‘आमा, दिदी, बहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर...’
यो गीत गएपछि जेबी टुहुरे अर्थात् जीतबहादुर खड्गीको चर्चा चुलियो । उनको यो गीत कालजयी बन्यो । यो गीतले तत्कालीन पञ्चायती शासनविरुद्ध डटेर लाग्न परिवर्तन, चेतना र जगरणको राँको सल्कायो । आमा, दिदी, बहिनीहरू चुलोचौका, घाँसदाउरा, मेलापात, र पानी पँधेरामा मात्र सीमित हुनु हुँदैन अन्याय, असमानताका विरुद्ध जाग्नु पर्छ भन्ने सन्देश यो गीतले फैलायो । पञ्चहरूको जगजगी चलेका बेला यस्ता गीत उतिबेलाको रेडियो नेपालमा रेकर्ड हुँदैनथे, बजाइँदैनथे । निरङ्कुश र जहानियाँ शासनकाविरुद्ध क्रान्ति र परिवर्तनको पक्षमा होमिन प्रेरित गर्ने यस्ता गीत गाउँ, टोल र जनताका झुपडीमा लुकी लुकी गाउनु पथ्र्यो । प्रहरीले भेटे ठाउँका ठाउँ सिध्याइदिने जमाना थियो उसबेला ।
यिनै गायक जेबी टुहुरेलाई गत बुधबारको मन्त्रीपरिषद् बैठकले ‘जनगायक’को उपाधि दिने निर्णय ग¥यो । जेबी टुहुरेको २०७८ भदौ १० गते निधन भइसकेको छ । निधन भएको करिब दुई वर्षपछि सरकारले दिएको उपाधि स्वागतयोग्य छ ।
टुहुरेको जीवनयात्रा
जेबी टुहुरेको जन्म २००१ सालमा धरानको पुरानो बजारमा भएको हो । उनको चर्चित गीत ‘आमा, दिदी, बहिनी हो’को सिर्जना–सन्दर्भ पनि धरानसँग जोडिएको छ । उनको राजनीति र गायनका धेरै पाटा धरानसँगै जोडिएर आउँछन् तर उनले जीवनको छोटो समय मात्र धरानमा बिताए । उनको जीवन स्थिर भएन । बाबु व्यापारी थिए । व्यापारकै सिलसिलामा धरानबाट मोरङको लेटाङ हुँदै मधुमल्ला बसाइँ सरे । बाबुको सेखपछि टुहुरे पनि एकै ठाउँ बसेनन् । मधुमल्लाबाट विराटनगर हुँदै २०४७ सालमा काठमाडौँ आए । २०५९ सालदेखि त स्थायी रूपमै काठमाडौँ बस्न थाले । २०२१ सालमा बाबु कृष्णबहादुर खड्गीको मृत्युपछि उनले आफूलाई टुहुरो भएको महसुस गरे र नामको पछाडि ‘टुहुरे’ जोडे । अन्नततः उनी टुहुरेबाटै चिनिए ।
उनको चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले, बस्नेको मन रुँदछ’ उनकै जीवनसँग पनि मेल खान्छ । २०२६ सालतिर गाएको यो गीतले नै पहिलो पटक उनलाई चिनाएको थियो । त्यति बेला उनी जुठबहादुर खड्गीबाट जेबी टुहुरे बनिसकेका थिए । २०२६ सालअघि उनी मायाप्रेमका गीत गाउँथे । मधुमल्लास्थित घरबाट भागेर काठमाडौँ आएपछि २०१९ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराए । उनको पहिलो रेकर्डेड गीत ‘हा हा काली, हा छैन नि माली’ थियो ।
...अनि कम्युनिस्ट बने
गीत गाउन थालेपछि काठमाडौँ आउजाउ भइरह्यो । उनका गीतले उत्तिसारो चर्चा पाएका थिएनन् तर यिनै गीतको माध्यमबाट २०२४ सालमा साहित्यकार पारिजातसँग नजिक भए । त्यति बेला पारिजात, रामेश, रायन, मंजुल, अरिम लगायतले राल्फा आन्दोलन सुरु गरिसकेका थिए । यही सम्बन्धले उनलाई कम्युनिस्ट बनायो तर कम्युनिस्ट पार्टी छिन्न–भिन्न थिए । उनले २०२५ सालमा पूर्वकोशी प्रान्तीय कमिटीको सदस्यता पाए । उनलाई दधिराम आचार्यले पार्टी सदस्यता दिएका थिए । मोरङका लब प्रधान पनि कम्युनिस्ट पार्टीमा काम गर्थे । लब प्रधानले नै लेखेर दिएको गीत ‘बसाइँ हिँड्नेको ताँतीले’ गाएपछि उनले त्यसपछि कहिल्यै मायाप्रेमका गीत गाएनन् । टुहुरेलाई पहिलो पटक यही गीतले गायकका रूपमा चिनायो । पछि उनी राल्फामा नलागे पनि उनीहरूसँग नजिक थिए ।
पछि राल्फामा फुट आयो । रायन नेकपा (चौथो महाधिवेशन) तिर लागेर ‘वेदना सांस्कृतिक परिवार’ बनाए । जेबी टुहुरे पूर्वकोशी प्रान्तीय कमिटी हुँदै नेकपा (माले)मा लागे । राल्फाकै रामेश र मंजुल पनि मालेतिर लागे । उनीहरूले जेबी टुहुरे, शम्भु राई, रामकृष्ण दुवाललगायतसँग मिलेर ‘सङ्कल्प’ गीतियात्रा गरे । यही क्रममा ‘आमा, दिदी, बहिनी हो’ गीत जन्मिएको थियो ।
