• २८ वैशाख २०८२, आइतबार

फलफूल खेतीमा रमाउँदै अर्जुन

blog

बाबुराम कार्की 

वराहक्षेत्र, भदौ ११ गते । वराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले विगत चार वर्षदेखि ‘विष्ट कृषि फार्म’ खोलेर फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । नेपाल प्रहरीमा १७ वर्षे जागिरे जीवन बिताएर घर फर्किएका विष्टले गाउँमै फलफूल खेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको हो । 

वराहक्षेत्र नगरपालिकाको सदरमुकाम चक्रघट्टीमा ४० वर्षीय अर्जुन विष्टले आठ लाख खर्च गरेर चार बिघामा फलफूल खेती गर्दै आउनुभएको छ । उहाँले एक बिघा १० कट्ठामा भुइँकटहर, एक बिघा पाँच कट्ठामा बेमौसमी खरबुजा, १५ कट्ठामा केरा खेती र दुई कट्ठामा सयपत्री फूल खेती गर्दै आउनुभएको हो । 

भुइँकटहर खेतीमा पाँच लाख लगानी गरेर सुरु गरेका अर्जुनले गएको साउनदेखि बिक्री गर्न थाल्नुभएको छ । मोरिसस जातको भुइँकटहरको १६ हजार बिरुवा भारतबाट ल्याएर खेती सुरु गरेका उहाँले चार हजार पिस भुइँकटहर उत्पादन गरी तीन लाख रुपियाँमा बेच्नुभएको छ । 

भुइँकटर प्रतिगोटा १२० देखि १४० सम्म बिक्री हुँदै आएको छ । “इटहरी, विराटनगर र धरानका व्यापारीलाई आफैँले लगेर नगदमा बेच्ने गरेको छु । अझै १२ हजार भुइँकटहर बिक्री गर्ने क्रममै रहेको छ,” अर्जुनले बताउनुभयो । 

भारतको पश्चिम बङ्गालको विदाननगरबाट भुइँकटरका बिरुवा ल्याएर खेती गरेका उहाँले अहिले मासिक ५० हजार कमाइ गर्दै आउनुभएको छ । नेपालमा व्यावसायिक रूपमै भुइँकटहर खेती त्यति हुने गरेको छैन । 

भुइँकटहर रोप्नेदेखि गोड्ने र भिटामिन लगाउनेसम्म विदाननगरबाटै कामदार ल्याउने गरेको छु । एक जना कामदार ल्याउँदा दैनिक एक हजार छ सय खर्च हुन्छ । नेपालीले भुइँकटहर खेतीको काम गर्न नजान्ने हुँदा पश्चिम बङ्गालको विदाननगरबाट कामदार ल्याउनु परेको विष्टले बताउनुभयो । 

जग्गा लिजमा लिएर फलफूल खेती गर्दै आएका उहाँले केरा खेतीबाट व्यावसाय सुरु गर्नुभएको थियो । केरा खेतीसँगै खरबुजा, भुइँकटहर र मेवा खेती पनि गर्दै आउनुभएको छ । खरबुजा खेतीका लागि एक लाख ५० हजार खर्च गरेर २५ कट्ठामा लगाएका उहाँले खरबुजाबाट दुई लाख ५० हजारको आम्दानी गरिसक्नुभएको छ । बेमौसमी खरबुजा भएकाले राम्रो आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।  

फलफूल खेतीका लागि मल, सिँचाइ र घमाइलो ठाउँ आवश्यक हुन्छ । पहिला छिमेकीले यस्तो ठाउँमा पनि फलफूल खेती हुन्छ र ? भन्ने गरेका थिए तर अहिले उनीहरूका लागि अर्जुन उदाहरण बन्नुभएको छ । फलफूल खेतीयोग्य बनाउन उहाँले ४० हजारको गोबर (कम्पोस्ट मल) हालेको बताउनुभयो । स्थानीय व्यवसायी उत्सव सुवेदी भन्नुहुन्छ, “नगर क्षेत्रमै उदाहरणीय फलफूल कृषकका रूपमा अर्जुन विष्ट उदाउनुभएको छ ।” 

नेपाल सरकारले कृषिमा लगानी गर्ने भने पनि बैङ्कहरूले कृषि ऋण नदिँदा कृषक समस्यामा पर्ने गरेका छन् । अर्जुनले व्यवसाय बढाउन ऋण लिन खोज्दा ऋण नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मैले घर बनाउन, घडेरी किन्न भनेको भए मेरो ऋण स्वीकृति हुन्थ्यो होला, कृषिका लागि भनेकाले पाइनँ । बर्सेनि ३० लाखको फलफूल  उत्पादन गर्दै आए पनि १० लाखको ऋण स्वीकृत हुँदैन ।” कृषक अर्जुन विष्ट भन्नुहुन्छ, “सरकारले कृषिमा अनुदान दिँदै आए पनि त्यो प्रभावकारी छैन ।”