• १४ मंसिर २०८१, शुक्रबार

जनताप्रति उत्तरदायी भएन भने सरकारको अपजसको भारी कांग्रेसले बोक्दैन : नैनसिंह महर

blog

नवलपुर, भदौ १७ गते । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताउनुभएको छ । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिनुभएको हो ।

“सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताको घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट ग्रसित किसानका गोठमा भ्याक्सिन पुर्‍याउने तथा महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । राष्ट्रिय सरकारले चट्टानी अडान राख्नुपर्छ नत्र जनता आफैंले सरकारको विकल्प खोज्ने छन् । कांग्रेस सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा अब छैन”। महरले भन्नुभयो । उहाँले सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै जनतालाई सत्यताबारे प्रस्ट पार्न सक्नुपर्ने समेत बताउनुभएको छ ।

कांग्रेस जनताको पार्टी भएकाले जनभावना विपरीतका कुनै कार्य स्वीकार्य नहुने उहाँले बताउनुभयो । “कांग्रेस जनताको पार्टी हो । सधैँ जनताकै साथमा छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसके यसको विकल्प खोज्न हामी बाध्य हुनेछौं । सरकारलाई विस्थापित गर्नुपर्ने अवस्था आउन सक्छ । तर हाम्रो चाहना सरकार जनताप्रति जिम्मेवार बनोस्, सुध्रियोस् भन्ने छ,” उहाँले भन्नुभयो ।

“सामाजिक रुपान्तरणमा पनि मुलुकमा कांग्रेसले मुख्य भूमिका निर्वाह गर्दै आएको महरको दाबी छ । “शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछूत अन्त्य, भूमिसुधार लागु, समावेशी सिद्धान्त अनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोग जस्ता आयोगको गठनमा कांग्रेसको भूमिका छ,” उहाँले भन्नुभयो, “पछाडि पारिका वर्गका लागि संवैधानिक व्यवस्था गरिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर छ । अब संविधानतः सरकार त्यसतर्फ केन्द्रित हुनुपर्छ ।”

कांग्रेस जिल्ला समिति नवलपुरले आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछाने लगायतले पनि सरकार सच्चिनुपर्ने धारणा राख्नुभयो ।