• ९ वैशाख २०८२, मङ्गलबार

बाँसको पुल तर्न २० रुपियाँ

blog

सिरहा र धनुषाको सीमाना रहेको कमला नदीको पुल भासिएपछि अस्थायी बाँस र काठबाट बनाएको पुल प्रयोग गर्दै । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, वैशाख ९ गते । सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ।

मधेशको जीवनरेखा मानिएको हुलाकी सडकमा पर्ने कमला नदीमा चार सय ७० मिटर लामो र ११ मिटर चौडाई भएको कमला पुल उद्घाटन नहुँदै भासिएपछि वर्षातको समयमा कमला नदी ओहोरदोहोर गर्न निकै सास्ती खेप्दै आइरहेको सिरहा धनुषाका स्थानीयहरु बताउँछन् । 

६ महिना अस्थायी बाँसको पुलमा २० रुपियाँको दरले तिरेर नदी तर्ने काम गर्छन् भने वर्षाको सयमा भासिएकै पुलमा बाँसको सिढी प्रयोग गर्दा साइकलवालाहरुले पचास तिरेर नदीको वारीपारी धनुषा र सिरहा आउजाउ गर्नुपर्ने बाध्यता छ । 

सिरहा नगरपालिकाले पन्ध्र लाख ७५ हजारमा ६ महिनाको लागि असारसम्म अस्थायी बाँस र काठको पुल निर्माण गरेर २० रुपियाँको टिकट लिएपछि दिनभरि ओहोर दोहोर गर्न सकिने ठेकेदार बसन्त मुखियाले बताउनुभयो । दिनको एक हजारसम्म मोटरसाइकल ओहोरदोहोर हुन्छ । अस्थायी बाँस र काठको पुल नहुँदा स्थानीयहरुले आफ्नो लगानीमा बनाएको पुलबाट ओहोरदोहोर गर्दा सय रुपियाँ तिर्नुपर्थ्यो । सिरहा नगरपालिकाले व्यवस्थापन गरेपछि अहिले २० रुपियाँमा ओहोरदोहोर भइरहेको छ । 

एक महिनाअघि कमला नदीमा आएको बाढीले काठको पुल हल्लिन थालेको छ । अब कुनै दिन ठूलो बाढी आयो भने मोटरसाइकल पार हुने पुल बगाएर लैजाने अवस्थामा छ। पुल भासिएको चार वर्ष हुनै लाग्यो भासिएको पाया निर्माणको कार्य अघि नबढ्दा कहिलेसम्म रकम तिरेर कमला नदी पार गर्न जोखिमता खेप्दै जाने हो स्थानीय बद्री नारायण यादवले पीडा पोख्नुभयो । उहाँका अनुसार मधेशको जीवनरेखा रहेको हुलाकी सडक निर्माणले ल्याएको खुसी पुल भासिएपछि निरासामा बद्लिएको छ । 

प्रधानमन्त्री विभागीयमन्त्री मन्त्री, मधेश प्रदेश सरकारका मुख्यमन्त्रीले पुल मर्मत गर्ने  प्रतिवद्धता गरेपनि कहिँबाट यसको सुरसार नहुँदा सुखा मौषम र वर्षाको मौषममा स्थानीय मल्लाह समुदाय र सिरहा नगरपालिकाको सहयोगमा वैकल्पिक उपाय प्रयोग गरेर मोटरसाइकल वारीपारी गर्ने काम भइरहेको छ जुन भरपर्दो र सुरक्षित छैन । 

पुल निर्माणको सुरुवात यसरी..

चार सय ७० मिटर लामो ११ मिटर चौडाई साढे तीन वर्षभित्रै सम्पन्न गर्नेगरी २०६८ साल मङ्सिरमा २४ करोड ९१ लाखमा पप्पु विल्डर्स कन्सट्रक्शनले लिएको थियो । पटक पटक म्याद थप्दापनि पुल निर्माण कार्य अघि नबढ्दा २०७५ सालमा हुलाकी मार्ग निर्माणको लागि वरिष्ट लेखक रामरिझन यादवको नेतृत्वमा रिले अनसन गरेर दबाब सृजना गर्दा हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्सट्रक्शनबाट ठेका तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्ट्रकशनले सम्झौता गरेको थियो । 

२०७८ असार १३ गतेभित्र सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार काम तीव्र गतिमा अघि बढ्यो । काम सम्पन्न भएर उद्घाटन गर्न तयारी भइरहेको अवस्थामा २०७८ असार १७ गते आएको बाढीले पुलको पूर्वपटिको पाया भासिएको थियो । पश्चिमपटिको पायामा समेत असर परेको थियो । 

पुलको पुर्न निर्माणको लागि पत्रकार देव कुमार यादव र हुलाकी सडक निर्माण संघर्ष समितिका संयोजक रामरिझन यादवले स्थानीयहरुको सहयोगमा दवाव सृजना गरेपछि पुलको पुर्न निर्माणको लागि तत्कालिन प्रधानमन्त्री पुषकमल दाहाल प्रचण्ड, पूर्व उपप्रधान चथा भौतिक पूर्वाधार तथा यातायात मनत्री नारायणकाजी श्रेष्ठ र पुर्व उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले स्थलगत निरिक्षणपछि चाँडै पुलको पुर्ननिर्माण हुने अश्वासन दिएपनि काम सुरुवात नभएपछि स्थानीयहरु चिन्तित र आक्रोसित देखिएका छन् । 

पुल सञ्चालनमा नआउँदा सिरहाका स्थानीयहरु मधेश प्रदेशको राजधानी जनकपुर आधा घण्टाको बाटो दुई घण्टा लगाएर घुमेर जानुपर्ने बाध्यता भएको छ । माटोको परीक्षण बेगर नै पुल निर्माण गरिएकोले भासिन गएको तथ्य बाहिर आएको छ ।