• ९ वैशाख २०८२, मङ्गलबार

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

blog

तीन बालबालिकाको मृत्यु पश्चा भावविह्वल आफन्त । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, वैशाख ९ गते ।
धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले सुशिल साहका ८ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुषी साहको विष सेवनबाट मृत्यु भएको छ भने उहाँको ३० वर्षीया श्रीमती बबिता साहको अवस्था गम्भीर रहेको बताउनुभयो ।

विष सेवनपछि गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बबिताले सोमबार साँझ करिब ६ः४० बजे तीन सन्तानलाई विष खुवाएर र त्यसपछि आफैँले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानका आधारमा पारिवारिक तनाव वा मानसिक समस्याले बबिताले यस्तो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनास्थलबाट प्रमाणहरू सङ्कलन गरिरहेको बताउँदै प्रवक्ता सिंहले घटनासम्बन्धी थप अनुसन्धान भइरहेकोे बताउनुभयो । घटनापश्चान गाउँ शोकमा डुबेको छ ।