स्याङ्जा समाचारदाता
स्याङ्जा, चैत १ गते । भूवैज्ञानिक र हिमनदीविज्ञका रूपमा परिचित डा. धनञ्जय रेग्मीले यही फागुन २१ गते भएको निर्वाचनबाट पहिलो पटकमै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको छ । पुतलीबजार नगरपालिका–५ मा ५२ वर्ष पहिला जन्मिएका डा. रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नं. १ बाट नेपाली कांग्रेस र नेकपा (एमाले) को बर्सौदेखिको एकछत्र राजलाई तोड्दै पहिलो पटकमा सङ्घीय संसद् बन्नुभएको हो । विगतमा नेपाली कांग्रेसबाट राजनीति गर्नुभएका डा. रेग्मीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् रास्वपा प्रवेश गरेर छोटो समयमै राजनीतिमा उदाउनुभएको हो ।
डा. रेग्मीले २९ हजार ७१ मत ल्याउँदै आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गर्नुभएको थियो । सन् २०२० बाट २०२४ सम्म चार वर्ष पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बनेका रेग्मीले सन् २००६ मा जापानको होक्काइडो विश्वविद्यालयबाट पर्वतीय, वातावरणीय भूविज्ञान र भूपरिवेशमा विद्यावारिधि गर्नुभएको हो । विद्यावारिधिपश्चात् डा. रेग्मीले जापानको साप्पोरोमा रहेको ग्लोबल ल्यान्ड प्रोजेक्ट, नोडल कार्यालयका लागि पोस्ट डक्टोरल रिसर्च फेलोका रूपमा काम गर्नुभएको थियो ।
त्यसै गरी हौरी फेलोका रूपमा संयुक्त राज्य अमेरिकाको एरिजोना विश्वविद्यालयमा डेन्ड्रोक्रोनोलोजिकल अनुसन्धानमा पोस्ट डक्टोरल फेलोसिप पनि पूरा गर्नुभएको उहाँले बताउनुभयो । पछिल्लो समयमा तालबाट जलविद्युत् उत्पादन गरेर तालको पानी घटाउने नयाँ प्रविधिमा क्रियाशील रहेका रेग्मीले निर्वाचनका क्रममा जनताका माझमा देखेका समस्या पूरा गर्न आफू जुट्ने बताउनुभयो । गाउँबस्तीमा खानेपानी, सडक, बिजुली, मानव–वन्यजन्तु द्वन्द्वलगायतका धेरै समस्या देखिएको बताउँदै रेग्मीले जनताले माग गरेका योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
आफ्नो क्षेत्रका ५२ वडा र एक लाख ३० हजार ८८६ जनताको मात्र नभई देशका हरेक नागरिकको हितमा काम गर्ने उहाँको वचनबद्धता थियो । देशमा केही गरौँ भन्ने उद्देश्यले राजनीतिमा होमिएको बताउँदै रेग्मीले स्रोतसाधनको खोजी गरेर कृषि, शिक्षा र स्वास्थ्यको विकासमा काम गर्ने बताउनुभयो ।
पर्यटन बोर्डमा काम गर्दा मुलुकको पर्यटन विकासमा धेरै काम गरेको दाबी गर्दै रेग्मीले बाँझो जग्गा राख्न नपाउने गरी भूमी बैङ्क बनाउनुपर्ने योजना सुनाउनुभयो ।
कृषि कर्म गर्नेको सम्मान गर्नुपर्ने बताउँदै उहाँले मलको अभाव अन्त्य गर्नुपर्ने र गाउँ गाउँमा रहेको बेत बाँसलाई प्रयोग गरेर आयआर्जनमा जोड्न धागो उद्योग बनाउने आफ्नो चाहना रहेको योजना पनि उहाँले सुनाउनुभयो ।