• १२ मंसिर २०८१, बुधबार

बादी बस्तीका कुष्ठरोगीलाई उपचारमा समस्या

blog

कैलालीको बल्चौरस्थित बादी बस्तीमा कुष्ठरोगले समस्यामा परेका सुशीला र मदन बादी । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), भदौ ५ गते । एकैनासका घरहरूले बनेको घना बस्ती । सोही बस्तीको सडक किनारमा चिटिक्क परेको सानो टिनले छाएको दुई कोठाको घर छ । घरभित्र केही थान पकाउने भाँडाकुँडा यत्रतत्र छरिएका छन् । पुराना लत्ताकपडा, पुरानो खाट छ । छेउमा सानो बालक टोलाइरहेको अवस्थामा त्यही खाटमा पल्टिरहेका एक जोडी बिरामी छन् । 

लम्कीचुहा नगरपालिका –३ बल्चौर बादी बस्तीमा करिब तीनसय घर बादी समुदायका छन् । उक्त बस्तीमा अधिकांश घरका युवायुवती रोजगारका लागि भारत गएका छन् । 

बस्तीमा अहिले केटाकेटी र बुढाबुढीमात्र भेटिन्छन् । केही वर्ष अघिसम्म भारतमा गएर ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने सोही बस्तीका सुशीला बादी र मदन बादीलाई एकाएक उमेरमै कुष्ठरोगले च्यापेपछि युवा अवस्थामै घरमा भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेको छ । 

एउटै बस्तीका सुशीला र मदनले प्रेम विवाह गरेका थिए । सुरुमा मदनलाई कुष्ठरोग लागेको रहेछ । तर रोग पहिचान र औषधि सेवन ढिला गर्नाले सुशीलाले आफूलाई पनि सरेको बताउनुभयो । नियमित औषधि सेवनले निको हुने भनिए पनि आर्थिक अभावमा औषधि सेवनमै समस्या परेको छ । 

रोगको चिन्ता एकातिर छ, खान नपाई भोकभोकै मर्छौंकि भन्ने अर्को चिन्ता छ ।

रोगले नगलाउँदासम्म कहिले होटलमा त कहिले ज्याला मजदुरी गर्दैआएको यो जोडी रोगले गलाउँदै लैजान थालेपछि गत एक वर्षदेखि काम गर्न नसक्ने अवस्थामा पुगेको छ । 

चार वर्षदेखि कुष्ठरोग पीडित सुशीला बादीले भन्नुभयो, “ओतलाग्ने व्यवस्था त सरकारले बनाइदियो, रोगले च्यापेर अशक्त हुँदा दुःख बुझ्ने कोही भएन ।” सुशीलाले रुँदै भन्नुभयो, “रोगको चिन्ता एकातिर छ, खान नपाई भोकभोकै मर्छौंकि भन्ने अर्को चिन्ता छ ।” 

एक छोरा एक छोरी सन्तान रहेको बताउँदै सुशीलाले छोरीलाई पढाउन संस्थाले लगेको बताउनुभयो । “काखे छोरो पनि रोगी छ, बेला–बेलामा बेहोस हुन्छ, गरिखाने उमेरमा दुवै बुढाबुढीलाई रोगले च्यापेर घरमै बस्नुपरेको छ” सुशीलाले दुखेसो पोख्नुभयो । 

चार वर्षदेखि कमाउन जान छाडेको यो परिवार नेपालमै ज्यालामजदुरी गरेर छाक टार्ने गरे पनि एक बर्षयता बस्तीकै सहयोगले जेनतेन चले पनि समस्या बढ्दैगएको छ ।  

कहिले रत्नागिरि, कहिले हिमाञ्चलतिर काम गर्न जान्थे, बिरामीले च्यापेर थला परेपछि मुखमा माड लाग्नै छुट्ने अवस्था आएको २७ वर्षीय मदनले मलिन अनुहार बनाउँदै भन्नुभयो । 

३० वर्षीय सुशीलाले भन्नुभयो, “नियमित औषधि खाइरहनु पर्छ, पहिले जसोतसो गरेर गयौँ, धेरै भयो जाने गाडी भाडा पनि नजुरेपछि जान सकेका छैनौँ, मलाईभन्दा पनि बुढालाई धेरै गाह्रो भएको छ ।”

रोग र अभावले यी दुई जोडी डिप्रेसनमा जान थालेको आफन्तहरू बताउँछन् । नियमित औषधि सेवन नगर्दा मदनलाई रोगले च्याप्दै गएको छ । घरमा हिजोआज भित्रबाहिर गर्न समेत अरूको सहारा लिनुपर्छ । 

नियमित औषधि सेवन नगर्दा मदनलाई रोगले च्याप्दै गएको छ । घरमा हिजोआज भित्रबाहिर गर्न समेत अरुको सहारा लिनुपर्छ । 

मदनकी आमा नेप्टी बादीले चार छोरामध्ये अरू सबै कमाउन भारत गएको बताउनुभयो । अलग भएर बसेका छोराहरूले कमाएर आफ्नै परिवार पाल्न मुस्किल परेको बताउने नेप्टीले बिरामी छोरा–बुहारीलाई साँझ–बिहान छाक टार्ने समस्या भएको बताउनुभयो । 

नेप्टीले रुँदै भन्नुभयो, “छरछिमेक, आफन्तले पनि सधैँ कहाँ हेर्छन्, उनीहरूलाई आफ्नै छाक टार्न मुस्किल छ । अहिले खानलाई चामलको गेडो छैन, औषधि गर्न पैसा छैन ।”