• १४ मंसिर २०८१, शुक्रबार

किर्ते नागरिकताका दोषी र बलात्कार आरोपी पक्राउ

blog

नारायण तुम्बापो 

फिदिम, भदौ ६ गते । जिल्ला प्रहरी कार्यालय पाँचथरले किर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ । किर्ते नागरिकताका दोषी फिदिम नगरपालिका–१४, का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका ५० वर्षीय गंगा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

दुबै जनालाई फिदिम बजारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीलनजङ्ग थापाले बताउनुभयो । सर्वोच्च अदालतको मिति २०७९ भदौ १६ गतेको फैसलाले मेखबहादुरलाई किर्ते नागरिकतामा दोषी ठहर गरेको प्रहरी कार्यालयले जनाएको छ । उहाँलाई मंगलबार नै जिल्ला अदालत पाँचथरमा पेस गरी अदालतको पत्रादेशले जिल्ला कारागार पाँचथरमा बुझाइएको जनाइएको छ । अदालतको फैसलामा मेखबहादुरले एक वर्ष कैद र २० हजार रुपियाँ जरिवाना सजाय भुक्तान गर्नुपर्ने तोकिएको छ ।  बलात्कार आरोपी गंगा राईलाई अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानका लागि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । फरक क्षमता भएकी बालिकालाई गंगाले गत साउन २९  गते साँझ जबरजस्ती करणी गर्नु भएको आरोप छ ।