• १२ मंसिर २०८१, बुधबार

कार्बनशून्य प्रतिबद्धतामा विकसित राष्ट्र उदासीन

blog

गएको जुलाई ४ मा पृथ्वीको अहिलेसम्मकै सबैभन्दा बढी औसत तापक्रम १७.१८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । अत्यधिक गर्मीका कारण मेक्सिकोमा सयभन्दा बढी नागरिकको हालसालै मृत्यु भयो । भारतको विहारमा एक महिनाअघि अत्यधिक गर्मीसँग सम्बन्धित रोगका कारण करिब ४४ जनाको मृत्यु भयो । क्यानडाको ब्रिटिस कोलम्बियामा करिब दुई महिनाअघि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन, जसले अमेरिकाको भर्जिनिया राज्य बराबरको वनलाई सखाप पारिसकेको छ । इरानले अत्यधिक गर्मीका कारण केही दिन सार्वजनिक बिदा दिनु प¥यो । दशककै धेरै अतिवृष्टिका कारण वेइजिङमा ११ जनाको मृत्यु भएर एक लाखभन्दा बढी नागरिक विस्थापित भए । 

जलवायु परिवर्तनका कारण पछिल्ला दिनमा भएका यी केही प्रतिनिधिमूलक घटना हुन् । जीवाश्म इन्धन (फोसिल फ्युल) को बढ्दो प्रयोग, औद्योगीकरण, वन विनाश आदि जलवायु परिवर्तनका कारण हुन् । त्यसमध्ये विशेष गरी जीवाश्म इन्धनको प्रयोगबाट हरित गृह ग्यास उत्सर्जन मुख्य कारण हो । विश्वमा उत्सर्जन हुने कार्बनडाइअक्साइडको ७५ प्रतिशत विभिन्न ऊर्जाका पावर हाउसमा प्रयोग हुने जीवाश्म इन्धनबाट मात्रै आउने गरेको अध्ययनहरूले देखाएको छ । अनि जीवाश्म इन्धनले उत्पादन गर्ने कार्बनडाइअक्साइडमध्ये करिब ४० प्रतिशतमा कोइलाको एक्लै योगदान छ । कार्बनडाइअक्साइड हरितगृह ग्यासको सबैभन्दा बढी योगदान गर्ने ग्यास हो, जसले जलवायु परिवर्तनमा महìवपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैले कोइलाबाट चल्ने पावर प्लान्टहरू जलवायु परिवर्तनका महìवपूर्ण कारक हुन् ।

विश्वमा उत्पादित बिजुलीमध्ये करिब एकतिहाइ विद्युत् कोइलाबाट चल्ने पावरहाउसबाट उत्पादन हुने गर्छ । सन् २०२२ को तथ्याङ्क अनुसार सबैभन्दा बढी कोइला प्लान्टहरू भएका देशहरू पहिलोमा चीन, दोस्रोमा भारत, तेस्रोमा अमेरिका र चौथोमा जापान रहेका छन् । यी चार देशले विश्वमा कोइलाबाट उत्पादन हुने बिजुलीको ७५ प्रतिशतभन्दा बढी उत्पादन गर्छन् । सबैभन्दा बढी जडित क्षमता भएको चीनको एक हजार गिगावाट क्षमता रहेको छ; जुन अमेरिकाको (तेस्रो स्थानमा रहेको) अहिले सञ्चालनमा रहेकोभन्दा चार गुणा बढी क्षमता हो । दोस्रो नम्बरमा रहेको भारतले विश्वमा प्रयोग हुने कोइलाको १० प्रतिशतभन्दा बढी खपत गर्छ । 

सन् २०२१ को तथ्याङ्क अनुसार कोइला, पेट्रोल र डिजेलबाट वातावरणमा उत्सर्जन हुने प्रदूषणका कारण क्यान्सर, फोक्सो र मुटुसम्बन्धी रोगबाट बर्सेनि ८० लाख नागरिकको मृत्यु हुने गरेको छ । सोही अनुसन्धान अनुसार पाँचमध्ये एक जनाको ज्यान जानुमा जीवाश्म इन्धनले निम्त्याउने वायु प्रदूषण कुनै न कुनै रूपमा जिम्मेवार रहेको छ ।

