• २६ वैशाख २०८१, बुधबार

हास्यव्यङ्ग्यको झटारो ‘८० सालको गाईजात्रा’

blog

काठमाडौँ, भदौ १८ गते । काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा देखाइएको  ‘८० सालको गाईजात्रा’ मा सरकार, सदन, सडकदेखि समाजसम्मका व्यक्तिलाई गाईजात्राको तगारोमा हालिएको छ । नेतादेखि अभिनेतासम्म, मन्त्रीदेखि कर्मचारीसम्म, सर्वसाधारणको घरदेखि शीतल निवाससम्मको गाईजात्रे झटारोलाई कलाकारले मुख्य विषय बनाउनुभएको छ । हलभित्र व्यङ्ग्यको झटारो यति सुन्न पाइन्छ कि कार्यव्रmम सकिएपछि पनि दर्शकलाई कार्यक्रमस्थल छाडेर आउन मन लाग्दैन ।

कलाकार मनोज गजुरेल यस पटक स्वर्गीय मदन भण्डारी र अमेरिकी धनाढ्य एलन मस्कका रूपमा प्रस्तुत हुनुभएको छ । दुई जनाको प्रहसनमा गजुरेल एलियन मस्क बन्नुभएको थियो भने कलाकार प्रभात लामा महावीर पुनको भूमिकामा देखिनुभएको थियो । 

कार्यव्रmममा ‘बिपी कोइरालाको स्वर्गालय’ शीर्षकको प्रहसनमा बिपी कोइरालासँग भण्डारीको स्वर्गको भेट, नेपाली राजनीतिदेखि भ्रष्टाचार, समाजका चर्चित घटना र दरबार हत्याकाण्डका विषयलाई व्यङ्ग्यात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । त्यस्तै बिपी कोइरालाको रूपमा चव्रm दुवाडी देखिनुभएको छ ।  उहाँलाई बिपीको भूमिका धेरै नै सुहाएको छ । गजुरेल र दुवाडीको करिब २५ मिनेटको प्रहसनमा  सुन तस्कर, गोकुल बाँस्कोटादेखि समाजवादको सपना देखाउने कम्युनिस्टलाई नजानिँदो ढङ्गले झटारो हानिएको छ । 

कार्यव्रmममा मेक्सम गौडेललाई छवि लामिछानेदेखि सुन्दर खनाललाई चिप्लाउने अङ्कलको गेटअप औधी सुहाएको छ । दुवैको प्रहसनले दर्शकलाई पेट मिची मिची हाँस्न बाध्य बनाउँछ ।  खनाल र गौडेलको प्रस्तुतिमा कार्यव्रmम ‘द चिप्लेटी सो’ मा नेताको पढाइका विषयदेखि युवाको विदेश मोह र सरकारी कार्यालयमा कर्मचारीको हाजिरीसम्म समावेश छन् ।

सुबोध गौतम र सीता न्यौपाने स्ट्यान्ड अफ कमेडीले पनि दर्शकलाई केही समय हसाउने काम गर्छ । गौतम राजनीतिक नेतालाई कमेडीको विषय बनाएर अनेकन झटारो हान्ने काम गर्नुहुन्छ भने न्यौपाने आफन्तको विषयमा दर्शकदीर्घसँग नै अनेकन तरिकाका व्यङ्ग्यात्मक किसिमका गफगाफ गरेर दर्शक हँसाउनुहुन्छ । कार्यव्रmममा शैलेन्द्र सिम्खडाको कविता भन्ने शैली केही भिन्न छ । जसले धेरैलाई रमाइलोतिर दौडाउँछ । काजु, दाजु, भाउजूदेखि नायक, नायिकासम्मलाई उहाँका कविताले छाड्दैन । कार्यव्रmमको सुरुवातमा नै रुबिना अधिकारीको धमाकेदार नृत्यले दर्शकको मनमा कौतुहल जगाउने काम गर्छ । त्यस्तै गायक टीका भण्डारीको प्यारोडी गीतले पनि दर्शकलाई केही मिनेट भए पनि सिटमा नै मच्चिन बाध्य तुल्याउँछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराजा ज्ञानेन्द्र शाह, गोकुल बाँस्कोटासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत थुप्रै व्यक्तिको सशरीर मनोजले हुबहु नक्कल गरिसक्नुभएको छ । गजुरेलले यस पटक पुराना र नयाँ कलाकारसहित सुरु गर्नुभएको ‘८० सालको गाईजात्रा’ ले सबै वर्गका दर्शकलाई करिब दुई घण्टा हलभित्र पेट दुख्ने गरी हँसाउँछ । अन्य कलाकार  शैलेन्द्र सिम्खडा, सुबोध गौतम, गायक टीका भण्डारी, कमेडी च्याम्पियनका प्रतियोगी सुन्दर खनाल, म्याक्सम गौडेल, हास्य कलाकार प्रभात लामा, सीता न्यौपाने र रुबिना अधिकारीले पनि दर्शकलाई हँसाउने कुरामा कुनै कसर छाड्नुभएको छैन ।