाको स्तरमा अझ परिवर्तन आउने उहाँको भनाइ छ । तर विभिन्न कारणले निजगढ विमानस्थलको काम सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । विमानस्थल निर्माणको काम सम्पन्न गर्दा बारा जिल्लालाई मात्र फाइदा पुग्नुभन्दा देशलाई नै आर्थिक फाइदा पुग्ने उहाँको भनाइ छ ।
प्रस्तुत छ प्रतिनिधिसभा सदस्य अच्यूतप्रसाद मैनालीसँग ‘सांसदलाई सवाल’ मा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी, प्राविधिकतर्फ मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो संवाद :