यति धेरै बेफाइदा भएकै कारण धेरै अघिदेखि कार्बनशून्य बनाउने उद्देश्यले विभिन्न देशले केही प्रयास गर्दै आइरहेका छन् । जलवायु परिवर्तनका घातक परिणामलाई आउन नदिन विश्वको तापमान १.५ डिग्रीभन्दा बढ्न दिनु हुँदैन । अहिले पृथ्वीको तापव्रmम सन् १८०० भन्दा करिब १.१ डिग्रीले बढिसकेको छ । सन् २०१५ को पेरिस सम्झौता अनुसार विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्न २०३० सम्म कार्बन उत्सर्जन ४५ प्रतिशतले घटाउने र २०५० सम्म शून्यकार्बन उत्सर्जनको उद्देश्यमा सबैजसो देश सहमत भएका थिए । त्यस्तै अर्को एक अनुमान अनुसार कोइलाबाट उत्पादित बिजुली प्रतिवर्ष १४ प्रतिशतले घट्दै गएमा सन् २०५० सम्म नेट कार्बन जिरोमा झार्न सकिन्छ । त्यसका लागि कोइलाबाट चल्ने प्लान्टहरूलाई नवीकरणीय ऊर्जाले विस्थापित गर्ने भनेर सबैजसो देशले प्रतिबद्धता जनाएका थिए तर विशेष गरी कोइलालाई निरुत्साहित गर्ने रणनीतिमा विश्वका ठुला शक्तिशाली मुलुकहरू नै उदासीन भएको पाइन्छ । यसको पुष्टि मुख्य रूपमा चीन र जापानको क्रियाकलापले गरिरहेको छ । 

चीनको द्वैध चरित्र 

चीनले ऊर्जा मिश्रण र ऊर्जा सुरक्षालाई महत्वपूर्ण मान्दै आफ्ना नीति एवं काम अगाडि बढाइरहेको छ । जसमा कोइला, जलविद्युत्, सौर्य, वायु र न्युक्लियर ऊर्जाहरू रहेका छन् । एकातिर सौर्य, वायु जस्ता नवीकरणीय ऊर्जाको क्षेत्रमा विश्वलाई नेतृत्व गरिराखेको चीनले अर्कोतिर कोइलाबाट चल्ने ऊर्जाका स्रोतहरूलाई विस्थापित गर्ने कुनै ठोस काम गरिराखेको देखिँदैन । 

नवीकरणीय क्षेत्रमा चीनको योगदान व्यापक छ । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एसोसिएसनका अनुसार अमेरिकाको भन्दा सौर्य ऊर्जामा साढे तीन गुणा बढी चीनको जडित क्षमता छ भने वायु ऊर्जामा २.६ गुणा बढी क्षमता छ ।

सौर्य ऊर्जादेखि ब्याट्री स्टोरेज हुँदै विद्युतीय गाडीसम्म चीनले संसारको धेरैजसो सफा ऊर्जामा मुख्य योगदान गरिराखेको छ तर ऊर्जा सुरक्षा, ऊर्जा मिश्रण तथा आन्तरिक राजनीतिका कारण चीनले कोइला प्रयोग हुने ऊर्जाका प्लान्टलाई घटाउन हिच्किचाइरहेको छ बरु बढाउँदै लगेको विभिन्न तथ्यले देखाउँछ । 

हुन त चीनले पनि पेरिस सम्झौतालाई समर्थन नै गरेको छ । साथै सन् २०२१ सेप्टेम्बरमा चीनका राष्ट्रपति सी चिनफिङले कोइलाबाट उत्पादन हुने कुनै पनि नयाँ ऊर्जाका परियोजना स्वीकृत नगर्ने अडान लिएका थिए तर एक साता नबित्दै तातो मौसमले चीनको प्रसारण लाइनमा समस्या भएर ब्लाकआउट भयो । एक्कासि गएको विद्युत्ले गर्दा विभिन्न केमिकल कारखानामा विस्फोट भएर दर्जनौँ कामदार घाइते भए । 

