• ९ वैशाख २०८२, मङ्गलबार

शिक्षक आन्दोलनले ग्रेडवृद्धि परीक्षा स्थगित

blog

ग्रेडवृद्धि परीक्षा स्थगित भएको सूचना ।

केशब राज भट्ट

बैतडी, वैशाख ९ गते। बैतडीको मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले आधारभूत तहको ग्रेडवृद्धि परीक्षा स्थगित गरेका छन्।

शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धिका परीक्षा स्थगित गरेको पालिका प्रशासनले जनाएको छ। मेलौली नगरपालिकाले  सूचना जारी गर्दै वैशाख १५ र १६ गते सञ्चालन गर्ने भनिएको आधारभूत तह कक्षा ८ को पुर्नयोग र ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ।

शिक्षक महासंघको आन्दोलनका कारण अर्को सूचना प्रकाशित नगर्दासम्म परीक्षा स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद भट्टले बताउनुभयो। यस्तै शिक्षक महासंघको आन्दोलनकै कारण जिल्लाको दोगडाकेदार गाउँपालिकाले आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धिको परीक्षा स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीले बताउनुभयो। 

शैक्षिक सत्र २०८१ का लागि कक्षा ८ को ग्रेडवृद्धि परीक्षा वैशाख १२ गतेदेखि सञ्चालन गर्ने भनिएको थियो। शिक्षकको आन्दोलनका कारण अर्को सूचना जारी नहुदाँसम्मका लागि परीक्षा स्थगित गरिएको  अधिकृत जोशीले बताउनुभयो।

विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाई भएको भन्दै देशभरका शिक्षक सडक आन्दोलनमा रहेका छन। शिक्षक महासंघकै आन्दोलन कारण नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम समेत प्रभावित भएको बैतडीका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो।