काठमाडौं, भदौ ५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको सङ्ख्या बढी हुनुपर्ने बताउनुभएको छ । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिष्ट, सहायक फर्मासिष्ट व्यवसायीहरूका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्याससम्बन्धी क्षमता अभिवृद्धि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिष्टको भन्दा फार्मेसीको सङ्ख्या बढी भएको दाबी गर्नुभयो ।
स्वास्थ्य मन्त्रीले फर्मासिष्ट बिना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘‘यसरी फर्मासिष्ट विनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारबाही गर्नेछौँ ।’’
केही दिन पहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरूको अनुगमनका क्रममा धेरै जसो फार्मेसी फर्मासिष्ट बिनै चलिरहेको पाइएको, अर्कै फर्मासिष्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी अध्ययन गरिरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको पाइएको अनुभव सुनाउनुहुँदै मन्त्री बस्नेतले औषधि जस्तो संवेदनशील चिजको बिक्री वितरणमा बदमासी गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न पछि नपर्ने मन्त्री बस्नेतको भनाइ छ ।
औषधिको उत्पादन र भण्डार गुणस्तरीय भएन भने जनताले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न नसक्ने भएकाले फर्मासिष्टहरुले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नुपर्ने आवश्यकतामा मन्त्री बस्नेतले जोड दिनुभयो ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रत्येक नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्न पाउने अधिकारको रक्षाका लागि औषधि व्यवस्था विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताउनुभयो । विभागसँग भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विभागले प्रभावकारी ढङ्गले देशभरिका सबै फार्मेसीको अनुगमनको काम गर्न नसकिएको गुनासो गर्नुभयो ।
महानिर्देशक ढकालले गत वर्ष मात्र तीन हजारभन्दा बढी फार्मेसीको निरीक्षण गरेको, दुई हजार नयाँ फार्मेसी दर्ता गरेको र २५ प्रकारका औषधिमा समस्या देखिएकाले बजारबाट फिर्ता गराई बिक्री वितरणमा रोक लगाइएको जानकारी दिनुभयो ।
औषधि व्यवस्था विभागका गुणस्तर मापन तथा कानुन कार्यान्वयन महाशाखाका प्रमुख पानबहादुर क्षेत्रीले खुद्रा र थोक गरी ३२ हजार औषधि पसल रहेको जानकारी दिनुहुँदै दैनिक सातदेखि १० वटा औषधि पसल दर्ता हुने गरेको बताउनुभयो । प्रमुख क्षेत्रीले हालै साउनमा मात्र १९० औषधि पसलको अनुगमन गरेको जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने क्षमता अभिवृद्धि तालिममा सयभन्दा बढी फर्मासिष्ट, सहायक फर्मासिष्टहरु सहभागी छन् ।