यस घटनाले चीनमा ऊर्जा क्षेत्रमा कोइला ऊर्जाको आपत्कालीन माग सिर्जना ग¥यो । रुस–युक्रेनको द्वन्द्व र त्यसपछिको रुसले युरोपमाथि लगाएको ऊर्जा प्रतिबन्धले चीनलाई कोइलामा झन् बढी आश्रित हुने वातावरण बन्यो । सन् २०११ मा जापानको फुकुसिमामा भएको आणविक प्लान्टको दुर्घटनापछि चीनले जापाननजिकको तटमा आणविक प्लान्टलाई पनि सकेसम्म प्राथमिकतामा राखेको छैन ।  

चीनको जलवायु परिवर्तनसम्बन्धी ठुलो समस्या भनेको कोइलाको अत्यधिक प्रयोग हो । अनि अरू देशमा भन्दा फरक तरिकाले चीनले कोइलाको उत्खनन भूमिगत रूपमा गर्छ । भूमिगत रूपमा कोइलाको उत्खनन् गर्दा मिथेन ग्यास वातावरणमा जान्छ । मिथेन कार्बनडाइअक्साइडभन्दा २० देखि ८० गुणाले वातावरणलाई तताउने क्षमता राख्छ । अध्ययन अनुसार चीनमा उत्सर्जन हुने मिथेन ग्यासमध्ये एक चौथाइ मात्रा कोइला खानीबाट निस्कन्छ । 

एउटा अनुसन्धान समूह ग्लोबल इनर्जी मोनिटरका अनुसार सन् २०२३ को सुरुवाती दिनसम्म चीनमा कोइलाबाट उत्पादन हुने करिब ३०० पावर प्लान्ट प्रस्ताव एवं निर्माणको चरणमा रहेका छन् । यो भनेको विश्वमा कोइलाबाट उत्पादन हुँदै गरेको क्षमताको करिब दुईतिहाइ हो ।

जापानको एमोनिया प्रविधिको मोह 

आउने केही वर्षमा कोइलालाई शून्य गर्ने कुरामा सहमत भएका विकसित मुलुकमध्ये जापान पनि एक हो तर जापान कोइलालाई विस्थापित गर्नेभन्दा पनि कोइलाबाटै कम हानि गर्ने प्रविधिलाई अवलम्बन गर्दै अगाडि बढ्ने सुरमा छ । जसले गर्दा जलवायु परिवर्तनको सन्दर्भमा उसको प्रतिबद्धतामा शङ्का गर्ने ठाउँ देखिन्छ । जापानको विद्युत्को करिब एकतिहाइ कोइलाबाट चल्ने पावर प्लान्टबाट उत्पादन भइराखेको छ । जापानको सबैभन्दा ठुलो कोइलाबाट चल्ने प्लान्ट हेकिनान भन्ने सहरमा छ, जहाँ अहिले पनि चार लाख टन कोइला भण्डारण छ । जुन ४० वटा विश्वकप खेलिने फुटबल ग्राउन्ड अट्ने जति ठाउँ हो । यसले पनि जापानको कोइलामोह सजिलै छुटाउन गाह्रो हुने देखाउँछ । 

जापान अहिले आएर कोइलाबाट चल्ने आयोजनालाई बन्द गर्ने वा नवीकरणीय ऊर्जाले विस्थापित गर्ने कुनै विकल्पमा गएको देखिँदैन । बरु एउटा नयाँ प्रविधि प्रयोग गर्दै भइराखेका कोइला प्रयोग हुने योजनालाई निरन्तरता दिने नीतिमा अगाडि बढेको देखिन्छ । सो प्रविधि अनुसार एमोनिया प्रयोग गरेर कोइलाबाट निस्कने कार्बनडाइअक्साइडको जोखिम कम गर्न सकिन्छ । जुन विश्व तापक्रम वृद्धिको मुख्य कारकमध्येको एक हो तर एमोनिया प्रयोग गर्दैमा जापानको कोइलामा निर्भरता कम नहुने हुँदा यसले जलवायु परिवर्तनलाई रोक्न खासै मद्दत नमिल्ने देखिन्छ । किनभने कतिपय विज्ञहरूका अनुसार एमोनिया कोइलासँगै बाल्दा कार्बनडाइअक्साइड उत्सर्जनमा कमी भए पनि त्यसबाट नाइट्रोजन अक्साइड निस्कन्छ, जुन अर्को वायु प्रदूषणको एक कारक हो । 

