• १२ साउन २०८१, शनिबार

हेल्पलाइन ११६६ मा सेवा लिनेको सङ्ख्या बढ्दै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १७ गते । आत्महत्या रोकथामको लागि सञ्चालन गर्दैआएको हेल्पलाइन ११६६ मा सेवा लिनेको सङ्ख्या बढ्दैगएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरकारले आत्महत्याको सोच आए, आफूलाई गाह्रो भएमा निःशुल्क फोन गर्न मिल्ने हेल्पलाइनमा सेवा लिनेको सङ्ख्या बढ्दैगएको हो ।   

सरकारले विश्व स्वास्थ्य सङ्गठन र  टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल पाटनमा २०२१ मे बाट यो हेल्पलाइन सञ्चालन गर्दैआएको छ ।

कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, हाम्रो वरिपरि भएको कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको प्रयास गर्दागर्दैको अवस्थाबाट उनीहरूलाई बचाउने उद्देश्यले सरकारले उक्त हेल्पलाइन सुरु गरेको हो । 

टिपिओ नेपालका परामर्शदाता पार्वती श्रेष्ठका अनुसार हेल्पलाइन अहिलेसम्म १३ हजार ६ जनाले सेवा लिएका छन् । सुरुका महिनामा मासिक २६० जनाले सेवा लिएका थिए त्यस्तै, २०२२ मा ५५० जनाले महिनामा सेवा दिएको तथ्याङ्क छ । २०२३ मा सुरु भएदेखि अहिलेसम्म महिनामा ६२४ जनाले सेवा लिने गरेका छन् ।  

हेल्पलाइनमा मानसिक स्वास्थ्य समस्या भएर फोन गर्नेहरूको सङ्ख्या तीन हजार २१३, आत्महत्याको सोच आएमा ११ सय ३१ वटा कल आएको छ । ४६० जनाले विभिन्न समयमा आत्महत्यासमबन्धि सोच आएको र विभिन्न समयमा आत्महत्याको प्रयास गर्नेगरेको कलमार्फत सुनाएका थिए ।

आत्महत्या प्रयास गर्दागर्दैको अवस्थामा फोन आएर ११६६ ले अहिलेसम्म १७ जनाको जीवन जोगाएको श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म नेपाल टेलिकमको नम्बर मात्रै यो सेवा उपलब्ध भएकोमा आजबाट एनसेलले पनि यो सेवा उपलब्ध गराउने निर्णय गरेको छ । 

मनो रोग चिकित्सक डा.वासुदेव कार्कीले पछिल्लो समय आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दैगएको जानकारी दिनुभयो । डा. कार्कीले मानसिक समस्याबारे खुलेर संवाद गरेमा, परामर्शमा रहन सकेमा आत्महत्या रोक्न सकिने जिकिर गर्नुभयो । 

कार्यक्रममा अस्पताल निर्देशक डा.अनन्त अधिकारीले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यबारे जनतालाई चेतना जगाउन आमसञ्चार माध्यमको भूमिका ठुलो रहेको बताउनुभयो । 

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एनसीडि तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणीन्द्रप्रसाद बरालले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताउनुभयो ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा छ हजार ९९३ जनाले आत्महत्या गरेका छन् । विश्वमा बर्सेनि सात लाख मानिले आत्महत्याको कारणले ज्यान गुमाउने गर्दछन् । प्रत्येक ४० सेकेण्डमा एक व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।