राममणि दाहाल
हेटौँडा, भदौ ४ गते । राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गर्न माग गरेको छ ।
महासङ्घले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६ कार्यान्वयन तथा अनुगमन गर्न माग गरेको हो ।
ध्यानाकर्षण पत्रमा अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार कार्यान्वयनको लागि महासन्धिमा भएको बमोजिम कार्यान्वयन तथा अनुगमन समिति गठन गरी अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार प्रत्याभूति हुने वातावरण मिलाइदिन भनिएको छ ।
महासन्धिमा भएका व्यवस्था कार्यान्वयन अवस्थाका बारेमा अपाङ्ग महासङ्घ–नेपाल बागमती प्रदेश समितिले बागमती प्रदेशभित्रका मन्त्रालय, महाशाखा गरी कुल २१ वटा, अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घसंस्था १२ वटा र अपाङ्गता भएका व्यक्ति २६ जनासँग विभिन्न माध्यमबाट अनुगमन गर्दा मन्त्रालयका महाशाखा प्रमुखहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका बारेमा नै जानकारी नभएको पाइएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
अपाङ्ग महासङ्घ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले महासङ्घ अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार संरक्षण, संवर्द्धन र प्रवर्धनको लागि २०५० सालदेखि क्रियाशील छाता संस्था भएको र देशभर चार संस्थाहरू आबद्ध रहेको बताउँदै महासम्धीलाई संसद्ले अनुमोदन गरी पक्षराष्ट्र भएकोले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
उहाँले महासन्धिमा व्यवस्था भए बमोजिम अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार कार्यान्वयनको लागि कार्यान्वयन तथा अनुगमन समिति गठन गर्न माग गरिएको बताउनुभयो ।