• ५ वैशाख २०८१, बुधबार

अलीको फाइट अफ द सेन्चुरी

blog

जब सन् १९७१ मार्च ८ मा जोय फ्रेजर र मोहम्मद अली आपसमा भिड्न रिङमा चढे त्यस भिडन्तलाई हेर्न विश्वको गति थामिएको थियो। न्युयोर्क सिटीको मेडिसन स्क्वायर गार्डेनमा भएको त्यस भिडन्तलाई विश्वले ‘फाइट अफ द सेन्चुरी’ उपमाबाट पनि चिन्दछ । त्यस भिडन्तमा साढे चार करोड अमेरिकी डलरको टिकट बिक्री गरिए र विश्वमा ३० करोडभन्दा बढी मानिसले टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरे । कतिसम्म भयो भने भिडन्तको नतिजा सार्वजनिक भइसक्दा समेत बेलायतको लगभग आधा जनसङ्ख्याले बिबिसीमा त्यसको पुनः प्रसारण हेरेको थियो ।

यो बक्सिङमा हेविवेट वर्गको भिडन्त थियो, जसमा मिल्ने सफलतालाई खेलकुदमा एक ठूलो उपहार मानिन्छ। यसले चौतर्फी नाम र मनग्गे दाम दिने गर्छ। फ्रेजर र अली दुवै यस भिडन्तअघिसम्म अजेय थिए तथा दुवै जना ओलम्पिक स्वर्ण पदक विजेता पनि तर ‘फाइट अफ द सेन्चुरी’ दुई महान् खेलाडीबीचको एक पूर्वनिश्चित भिडन्त मात्र थिएन, त्यसभन्दा कहीँ अधिक यसको बेग्लै महत्व थियो । राष्ट्रप्रति एक विभाजित मानसिकताको यो एक छदम लडाइँ बन्न पुग्यो।

सन् १९४२ मा अमेरिकाको केन्टकी राज्यको लुइसभेलमा जन्मिएका केसियस मार्सेलस क्ले पछि बक्सिङमा मोहम्मद अली नामले परिचित भए। उनले सन् १९६० को रोम ओलम्पिकमा स्वर्ण पदक जितेका थिए र सन् १९६४ फेब्रुअरीमा सोनी लिस्टनलाई पछारेर उनी विश्व हेविवेट च्याम्पियन भए । लिस्टनलाई हराएको भोलिपल्टै उनले आफ्नो परिवारलाई दासका स्वामीद्वारा प्रदान गरिएको केसियस क्ले नाम त्याग गरी ‘नेसन अफ इस्लाम’ कबुल गरेको घोषणा गरेका थिए । उनको यस घोषणाले संसारभरि हल्लीखल्ली मच्चियो।

अलीले भियतनाम जान मानेनन्

अलीको प्रादुर्भाव यस्तो पृष्ठभूमिमा भयो जुन समयमा एक राष्ट्र आफूलाई नागरिक अधिकार र भियतनाम युद्धका मुद्दाले स्वयं विभाजन गरिरहेको थियो। र विजेता अलीले चाँडै नै आफ्नो तालुक ती सबै मुद्दामा जोडिएको पाए जब उनले सैन्य सेवा अस्वीकार गरे । उनलाई अनिवार्य सैन्य तालिमका लागि भर्ना केन्द्र ‘ड्राफ्ट बोर्ड’ मा सम्पर्क गर्न आदेश दिइएको थियो तर उनले त्यो आदेश अवज्ञा गरेका थिए ।

जब यो समाचार बाहिर आयो सञ्चारकर्मीले अलीलाई घेरे। अलीले उल्टै उनीहरूलाई प्रश्न गरे, “म किन यस्तो देशका तर्फबाट मानिस मार्न हजारौँ किलोमिटर टाढा जाउँ, जुन देशले म र मेरा सहचर अफ्रिकी–अमेरिकीहरूलाई दोस्रो दर्जाको नागरिक ठान्दछ ।”

अलीले भने, “मैले सोचेँ यदि भियतनाम जाँदा यस देशका लाखौँ अश्वेत मानिसमध्ये कसैलाई सहयोग पुग्छ भने तपाईंहरूले मलाई पठाउनै पर्दैन, म आफैँ जान्छु तर त्यसो हुने छैन, यी मानिससँग युद्धमा जाँदा मेरा सहचारीलाई अलिकति पनि सहयोग पुग्दैन । बरु म जेल जान तयार छु । भियत कोङसँग मेरो कुनै लडाइँ छैन ।”

सन् १९६७ अप्रिल २८ मा अलीले एक विवेकशील आक्षेपकर्ताको अवस्था दाबी गर्दै सैन्य सेवामा सहभागी नहुने औपचारिक जानकारी गराए। त्यही दिन न्युयोर्क स्टेट एथलेटिक कमिसनले उनको बक्सिङ लाइसेन्स फिर्ता लिने निर्णय मात्र गरेन उनले जितेका उपाधिसमेत खोस्यो। अमेरिकामा रहेका अन्य बक्सिङ कमिसनले समेत आफ्नो अधिकार क्षेत्रमा अलीलाई बक्सिङ खेलमा प्रतिस्पर्धा गर्न नदिने भए, समग्रमा अली खेलबाट बाहिर निकालिएको अवस्थामा पुगे।

सन् १९७० को दशकको अन्त्यतिर जब युद्धविरोधी तथा उनले पुनः बक्सिङ खेल्न पाउनु पर्छ भनी व्यापक जनमत तयार भयो, जर्जियाका राज्यपाल लेस्टर मेडेक्सबाट जोडदार विरोध हुँदा पनि एट्लान्टा सहरमा गठित विशेष आयोगले अलीलाई पुनः बक्सिङ खेल खेल्न पाउने लाइसेन्स प्रदान गरेको थियो। फुकुवा भएपछि अलीको पहिलो भिडन्तलाई क्षुब्ध मेडेक्सले ‘शोकको दिन’ समेत भने।

अलीले स्वविवेकका आधारमा सैन्य सेवामा नजाने जुन निर्णय गरेका थिए त्यसमा सरकारको अस्वीकृतिलाई दुई वटा अदालतले सही ठह-याएका थिए र अब यो मुद्दा सुप्रिम कोर्टमा गयो, जहाँ सन् १९७१ जुनमा सुनुवाइ हुने भयो। निर्णय आफूविरुद्ध आउने अनुमानबीच अलीलाई थाहा थियो, आफूसँग अब धेरै समय छैन। यस कारण थप एक लडाइँपछि उनले आफू कारबाहीमा परेका बेला आफ्नो ताज पहिरिएका व्यक्तिमाथि आफ्नो नजर टिकाए। 

फ्रेजरलाई अलीले ‘अङ्कल टम’ बाट हटाए

सहभागितामूलक साझेदारीमा खेती गर्नेका छोरा जोय फ्रेजरले बक्सिङ सिक्न १५ वर्षको उमेरमै घर छाडेका थिए। उनी सन् १९६४ मा ओलम्पिक च्याम्पियन भए। उनले कुनै पनि खालको राजनीतिक बयान दिएनन्, न त उनले आफूलाई कुनै वर्गको पहिचान दिए। यति मात्र कहाँ हो र अली प्रतिबिन्धत रहेको अवस्थामा फ्रेजरले उनलाई आर्थिक रूपमा समेत सहयोग गरेका थिए। अलीलाई क्षमादान दिन फ्रेजरले राष्ट्रपति रिचर्ड निक्सनसमक्ष अपिलसमेत गरे तर आफ्नो सामथ्र्यले अलीसरहको नभएर पनि फ्रेजर अन्जानमा संस्थापनको प्रिय व्यक्ति बन्न पुगे।। जेरी इजेनवर्गले आफ्नो पुस्तक ‘वन्स दियर वेयर जाइन्ट्स : द गोल्डेन एज अफ हेविवेट बक्सिङ’ मा लेखेका छन्, “जातीय आधारमा अलीलाई मन नपराउने धेरै गोराले आफ्नो अश्वेत प्रतिनिधिका रूपमा फ्रेजरलाई स्वीकार गरेका थिए।”


अलीले घोचपेच र उपहास गर्दै हेविवेट च्याम्पियन हुन फ्रेजर निकै सुस्त र भद्दा भएको भनी आलोचना गरे। यतिसम्म कि फ्रेजरको बेइजती गर्दै अलीले उनलाई ‘अङ्कल टम’ को उपमा समेत दिए। बयानबाजीले तनाव निकै थियो। आत्मसम्मान र आफ्नो निर्णयका लागि लडिरहेको अलीको पक्षमा कैयौँ पटक कलम चलाएका इजेनवर्गको कारको ‘विन्डसिल्ड’ समेत तोडफोड गरियो। समाजमा हिप्पीहरू रूढीवादका विरोधी तथा युवा पुस्ता अग्रजहरूको मूल्य मान्यताविपरीत हिँडिरहेका थिए। यी सबैले अली र फ्रेजरलाई आफ्नो विचारधाराको नायकका रूपमा हेरिरहँदा एउटा के कुरा बिर्सिए भने, “यो कथा जतिको नाटकीय छ, यो अझै पनि दुई युवा हेविवेट बक्सिङ खेलाडीबीच पुरस्कारको भिडन्त मात्र हो।” जब भिडन्तको रात आयो, यो अपेक्षित घटनासरह नै थियो।

बक्सिङ इतिहासवेत्ता बर्ट सुगर सम्झन्छन्, “सबै जना जो पनि त्यहाँ थिए उनीहरू सय डलरको टिकटलाई बाहिर हजार डलरमा किन्दै थिए....। त्यहाँ सेतो इर्मिन कोट र मिल्दोजुल्दो ह्याट लगाएर मानिसहरू आउँदै थिए। मेडिसन स्क्वायर गार्डेनमा लिमोसिन्स गाडीको लाइन थियो।”

