• ८ साउन २०८१, मङ्गलबार

सहर पस्नेलाई रोकेन गाउँको विकासले

blog

बाबुराम शर्मा

दोलखा, भदौ १२ गते । मुलुकले सङ्घीय शासन प्रणाली आत्मसात् गरेको एक दशक भइसकेको छ । सङ्घीय शासन प्रणाली अनुरूपको संविधान र संरचना निर्माण भएको पनि आठ वर्ष पुग्नै लागेको छ । प्रदेश र स्थानीय तहमार्फत स्रोत, साधन र अधिकार गाउँसम्म पुगेको छ । 

यसअघिका कुनै पनि शासन प्रणालीको तुलनामा सङ्घीय शासन प्रणालीले तल्लो तहसम्म धेरै स्रोत, साधन र अधिकार पु-याएको छ । यद्यपि जनताका आकाङ्क्षा र सपना पूरा भएका छैनन् तर पनि वडा, गाउँ र टोलमा सडक, पदमार्ग, सिँचाइ, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका पूर्वाधार निर्माण हुने क्रम बढेको छ । सेवा सुविधामा जनताको पहुँच बढेको छ तर पनि गाउँ छोड्नेको सङ्ख्या भने बढिरहेको छ । 

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा नगर/गाउँपालिका र वडाका केन्द्र बनेका छन् र ती केन्द्र नयाँ बजारका रूपमा विकास भइरहेका छन् । भूकम्पपश्चात् गाउँ गाउँमा पक्की निजी आवास र सरकारी भवन बनेका छन् । परैबाट देखिने चिटिक्क परेका विद्यालय भवन छन् । स्वास्थ्य केन्द्र र चौकीमा सुविधा बढिरहेको छ तर यी सुविधाले खासगरी युवालाई गाउँमा रोक्न सकेको छैन ।  

भीमेश्वर नगरपालिका–४, जिलुका रामजी चौलागाईंले भन्नुभयो, “आर्थिक रूपमा सक्षम बन्दै गएपछि गाउँ छाडेर सहर बसाइँसराइ गर्ने अधिक रहेको देखिएको छ । अझै सुविधा र सुखको खोजीमा गाउँबाट सहर पस्ने क्रमले सामाजिक, आर्थिक र पारिवारिक समस्या सिर्जना गरेको छ ।” 

शैलुङ गाउँपालिका–५ का नवराज खड्काका अनुसार आवश्यकताको परिपूर्ति नहुँदा ग्रामीण भेगबाट सर्वसाधारण गाउँ छाडेर सहरतर्फ बसाइँसराइ गर्ने प्रचलनले गाउँ छाडेर सहरमा बसोबास गर्नेको सङख्या पनि अधिक रहेको छ । गाउँ युवा र बालबालिकाविहीन हुने अवस्थामा पुग्न थालेका छन् भने घर खाली र खेतबारी बाँझो रहने समस्या बढ्दो क्रममा रहेको छ ।

१४ हजारले घट्यो जनसङ्ख्या

दोलखा जिल्लामा भौतिक पूर्वाधारको विकास हुने क्रम बढिरहेको भए पनि विदेश जाने र अन्यत्र बसाइँसराइ गर्ने व्रmम बढ्दो छ । समग्र जिल्लाबाट काठमाडौँलगायत क्षेत्रमा रोजगारीका लागि र बसाइँसराइ गर्ने गरेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनसङ्ख्याको विवरण अनुसार २०६८ सालमा दोलखाको जनसङ्ख्या एक लाख ८६ हजार ५५७ रहेकोमा २०७८ सालसम्म आइपुग्दा १३ हजार ७९० घटेर एक लाख ७२ हजार ७६७ रहेको छ । 

जिल्ला प्रशासन कार्यालय दोलखाको अभिलेख अनुसार २०७८ साल पुस ७ गतेदेखि अहिलेसम्म पुरुष १० हजार ७५५ र महिला आठ हजार ४२१ गरी कुल १९ हजार १७६ जनाले राहदानी बनाएका छन् । राहदानी बनाउनेमध्ये धेरैको उद्देश्य वैदेशिक रोजगारी नै हो । 

श्रम तथा रोजगार मन्त्रालयको अभिलेख अनुसार दोलखाबाट आथिक वर्ष २०७९/८० मा छ हजार ५७१ जना वैदेशिक रोजगारीमा गएकामा त्यसपछिका आवमा झन् बढेका छन् । आव २०७८/७९ मा चार हजार ९८६ र आव २०७७/७८ मा एक हजार ५१४ जना वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको साउन एक महिनामा ५५४ जना वैदेशिक रोजगारीमा गएकामा २०८० साल साउनमा  ५७० जना गएका छन् ।