• १ चैत २०८२, आइतबार

‘जनताको पक्षमा दृढ भएर उभिन आवश्यक’

blog

बुटवल समाचारदाता

बुटवल,चैत १ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले दृढतापूर्वक जनताको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्गठनलाई सक्रिय रूपमा  परिचालन गर्दै निरन्तर समीक्षा र मूल्याङ्कनका साथ जनताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभएको हो ।

मुख्यमन्त्री आचार्यले निर्वाचन परिणामबारे गहिरो समीक्षा र मूल्याङ्कन आवश्यक रहेको उल्लेख गर्दै सुक्ष्म रूपमा विश्लेषण गरी आगामी दिनका लागि ठोस योजना बनाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो परिस्थिति यसै आएको होइन । हामी सबैले यसलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ । भदौ २३ र २४ मा भएका आन्दोलन स्वस्फूर्त रूपमा भएको थिएन  ।  त्यसबारे स्पष्ट रूपमा बुझ्न आवश्यक छ ।” उहाँले राजनीतिक रूपमा कार्यकर्तालाई प्रशिक्षित र सङ्गठित गर्ने कामलाई निरन्तर  गरिरहनुपर्ने, सङ्गठनलाई अझ सुदृढ बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा बनेको सरकारले महत्वपूर्ण काम गरेको उहाँको दाबी थियो । उहाँले भन्नुभयो, “विकासनिर्माणका धेरै काम  एमाले नेतृत्वकै सरकारले गरेको छ । घर घरमा सडक र यातायातको पहुँच विस्तार गर्ने काम पनि एमालेकै नेतृत्वमा भएको हो । यो यथार्थलाई कसैले नकार्न सक्दैन ।” मुख्यमन्त्री आचार्यले  सिँचाइ, सडक पूर्वाधार,  शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो ।