• ७ असार २०८२, शनिबार

विपत् व्यवस्थापनको तयारी गर्न निर्देशन

blog

रानी समाचारदाता

विराटनगर, असार ७ गते  ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवीय लापर्बाहीका कारण मनसुनजन्य विपत्तिको जोखिम दिनप्रतिदिन बढिरहेको बताउनुभएको छ । शुव्रmबार विराटनगरमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ विषयक संवाद कार्यव्रmमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार निर्माणमा वातावरणीय मूल्याङ्कन नहुँदा विपत्तिको रूप लिने गरेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “विकासका नाममा वातावरणीय सन्तुलन तोड्दै जलवायु परिवर्तनलाई अझ चर्को बनाइरहेका छौँ । यदि अहिले पनि गम्भीरतापूर्वक तयारी नगरेमा केही वर्षपछि विपत्तिलाई नियन्त्रण गर्न सक्ने अवस्था रहँदैन ।”

मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कोशी प्रदेशका सबै जिल्लामा प्रभावकारी विपत् व्यवस्थापनको तयारी गर्न निर्देशनसमेत दिनुभयो । उहाँले मानवीय, भौतिक तथा आर्थिक क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभएको छ । 

कार्यव्रmममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशले पाँचवर्षीय विपत् व्यवस्थापन रणनीति कार्ययोजना अनुसार जोखिम विश्लेषण र संवेदनशील बस्तीको पहिचान गर्दै आएको बताउनुभयो । अति जोखिममा रहेका बस्तीको स्थानान्तरणको तयारी पनि भइरहेको मन्त्री भण्डारीको भनाइ छ । 

सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच सहकार्य गरी विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउने योजना रहेको उहाँको भनाइ छ । कार्यव्रmममा विभिन्न विषयमा विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले ‘२०८२ सालको मनसुन प्रक्षेपण’, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी गोमा चेम्जोङले ‘सङ्घीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ र कोशी प्रदेशका विज्ञ रामकुमार दाहाल तथा यसप्रसाद सुब्बाले ‘प्रदेशस्तरीय मनसुन पूर्वतयारी र प्रतिकार्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।