• १ चैत २०८२, आइतबार

खाना पकाउने ग्यासको अभाव

सहज आपूर्ति व्यवस्थापन गर्न प्रयास गरिँदै

blog

रमेश पौडेल

पोखरा, चैत १ गते । खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारवाला उद्योग व्यवसायी एवं उपभोक्तामा छलफल चलाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा आयोजित समन्वयात्मक बैठकमा व्यवसायीलाई कालोबजारी नगर्न आग्रह गरियो । सो बैठकमा बोल्दै जिल्ला प्रमुख अधिकारी रुद्रादेवी शर्माले ग्यास तथा पेट्रोलियम पदार्थको वितरण प्रणालीलाई सहज बनाउने, अनावश्यक भण्डारण नगर्ने, खाद्यान्नलगायत अन्य वस्तुको मूल्य वृद्धि हुन नदिने, भाडामा बस्ने विद्यार्थी र ज्येष्ठ नागरिकलाई सहज आपूर्ति व्यवस्था मिलाउन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय प्रशासनको निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति नरहेको बताउँदै सहकार्यका लागि आग्रह पनि गर्नुभयो ।

बैठकमा बोल्दै ग्यास विक्रेता महासङ्घका प्रतिनिधि मेघराज पौडेलले कास्की गण्डकी प्रदेशका अन्य जिल्लामा पनि आपूर्ति व्यवस्था मिलाउनुपर्ने भएकाले व्यवसायीले सरकारको निर्देशन अनुरूप वितरण गरेको बताउनुभयो । उहाँले यस क्षेत्रबाट दैनिक आठ हजार सिलिन्डर ग्यास वितरण हुँदै आएकोमा आइतबारबाट लागु हुने गरी सात केजी बराबरको आधा ग्यास वितरण हुने जानकारी दिनुभयो ।

त्यसै गरी नेपाल एलपी ग्यास महासङ्घका उपाध्यक्ष धर्मराज बस्यौलाले पोखरा पर्यटकीय क्षेत्र भएकाले पर्यटन उद्योगलाई प्रभाव नपर्ने गरी आमउपभोक्तालाई विद्युतीय चुलो प्रयोग गरी राष्ट्रिय पुँजी बचाउन सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले कास्कीमा मात्र दुई सय मेट्रिन बढी ग्यास भण्डारण रहेको बताउनुभयो । कास्कीमा पेट्रोलियम पदार्थमा डिजेलका लागि झन्डै ४५ दिन र पेट्रोलका लागि १० दिनसम्मको भण्डारण रहेको आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख सतीशराज ओझाले जानकारी दिनुभयो । 

बैठकले जिल्लामा रहेका ग्यास उद्योग तथा विक्रेताले आफूलाई प्राप्त भएको र वितरण गरिएको ग्यासको दैनिक अभिलेख राखी प्रत्येक दिन जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । ग्यासको अनावश्यक सञ्चितीकरण नगर्ने तथा प्रमाणपत्र प्राप्त विक्रेताले मात्र बिक्रीवितरण गर्ने व्यवस्था कडाइका साथ लागू गरिने पनि बैठकमा जनाइएको छ । 

अनावश्यक भण्डारण नगर्न आग्रह

हाम्रा लमजुङ समाचारदाताका अनुसार जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले अत्यन्तै जरुरी सूचना जारी गर्दै जिल्लामा हालसम्म पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति सहज रूपमा भइरहेकाले कृत्रिम अभाव सिर्जना हुने गरी भण्डारण नगर्न अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार केही व्यक्ति तथा खुद्रा विक्रेताले बढी मूल्यमा बिक्री गर्ने वा सञ्चय गर्ने उद्देश्यले आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ र ग्यास भण्डारण गरी लुकाएर राखेको भन्ने गुनासो प्राप्त भएपछि प्रशासनले अनावश्यक भण्डारण नगर्न चेतावनी दिएको हो । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर ग्यास पठाउनसमेत सुरु गरिसकेको प्रशासनले जनाएको छ । प्रशासनको सूचनाको उल्लङ्घन गरी पेट्रोलियम पदार्थ र ग्यासको कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गरेको पाइएमा कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम कडा कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खाना पकाउने ग्यासको अभाव  

हाम्रा सुलीकोट समाचारदाताका अनुसार गोरखामा पछिल्ला केही दिनयता खाना पकाउने ग्यासको अभाव देखिएको छ । गोरखा सदरमुकाममा ग्यास सिलिन्डर सहज रूपमा नपाएपछि सर्वसाधरण उपभोक्ता समस्यामा परेका  छन् । दैनिक उपभोगका लागि ग्यास आवश्यक हुने भएकाले यहाँका प्रत्येक घरधुरीदेखि होटेल व्यवसायीसमेत प्रभावित भएको होटेल व्यवसायी सङ्घ गोरखाका सचिव विष्णुप्रसाद तिमिल्सेनाले बताउनुभयो । 

गोरखा सदरमुकाम तथा मुख्य बजार आसपासका क्षेत्रमा रहेका ग्यास डिपो र पसलमा ग्यास सकिएको भन्दै उपभोक्तालाई फकाइने गरिएको गोरखा सदरमुकाममा कोठा भाडा गरी बस्ने ग्याल्बो गुरुङको भनाइ छ । बजारका कतिपय स्थानमा सीमित मात्रामा ग्यास उपलब्ध भए पनि उपभोक्ताले घन्टाँै लाइन बस्दासमेत रित्तो हात फर्कनु पर्दा विद्यालय जाने बालबालिकाका लागि साह्रै नै समस्या हुँदै गएको गोरखा नगरपालिका– ८ का स्थानीय रेबिका नेपालीले गुनासो गर्नुभयो ।  तीन दिनदेखि दाउरामा खाना पकाउन बाध्य भएको उहाँले बताउनुभयो । गोरखा बजारका ग्यास व्यवसायी हरि श्रेष्ठले ढुवानी तथा आपूर्तिमा ढिलाइ भएका कारण समस्या भएको बताउनुभएको छ । 

जिल्ला प्रशासन कार्यालय गोरखाले भने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । ग्यास उद्योग र वितरकसँग समन्वय गरी छिट्टै आपूर्ति सहज बनाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।