अर्काे महत्वपूर्ण कुरा के हो भने सन् २०११ मा फुकोसिमाको दहिची न्युक्लियर प्लान्टमा भएको दुर्घटनापछि जापानले सबैजसो न्युक्लियर प्लान्ट बन्द ग¥यो । जसबाट आफ्नो कुल विद्युत्को करिब ३० प्रतिशत एकाएक घट्यो । यसको पूर्ति गर्न जापानका पावर कम्पनी कोइलाबाट चल्ने नयाँ प्लान्ट बनाउने दौडमा लागे । हालसालैको विश्वका शक्तिशाली सात राष्ट्रका वातावरण मन्त्रीस्तरीय बैठकमा जापानले सन् २०३० सम्म कोइलाको प्रयोग शून्यमा झार्ने कुरामा असहमति जनायो । यसो गर्नुमा जापानको दुई वटा स्पष्टीकरण थियो । पहिलो, एमोनिया कोइलासँग मिसाएर विद्युत् उत्पादन गर्दा कार्बन उत्सर्जन एकदम कम हुन्छ र दोस्रो, वातावरण संरक्षण वा जलवायु परिवर्तनलाई रोक्न जापानले आफ्नै तरिकाहरू अवलम्बन गर्छ । 

त्यस्तै जापानका पावर कम्पनीहरूमा ठुलो लगानी भइसकेकाले कोइलालाई विस्थापित गर्ने कुरामा सकारात्मक देखिँदैनन् । सन् २०११ देखियताको करिब एक दशकमा जापानमा थप ४० वटा कोइलाबाट चल्ने प्लान्ट बनेका छन् । यो भनेको जापानको कुल प्लान्टमध्ये करिक एक चौथाइ हो । यसमा धेरै लगानी परेको हुनाले कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले यी सबै प्लान्टलाई बन्द गर्ने कुरा त्यति व्यावहारिक नभएको उनीहरू बनाउँछन् । बरु भएका थुप्रै प्लान्टलाई एमोनिया प्रविधिबाट सञ्चालन गर्न उपयुक्त हुने उनीहरूको जोड छ । 

एमोनिया प्रविधिले भने जस्तै काम गरे पनि त्यसमा केही अन्य व्यवधान आउन सक्ने देखिन्छ । अर्को वर्ष मार्चसम्ममा कोइलाको २० प्रतिशत एमोनिया प्रयोग गरेर पावर उत्पादन गर्ने जापानको उद्देश्य रहेको छ । यदि त्यसो गर्ने हो भने यसका लागि दुई करोड टन एमोनिया आवश्यक पर्ने छ, जुन विश्वमा फर्टिलाइजर बनाउन प्रयोग हुने मात्रा बराबर हो । यस हिसाबबाट भन्दा एमोनिया प्रविधि असम्भवप्रायः जस्तो देखिन्छ । 

साथै त्यतिका मात्रामा एमोनिया उत्पादन गर्न ठुलो मात्रामा विद्युत् आवश्यक पर्छ, जुन प्रायः कोइला वा ग्यास प्लान्टबाटै उत्पादन हुन्छ । कतिले नवीकरणीय ऊर्जाको प्रयोग गर्दै एमोनिया उत्पादन गर्न सकिने बताए पनि त्यो धेरै खर्चिलो हुने देखिन्छ । अन्त्यमा यसरी कार्बनशून्य प्रतिबद्धतामा विश्वका ठुला राष्ट्रहरू नै आफ्नो निर्धारित लक्ष्यमा अडिग हुन नसकेको र अनेकौँ बाटो समाएर कोइलालाई निरन्तरता दिने गरेको कुरा चीन र जापानका यी माथिका उदाहरणले प्रस्ट पार्न थालेको छ । 

 

 

Author

विनोद भण्डारी