पञ्चहरूको जगजगी चलेका बेला यस्ता गीत उतिबेलाको रेडियो नेपालमा रेकर्ड हुँदैनथे, बजाइँदैनथे । निरङ्कुश र जहानियाँ शासनकाविरुद्ध क्रान्ति र परिवर्तनको पक्षमा होमिन प्रेरित गर्ने यस्ता गीत गाउँ, टोल र जनताका झुपडीमा लुकी लुकी गाउनु पथ्र्यो । प्रहरीले भेटे ठाउँका ठाउँ सिध्याइदिने जमाना थियो उसबेला ।
सङ्कल्प गीतियात्राले त्यति बेला अँध्यारोमा मसालको काम गरेको थियो । यो गीतियात्राले धेरै कम्युनिस्ट पनि जन्मायो । त्यति बेला जेबीले पनि रामेशसँग गीत गाउँदै पूर्वका धेरै गाउँ चहारेका थिए । २०३४ सालमा धरानमा भएको गीतियात्राकै कार्यक्रममा जेबी टुहुरेले पहिलो पटक ‘आमा, दिदी, बहिनी हो’ गाएका थिए । टुहुरेले यो गीत ‘चरी भररर’ पुस्तकमा भेटेका थिए । त्यसलाई गुल्मीका एकदेव ज्ञवालीले लेखेका थिए तर यो गीतले महिलालाई होच्याएको भनेर रामेशले असन्तुष्टि जनाएका थिए । त्यसमा नारीलाई लुगा लाउन पाएपछि मक्ख पर्ने, घरमा नै बस्ने, चन्द्रमाको पूजा र प्राथना गर्ने, आफ्नो घरको चुलोचौको मात्र गर्ने रूपमा चित्रित गरिएको थियो । यो गीतका पछाडिका लाइन बम देवानले थपे । त्यही गीतले जेबी टुहुरेलाई लोकप्रिय बनायो ।
सांस्कृतिक यात्रा र लज सञ्चालक
जेबी टुहरेको पहिलो एकल सांस्कृतिक कार्यक्रम २०२७ सालमा भएको थियो । अनेरास्ववियुको आयोजनामा त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा उनको ‘वान मेन सो’ नामक कार्यक्रम भएको थियो । टुहुरे कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको दिनदेखि निरन्तर सक्रिय थिए । उनी मधुमल्ला बस्दा पनि तत्कालीन नेकपा (माले) का नेताहरूको सम्पर्कमा हुन्थे । पार्टीले उनको घरलाई सेल्टरसमेत बनाएको थियो ।
पछि उनले विराटनगरको ट्राफिक चोकमा ‘शान्ति शितलु’ नामको लज पनि चलाए । २०३९ सालमा स्थायी रूपमा नै विराटनगर बसाइँ सरे । २०३६ सालदेखि ०४६ सालसम्म उक्त लजका खाली कोठामा दिउँसो पार्टीको बैठक बस्थे । २०४५ सालदेखि उनले विराटनगरकै बसपार्कमा केही समय ‘मौसमी’ लज पनि सञ्चालन गरेका थिए ।
तीन कक्षा पढेका टुहुरे शिक्षक बने
उनले कक्षा ३ सम्म मात्र पढेका थिए । आफूले औपचारिक शिक्षा हासिल गर्न नपाए पनि केही समय गाउँकै विद्यालयमा शिक्षण पेसा गरे । उनी २०४४ सालमा स्थापित जनसांस्कृतिक मञ्चको संस्थापक सदस्य भए । उनलाई २०४७ सालमा पार्टीमा ‘पूर्णकालीन’ काम गर्न तत्कालीन एमालेले काठमाडौँ बोलायो । त्यसपछि उनले आफ्नो लज व्यवसाय छाडे । उनी जनसांस्कृतिक मञ्चको दुई पटक अध्यक्ष भए । एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य र सांस्कृतिक विभाग सदस्य पनि भए । प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्यसमेत भए ।
माओवादी हुँदै संविधान सभा सदस्य
जेबी टुहुरेले २०६६ सालमा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी)मा प्रवेश गरे । दोस्रो संविधान सभामा माओवादी केन्द्रबाट सभासद बनेका उनी जनसांस्कृतिक महासङ्घका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार थिए । यतिबेला उनको नाममा जेबी टुहुरे फाउन्डेसनसमेत स्थापना भएको छ । फाउन्डेसनले जेबी टुहुरेको जीवनसँग सम्बन्धित स्मृति ग्रन्थ प्रकाशन गरेको छ ।
उनका करिब १५० गीत रेकर्ड भएका छन् । उनका ‘छोराहरू हो, छोरीहरू हो,’ ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ,’ ‘किसानको मुटु छामेर हेरे,’ ‘पसिना झार्दै तरर, चार दिनको बाटो’ लगायत गीत पनि चर्चित छन् । गीत सङ्गीतका माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन योगदान गरेका जेबी टुहुरेप्रति हार्दिक श्रद्धासुमन !