• ७ असार २०८२, शनिबार

कालीगण्डकी काेरिडोरमा निरन्तर पहिरो, २४ घण्टादेखि सडक अवरुद्ध

blog

काेरिडोमा गएको पहिरो । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), असार ७ गते ।
कालीगण्डकी काेरिडोरमा निरन्तर पहिरो झरेका कारण २४ घण्टादेखि सडक अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

शुक्रबार सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउनका लागि एक्साभेटर तयारी अवस्थामा रहे पनि सडक माथिबाट ढुङगाहरू खसिराखेका कारण सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।  सदरमुकाम तम्घासदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा हिँडेका हीरा कुँवर, टोपलाल अर्याललगायत यात्रुहरू सोही पहिरोमा रोकिएर बसेका छन् ।

सडक खुलाउन समय लाग्ने भएकाले साना सवारीहरूले हर्मिचौरमाथि देउराली अर्वेनीकोट हुँदै झर्न थालेका छन् । सडक अवरुद्ध हुँदा पुर्तिघाटदेखि बुटवल र बुटवलदेखि पुर्तिघाट आएका सवारीहरू अलपत्र परेका छन् । यसका साथै हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने यात्रुहरू पनि अलपत्र परेका छन् ।

हरेक वर्ष उक्त स्थानमा पहिरो खसेर समस्या हुँदै आएको छ । यसैबिच सत्यवती गाउँपालिका ७ चोरकाटेमा गएको पहिरो हटाएर सवारी सुचारु भएको र चन्द्रकोट ७ सिस्नेभिरमा गएको पहिरो हटाइ एकतर्फी सवारी सूचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।