भिडन्तको व्यापक प्रचारप्रसार भएको थियो। भिडन्तको सुरुमा अलीले नियन्त्रण बनाए तर छैटौँ चरणसम्म आइपुग्दा उनी थकित देखिन थाले। लामो समय रिङमा नउत्रिएको तथा फ्रेजरका मुक्काले अली कमजोर देखिए तर रिङमा हुँदासमेत उनले फ्रेजरमाथि कटाक्ष गर्न छाडेनन्।

“मूर्ख, के तिमीलाई थाहा छैन ईश्वरले मलाई च्याम्पियन बन्न पठाएका हुन् ?” अलीले भिडन्तको १५ औँ तथा अन्तिम चरणमा भनेका थिए।

फ्रेजरले अलीलाई कडा प्रतिउत्तर फर्काए। त्यस चरणमा फ्रेजरले जोडदार बायाँ ‘हुक’ ले अलीको बङ्गारा हल्लाइदिए, अली क्यानभासमा पछारिए। जसोतसो अली उभिए तर नकडाउनले सुनिश्चित देखियो अलीले त्यो चरण र भिडन्त दुवै गुमाउने भए।

ती व्यक्तिले जो अलीप्रति समर्पित मात्र थिएनन् उनमा आफ्नो एक अंशसमेत देख्दथे, जसले उनलाई प्रतिरोधको प्रतीकका रूपमा हेरेका थिए, अलीको पराजय उनीहरूमाथि बज्रपात नै भयो।

जुन खालको महत्व र प्रतीकवादका रूपमा त्यसलाई हेरिएको थियो अन्त्यमा ‘फाइट अफ द सेन्चुरी’ इजेनवर्गको शब्दमा भन्नु पर्दा मात्र एक भिडन्त भयो। भियतनाम युद्ध थप चार वर्ष चल्यो, ५० वर्षपछि पनि अमेरिका जातीय अन्यायबाट मुक्त हुन सकेको छैन तथा खेल व्यक्तित्वहरूले सामाजिक र राजनीतिक परिवर्तनका लागि आफ्नो मञ्च प्रयोग गरिरहेकै छन्।

फोरम्यान र अलीको कलह

अलीले फ्रेजरद्वारा पराजित हुनु प-यो तर तीन महिनापछि उनले अमेरिकी सरकारविरुद्धको आफ्नो लडाइँ जिते। अलीलाई प्रतिबन्धित गरिनुमा न्यायोचित कारण नदेखिएको फैसला सुप्रिम कोर्टले सुनायो। अब अली बक्सिङ खेललाई निरन्तरता दिन सक्ने भए। सन् १९७४ मा जायरमा भएको प्रख्यात भिडन्त ‘रम्बल इन द जङ्गल’ मा जर्ज फोरम्यानलाई पछारेर अलीले हेविवेट बक्सिङको ताज पुनः हासिल गरे, जुन ताज फोरम्यानले फ्रेजरबाट खोसेका थिए।

वर्ष दिनपछि अली र फ्रेजर पुनः आमुन्ने सामुन्ने भए मनिलामा। भिडन्तमा १४ चरणसम्म दुवैले एकअर्कामाथि मुक्का बर्साए, अनि फ्रेजरका सहयोगीले रक्ताम्य उनलाई जोगाउन हस्तक्षेप गरे। फ्रेजरका आँखा पूरै सुन्निएका थिए। फ्रेजरले त्यसपछि पनि फेरि मार खाए। अलीले फ्रेजरलाई दोस्रो पटक ‘थ्रिला इन मनिला’ मा पछारे। त्यसअघि ‘फाइट अफ द सेन्चुरी’ पछिको भिडन्त ‘सुपर फाइट सेकेन्ड’ मा अलीले पछिल्लो मारको बदला लिइसकेका थिए।

तेस्रो भिडन्तपछि पनि दुवै जनाले रिङमा आआफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा जारी राखे तर पहिले जस्तो अवस्था दुवैमा अब रहेन। अली र फ्रेजर धेरै पक्षबाट एकअर्कासँग मिल्दाजुल्दा थिए, अन्ततः दुवैले एकअर्कालाई सकाए। आफ्नो मजाक उडाएको र बेइजती गरेको भनी फ्रेजरले कहिल्यै अलीलाई माफ गरेनन्। सन् १९९६ को एट्लान्टा ओलम्पिकमा अलीलाई ओलम्पिक ज्योति प्रज्वलन गर्न दिइएको विषयमा प्रतिक्रिया माग्दा फ्रेजरले सुस्केरा हाल्दै भने, “उनलाई तिनीहरूले त्यसैमा धकालिदिनु पर्ने थियो।”

अन्य मानिसको नजरमा अली र फ्रेजरबीचको लडाइँले व्यापक द्वन्द्वको प्रतिनिधित्व गर्न सक्थ्यो, अली र फ्रेजरका दृष्टिबाट यो नितान्त व्यक्तिगत थियो । उनीहरूबीचको भिडन्त हेविवेट उपाधिका लागि मात्र होइन वर्चस्वको लडाइँ थियो। 

– उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादित